काठमाडौँ, मङ्सिर १५- नेवाः स्वायत्त राज्य मंकाः सङ्घर्ष समितिले मङ्सिर १७ र १८ गते राष्ट्रिय राजनीतिक सम्मेलनको आयोजना गर्ने भएको छ।
समितिले बुधबार पत्रकार सम्मेलन गरी देशभर छरिएर रहेका नेवारहरू एकै स्थानमा भेला भएर एकै ठाउँमा बस्न सकिने आधार तयार पार्नका लागि राष्ट्रिय राजनीतिक सम्मेलन गर्न लागेको जानकारी दियो।
नेवाः राज्यभित्रका नेवारहरू मात्र नभइ अन्य भागहरूमा पनि उनीहरू बस्दै आएकाले सङ्घीय राज्यभित्र सम्पूर्ण नेवारहरूको हक अधिकार संरक्षण गर्न नयाँ संविधानमा राखिने आफ्ना सामूहिक एजेन्डाहरू भेलाले चयन गर्ने जनाइएको छ।
समितिका अध्यक्ष नरेन्द्रभक्त हाडाले नेवारहरू आफ्नो हक अधिकारका लागि एकजुट भएर संविधानमा आफ्ना एजेण्डाहरू तय गर्नको लागि सम्मेलनको आयोजना गर्न लागिएको बताउनुभयो।
सम्मेलनमा ५० जिल्लाका ५०० जना प्रतिनिधिको सहभागिता रहनेछ। सम्मेलन बालकुमारी, भक्तपुर (ठिमी)मा हुने अध्यक्ष हाडाले जानकारी दिए। रासस
0 commentaires