आगामी जनवरीदेखि चार महिनाभित्र एक लाख कामदार साउदी पठाउनुपर्नेछ।
'साउदीले राजकुमारको भ्रमणपछि नेपाललाई कामदार लिने पहिलो सूचीमा राखेको छ,' साउदी कामदार पठाउँदै आएको एस इम्प्लोयमेन्टका प्रबन्ध निर्देशक तुलसी कापरीले आइतबार नागरिकसँग भने, 'बंगलादेशी कामदारलाई रोकेर नेपालीलाई लिने निर्णय गरिएको हो।' उनका अनुसार राजकुमारको विशेष आग्रहमा नेपाली कामदारलाई प्राथमिकतामा राखिएको हो।
अहिले साउदीमा हस्पिटल लगायतका क्षेत्रमा मात्र बंगलादेशी कामदार लिइएको छ। भ्रमणको बेला साउदी राजकुमारलाई प्रधानमन्त्री, मन्त्रीहरुले नेपालीलाई प्राथमिकतामा दिन आग्रह गरेका थिए। साउदीमा अहिले पाँच लाख नेपाली कार्यरत छन्। अधिकांश नेपाली कामदार निर्माण क्षेत्रमा गएका छन्। साउदीमा गएका अधिकांश कामदार अदक्ष छन्।
उनका अनुसार पछिल्लो समयमा साउदी कम्पनीले सेवा शुल्क र प्रवर्द्धन खर्च मात्र राखेर कामदार पठाउन आग्रह गरेको छ। 'अहिले नै तलबबाट कटाएर कामदार पठाउन कम्पनीले भनिसकेका छन्,' कापरीले भने, 'यसले कामदारलाई समेत सस्तोमा जाने वातावरण तयार भएको छ।' यो व्यवस्थाले गरीब नेपाली ऋण नलिई साउदी काम गर्न जान सक्ने छन्। अहिले साउदी जाने कामदारले तलब सुविधालाई हेरेर करिव एक लाख तिर्नु परिरहेको छ। तलबमै कटाउने हो भने कामदार चालिस हजार खर्चमा नै साउदी जान पाउनेछन्।
'तलबबाटै विदेशमा गएको खर्च कटाउन सके गरीब जनताको पहुँच भित्र पर्न सक्छ,' उनले भने, 'यसले कामदारले चर्को ब्याजमा ऋण लिएर विदेश जानुपर्ने बाध्यता हट्नेछ।' साउदीले बढी कामदार लैजाने नीति अनुसार तलबबाटै लागत कटाउने नीति अख्तियार गर्न लागेको हो, कापरीले भने।
गतवर्ष मलेसियाले समेत पहिलो प्राथमिकतामा राख्दै तलबबाटै त्यहाँ गएको खर्च कटाउन सकिने व्यवस्था गरेको थियो। साउदी अरब नेपालीका लागि राम्रो गन्तब्य समेत हो। सबैभन्दा बढी नेपाली गएका साउदीमा न्यूनतम तलब ६ सय रियाल सहित खाना पाउँछन्। कापरीका अनुसार नेपाली कामदारलाई साउदी अरबका कम्पनीले बढी रुचाएका छन्। नेपाली कामदार काम प्रतिको लगनशिलता, इमान्दार र कतर्ब्यनिष्ठ भएकाले साउदीले रुचाएका हुन्।
साउदीको यो मागले व्यवसायीहरु पनि उत्साहित छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कुमुद खनालले साउदीले एक लाख कामदार लिने निर्णय नेपालीका लागि राम्रो अवसर भएको बताए। उनले कामदार लिने मुलुकमा नेपाललाई प्राथमिकतामा राखेकाले कुटनीतिक नियोगलाई सक्रिय बनाएर बढी कामदार पठाउन क्रियाशिल बनाउनुपर्ने धारणा राखे।
'मलेसिया पछि साउदी अरबले नेपालीलाई प्राथमिकतामा राख्नु सकारात्मक कदम हो,' उनले भने, 'बढी भन्दा बढी कामदार पठाउन हाम्रा सबै निकाय सक्रिय हुनुपर्छ।'
व्यवसायीहरु साउदीको मागअनुसार कामदार पठाउन सरकारले तत्काल २ काम गर्नुपर्ने बताउँछन्। राहदानीको समस्या तत्काल समाधान हुनुपर्छ। दोस्रो नेपालमा नै साउदीको दुतावास खोल्ने पहल सुरु गर्नुपर्छ। व्यवसायीहरुका अनुसार राजधानीबाट मात्र वितरण गर्ने व्यवस्थाले धेरै युवाले राहदानी लिन सकेका छैनन्। अहिले अन्य मुलुकहरुबाट पनि कामदारको माग प्रसस्त आएकाले राहदानीको समस्या देखिएको छ। 'मलेसिया, कतारजस्ता मुलुकबाट अहिले आएका मागअनुसार कामदार पठाउन समस्या हुँदै आएको छ, इसान ओभरसिसका प्रबन्ध निर्देशक टेकराज ज्ञवालीले भने 'यसको मुल कारण राहदानीको समस्या हो।' अहिले राहदानी भएका कामदार पाउन नै मुस्किल छ, उनले भने। महासचिब खनालले पनि राहदानीको समस्या समाधान गरेर समयभित्र कामदार पठाउन पहल गर्नुपर्ने बताए।
उनले साउदीको कुटनीतिक नियोग नेपालमा नभएकाले तत्काल दूतावास खोल्न कुटनीतिक पहल आवश्यक छ, खनालले भने। नियोग नहुँदा भिषाका लागि बढी समय लाग्ने र यसले समयमा कामदार पठाउन नसक्ने अवस्था आउन सक्छ।
'सरकारले राजकुमारको भ्रमणकै समयमा दूतावास खोल्न आग्रह गरेको थियो। राजकुमारले समेत सकारात्मक रुपमा लिएर तत्काल फोन गरी प्रक्रियाको बारेमा बुझेका थिए। राजकुमार सकारात्मक रहेका बेला अब दूतावास खोल्न कुटनीतिक निकाय सक्रिय हुनुपर्छ, खनालले भने।
अहिले साउदीको दुतावास नहुँदा भिसाका लागि बंगलादेश पुग्नुपर्छ। यसका लागि कम्तिमा एक साता थप समय लाग्छ। यस्तै बंगलादेश जाँदा लामो प्रक्रिया लाग्ने र महँगो पनि पर्छ। व्यवसायीहरुका अनुसार दुतावास नभएकाले साउदी अरब जान १० हजार थप महँगो पर्छ।
source:-nagriknews
0 commentaires