प्रधानमन्त्री माधवकुमार नेपाल र वनमन्त्री दीपक बोहोरासहित दर्जनभन्दा बढीको टोली सहभागी हुने उक्त सम्मेलनमा मुलुकले दस वर्षमा बाघको संख्या दोब्बर पार्ने कार्यक्रम प्रस्तुत गर्नेछ। प्रधानमन्त्री नेपालले मंगलबार सम्मेलनमा सम्बोधन गर्नेछन्।
बुधबार सकिने बाघ पाइने १३ देशको पहिलो सम्मेलनमा चोरीसिकार र अवैध व्यापारका कारण संकटमा परेको यो वन्यजन्तु जोगाउने मुद्दा प्रमुख बन्नेछ। 'टाइगर रेन्ज कन्ट्री' का राष्ट्रप्रमुखको यो भेला 'इन्टरनेसनल टाइगर कन्जरभेसन फोरम'मा १४ सय बाघ बसोबास गर्ने भारतबाट वन तथा वातावरण राज्यमन्त्री जयराम रमेश सहभागी हुँदैछन्। विश्व वन्यजन्तु कोषका अनुसार विश्वमा अहिले ३४ सय बाघ छन्।
नेपालले बाघ संरक्षणका लागि प्रमुख मानिएको बासस्थान जोगाउने योजनाअनुरूप बाँके राष्ट्रिय निकुञ्ज थपेको, बर्दिया राष्ट्रिय निकुञ्जमा मध्यवर्ती क्षेत्र थपेको र पर्सा वन्यजन्तु आरक्ष विस्तार गर्ने योजना सम्मेलनमा सुनाउनेछ। यसबाहेक वासस्थान जोगाउने 'रिकभरी प्लान' मा शुक्लाफाँटाको लालझाडी, कैलालीको वसन्ता र बर्दियाको खाता जैविकमार्ग संरक्षणको कार्यक्रम नेपालले सम्मेलनमा प्रस्तुत गर्नेछ।
वन मन्त्रालयका प्रवक्ता रामप्रसाद लम्सालका अनुसार भुपरिधि स्तरमा छिमेकी देशसँग मिलेर संरक्षणमा काम गर्ने नेपालले सम्मेलनमा प्रस्तुत गर्ने अर्को एजेन्डा हो। गत साउनको सरकारी तथ्यांकअनुसार नेपालमा १ सय ५५ बाघ छन्।
'विश्वमा बाघ संरक्षणको नयाँ पद्धति निर्धारण गर्नुका साथै प्राकृतिक बासस्थानमा यिनको संख्या पहिलेजस्तै पार्ने र यो प्राणी संरक्षणमा आम मानिसको धारणा परिवर्तन गर्ने' लक्ष्य सम्मेलनको छ। सम्मेलनले विश्वका बाघ संरक्षण गर्न 'ग्लोबल टाइगर प्लान' ल्याउने छ।
नेपाल, भारत, चीन, बंगलादेश, थाइल्याण्ड, म्यानमार, भुटान, रसिया, कम्बोडिया, भियतनाम, इन्डोनेसिया, लाओस र मलेसियामा बाघ पाइन्छ।
सम्मेलनमा बाघ पाइने यी १३ र संरक्षणमा काम गरिरहेका अमेरिका, जापान, जर्मनी, बेलायतलगायत मुलुक तथा दातृ निकाय सहभागी हुँदै छन्।
गत वर्ष कात्तिकमा काठमाडौंमा भएको विश्व बाघ कार्यशालाका सहभागीलाई रसियाली राष्ट्रप्रमुख भ्लादिमिर पुटिनले सेन्ट पिटर्सबर्गमा हुने यो सम्मेलनको निमन्त्रणा पठाएका थिए।
बाघका अंगको माग घटाउन सहकार्यसाथै चीन र अमेरिकाजस्ता देशले गरेको घरेलु बाघपालन पनि भेलामा छलफलका विषय हुनेछन्।
source:-nagriknews









0 commentaires