पाल्पा-, मंसिर २ - प्रशान्त तामाङ तानसेनमा आउने माइकिङ हुन थालेको केही समयपछिदेखि नै उनका प्रशंसकहरू बसपार्कमा लाम लाग्न थालेका थिए । दुई घन्टा बित्यो । भीड व्यवस्थापनमा लागेका स्थानीय कलाकार किरण चित्रकार प्रशंसकहरूलाई थामथुम पार्दै थिए ।
लामो प्रतीक्षा समाप्त भयो । 'गोर्खा पल्टन' का नायक गाडीबाट ओर्लन नभ्याउँदै मोबाइल र क्यामेराहरू उनीतिर सोझिए । भीडले उनलाई घेर्यो । प्रहरीको चहलपहल बढ्यो । अधिकांश छायांकन पाल्पामै गरिएको 'गोर्खा पल्टन' का नायकको यस्तो लोकपि्रयता देखेर त्यो फिल्मका निर्देशक नारायण रायमाझीको अनुहार उज्यालिएको उज्यालियै थियो । पाल्पाली ढाका टोपीमा सजिएका प्रशान्तसँगै रहेकी 'गोर्खा पल्टन' नायिका रञजिता गुरुङ पनि उत्तिकै मक्ख देखिइरहेकी थिइन् । उक्त फिल्म तानसेनमा पनि प्रदर्शन भइरहेको छ ।
युवायुवती र बालबालिका प्रशान्तसँग फोटो खिचाउने उपक्रममा व्यस्त देखिन्थे । कोही उनलाई त्यही फिल्ममा रहेको उनको नाम पुकारिरहेका थिए । विशाल बजार पुगुन्जेल भीड झन् बढिसकेको थियो । सन्तोष चलचित्र मन्दिरमा फिल्म हेर्न पुगेका दर्शकसमेत थपिए ।
कात्तिकको तेस्रो सातादेखि देशभर प्रदर्शनमा आएको 'गोर्खा पल्टन' को युनिट प्रचारप्रसारका क्रममा नारायणगढ, बुटवल हुँदै पोखरा जाने क्रममा पाल्पा आइपुगेको थियो ।
'मलाई पाल्पालीले भावुक बनाइदिनुभयो,' पत्रकार सम्मेलनमा रायमाझीले भने, 'साँच्चैको माया पाएका छौँ ।' प्रशान्तजीले नेपाल आउनासाथ पाल्पा जानैपर्छ भनेकैले आएको उनले बताए । नायिका रञ्जितालाई पाल्पालीमा 'कलाकारप्रति अगाध माया रहेछ' भन्ने लाग्यो ।
पत्रकार भेटघाट सकिएपछि पनि प्रशान्त र रञ्जिता घेरिई नै रहे । प्रशंसकको अटोग्राफ भर्दाभर्दै समय ढल्कियो । सन्तोष सिनेमा हलमा छिरेर विशाल बजार पुगेका प्रशान्तले 'गोर्खा पल्टन' का गीत सुनाएर फ्यानहरूलाई मनोरञ्जन दिएका थिए ।
धरानमा लाखे र पञ्चेबाजामाझ
यसअघि प्रशान्त धरानमा थिए । उनलाई पञ्चेबाजा र लाखे नाचले स्वागत गरिएको थियो । आफूलाई इन्डियन आइडल बनाउन धरानवासीले गरेको गुन सम्झेर उनी दोस्रोपटक यहाँ आएका हुन् । खास कारण थियो, 'गोर्खा पल्टन' को प्रचारप्रसार ।
'नेपाली मूलको भारतीय नागरिक भए पनि विश्वभर आफू नेपालीकै गौरवका रूपमा चिनिरहन चाहन्छु,' उनले खुसी हुँदै भने, 'सांगीतिक क्षेत्रबाट नेपालीको नाम राख्न कुनै कसर बाँकी राख्नेछैन ।'
प्रशान्त गणेश टाकिज परिसरमा फ्यानद्वारा घेरिएका थिए । त्यहाँ उनले 'गोर्खा पल्टन' फिल्मको शीर्षक गीत सुनाए । फ्यानहरूसँग करिब एक घन्टाजति फोटो सेसन गरे । त्यसपछि हलबाटै पञ्चेबाजा र लाखेसँगै भानु चोक, छाता चोक, सिंहदेवी चोक, चिनियाँ चोक, देशी लाइन हुँदै भानु चोकमै फर्केका थिए । फ्यानहरूलाई नियन्त्रण गर्न स्वयंसेवक र प्रहरी खटिएका थिए ।
प्रशान्तले आफूलाई इन्डियन आइडल बनाउनमा धरानबाट मुख्य सहयोगी भूमिका खेल्ने नेपाल तामाङ घेदुङ सुनसरीको कार्यालयमा पुगेर धन्यवाद दिनसमेत भ्याए । सोही दिन उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले खुलेर सवाल जवाफ गरे ।
आफू अभिनीत पहिलो फिल्मको कुन दृश्य उनलाई बढी राम्रो लाग्यो ? 'म रोएको सिन,' उनले भने, 'तर फिल्म हेर्दा भने आफैलाई कस्तो-कस्तो लाग्यो ।'
source:-ekantipur










0 commentaires