काठमाडौ, अषाढ २३ - हाल जर्मनीमा अनुसन्धानरत एकजना नेपालीले विदेश पढ्न जान चाहने नेपालका विद्यार्थीहरुका लागि उपयोगी हुने गरी तयार पारिएको एउटा ‘म्यानुअल’ प्रकाशित गरेका छन्। इन्टरनेट वा फेसबुकबाट सिंत्तैमा डाउनलोड गर्न सकिने उक्त ‘म्यानुअल’ को मुख्य उद्देश्य त्यस्ता विद्यार्थीहरुलाई मद्दत गर्नु रहेको छ जसले धेरै पैसा तिरेर शैक्षिक परामर्श दातृ संस्थाहरुको सेवा लिन सक्दैनन्। “यो ‘म्यानुअल’ तयार पार्ने विचार मलाई हालसालै मेरो नेपाल भ्रमण ताका आएको थियो। त्यहाँ मैले धेरै नेपाली विद्यार्थीहरुलाई भेटें जो विदेशमा उच्च अध्ययन गर्न चाहन्थे तर जसलाई त्यसबारे कुनै जानकारी थिएन,” जर्मनीको फ्राइबर्ग विश्वविद्यालयबाट एम एस्सी सिध्याएर हाल त्यहाँ पी एच डि गरिरहेका नेपाली विद्यार्थी दिपक कडुवालले बताए। “विदेशका विश्वविद्यालय र अध्ययन विधा खोज्नेबारे तयार पारिएको हातेपुस्तक/म्यानुअल” शीर्षक दिइएको उक्त म्यानुअलमा धेरै सोधिने प्रश्नहरुका उत्तर, विश्वविद्यालयमा आवेदन गर्ने प्रक्रिया तथा छात्रवृत्ति खोज्ने तरिका जस्ता अध्यायहरु छन्। “आवेदन दिने तरिका एकदमै सजिलो र पैसा नपर्ने खालको हुन्छ। म्यानुअलको उद्देश्य विद्यार्थीहरुलाई आफैंप्रति विश्वास जगाउने र उनीहरुलाई आफैं विदेशी विश्वविद्यालयहरुमा आवेदन गर्न सक्ने बनाउनु हो। यसले उनीहरुले दुख गरेर जम्मा गरेको पैसा परामर्शदाताहरुको खल्तीमा जानबाट रोक्न सक्छ,” दिपकले भने। “मैले यसबाट कुनै पैसा कमाउने उद्देश्य राखेको छैन। मैले यो पुस्तिका तयार पारी मलाई यत्तिका धेरै कुराहरु दिने देश र समाजप्रति केही भएपनि ऋण तिर्न चाहेको छु,” उनले भने। जर्मनीका लागि नेपालका अवैतनिक महावाणिज्यदूत रामप्रताप थापाले दिपक कडुवालको प्रयासले धेरै नेपाली विद्यार्थीहरुलाई सहयोग पुग्ने आशा गर्दै त्यसको सराहना गरेका छन्। “अहिलेको इन्टरनेट र फेसबुकको जमानामापनि कतिपय नेपाली विद्यार्थीहरुलाई आफुलाई आर्थिक एवं शैक्षिक रुपमा सुहाउने विश्वविद्यालय र विषय विधा खोज्न आउँदैन। मैले यो म्यानुअल प्रयोग गर्न निकै सरल पाएको छु। यो एकदम उपयोगी हुनेछ भन्ने आशा छ,” थापाले भने। केही समय अगाडि जर्मनीमा आयोजित एउटा कार्यक्रममा यस्तै खालको सुविधाको बारेमा चर्चा भएको उनले सम्झिए। तलको वेबसाइटमार्फत म्यानुअल डाउनलोड गर्न सकिन्छ
http://www.facebook.com/pages/A-handbookmanual-on-how-to-search-coursesuniversities-abroad/183795235005978 वा,
https://docs.google.com/viewer?a=v&pid=explorer&chrome=true&srcid=0Bzp-zJS97VWWMjhlNzExYTctM2M2ZC00Y2Y1LWExNDctMmVhMmU1YWRlMTdh&hl=en_US
अनि, यो पनि http://abroadstudymanual.blogspot.com/
ekantipur
http://www.facebook.com/pages/A-handbookmanual-on-how-to-search-coursesuniversities-abroad/183795235005978 वा,
https://docs.google.com/viewer?a=v&pid=explorer&chrome=true&srcid=0Bzp-zJS97VWWMjhlNzExYTctM2M2ZC00Y2Y1LWExNDctMmVhMmU1YWRlMTdh&hl=en_US
अनि, यो पनि http://abroadstudymanual.blogspot.com/
ekantipur


0 commentaires