लुम्बिनीको 'दाता संस्था' मा को-को ?

हङकङ, श्रावण १५ -    लुम्बिनीलाई 'मुस्लिमको मक्का' र 'क्रिस्चियनको भेटिकनसिटी'जस्तै बनाउने परिकल्पना बुनिएको तीन अर्ब अमेरिकी डलर सहयोग घोषणा गर्ने चिनियाँ संस्था 'एसिया प्यासिफिक एक्स्चेन्ज एन्ड कोअपरेसन फाउन्डेसन' का ९ सहअध्यक्षमध्ये माओवादी अध्यक्ष पुष्पकमल दाहाल र पूर्वयुवराज पारस शाहसहित आठ जना गैरचिनियाँ छन् ।   कार्यकारी उपाध्यक्ष एक जना मात्र चिनियाँ व्यक्ति हुन् । सहअध्यक्षहरू प्रायःजसो धनाढ्य छन् भने पाँच जना व्यवसायी हुन् । व्यवसायीमध्ये तीन जना अमेरिकी, एक बेलायती र एक मलेसियाली छन् । नेपाल र थाइल्यान्डका एक-एक राजनीतिज्ञ छन् । बाँकी दुईमध्ये कूटनीतिज्ञ र पूर्वयूवराज हुन् । को-को छन् त संस्थामा ?  १. पुष्पकमल दाहाल   फाउन्डेसनले आफ्नो वेबसाइटमा आफ्नो संस्थाका सहअध्यक्ष पुष्पकमल दाहाललाई नेपालमा क्रान्तिकारी परिवर्तन ल्याउने ठूलो पार्टी एकीकृत माओवादीका अध्यक्ष भनेर चिनाएको छ । दाहाललाई विदेश भ्रमण चीनबाट सुरु गर्ने पहिलो नेपाली प्रधानमन्त्रीका रूपमा समेत उल्लेख गरिएको छ । यसअघिका नेपाली प्रधानमन्त्रीले पहिले भारत भ्रमण गर्ने परम्परा दाहालबाट तोडिएको समेत उल्लेख छ ।   २. पारस शाह  फाउन्डेसनका अर्का सहअध्यक्ष पारस शाहलाई भने नेपालका युवराजकै रूपमा चिनाइएको छ ।   ज्ञानेन्द्र शाहलाई पूर्वराजा   भनिए पनि नेपालको संविधानअनुसार पारस राष्ट्रप्रमुख हुने लेखिएको छ ।  ३. जिआओ उनान  स्नातकोत्तरसम्म अध्ययन गरेका ४७ वषर्ीय जिआओ उनान हालसम्म पदमा देखिएका एकमात्र चिनियाँ हुन् । बेइजिङमा जन्मिएका उनान चीनको उत्तरपूर्वी हेलोजियान प्रान्तको राजधानी हारविनका बासिन्दा हुन् । चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य उनी चीनको राष्ट्रिय विकास तथा सुधार आयोगमा पश्चिम क्षेत्रीय उपनिर्देशक छन् । विश्व बौद्ध शान्ति प्रतिष्ठान र चीनको सामाजिक, आर्थिक तथा सांस्कृतिक आदानप्रदान समितिका समेत उनी उपाध्यक्ष हुन् । राष्ट्रसंघअन्तर्गत औद्योगिक विकास संगठन र विभिन्न चिनियाँ बैंकमा काम गरेको उनको अनुभव छ । अक्सफोर्ड आर्थिक अनुसन्धानमा वरिष्ठ सल्लाहकार, युनिभर्सिटी अफ हाइफा इजरायलका कार्यकारी निर्देशकलगायत उनी संलग्न संघसंस्थाको फेहरिस्त लामै छ ।  ४. लियोन चार्नी  ७३ वषर्ीय चार्नी अमेरिकी रियल स्टेटका टाइकुन हुन् । १ अर्ब ३० करोड डलरका मालिक उनलाई फोब्र्स म्यागजिनले अमेरिकी धनाढ्यको सूचीमा ३०८ औं नम्बरमा राखेको छ । पूर्वअमेरिकी राष्ट्रपति जिमी कार्टरका सल्लाहकार उनलाई पर्दा पछाडिका चतुर खेलाडी मानिन्छ । सन् १९७८ मा इजिप्ट र इजरायलबीच अमेरिकामा भएको पहिलो क्याम्प डेभिड शान्ति सम्झौता गराउन चार्नीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ । यसबाहेक टेलिभिजन कार्यक्रम प्रस्तोता, राजनीतिक विश्लेषक, लेखक, सामाजिक कार्यकर्ता र यहुदी नेताका रूपमा समेत उनी उत्तिकै चिनिन्छन् ।   ५.ज्याक रोजेन  ज्याक रोजेन अमेरिकी जुइस कंाग्रेसका अध्यक्ष हुन् । ५८ वषर्ीय उनलाई एक दैनिक पत्रिकाले अमेरिकाको उत्कृष्ट पाँच प्रभावशाली यहुदीमा सूचीकृत गरेको छ । दूरसञ्चार, स्वास्थ्य, सौन्दर्य प्रसाधनलगायत व्यवसायमा संलग्न उनी थुप्रैै बहुराष्ट्रिय कम्पनीमा अध्यक्ष छन् । संसारकै प्रमुख राजनीतिज्ञसँग उनको निकट सम्बन्ध रहेको फाउन्डेसनको वेबसाइटमा उल्लेख छ । रोजेनले थुप्रै पटक चीन भ्रमण गरेका छन् ।  ६. टियोन हिउ किङ  ७५ वर्षीय किङ मलेसियामा चिनियाँ मूलका धनाढ्य उद्यमीमा पर्छन् । एक अर्ब बीस करोड अमेरिकी डलरका मालिक उनलाई फोब्र्स म्यागजिनले मलेसियाका ४० धनाढ्यको सूचीमा १० औं नम्बरमा राखेको छ । काठ, तेल र सञ्चारक्षेत्रमा उनको लगानी छ । रिन्बुनान हाइजु ग्रुपका कार्यकारी अध्यक्ष उनको व्यवसाय हङकङ, चीन, सिंगापुर, अस्ट्रेलिया, क्यानडा, बेलायतलगायत मुलुकमा समेत फैलिएको छ । फाउन्डेसनले चिनियाँ राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत नेताहरूसँग उनको राम्रो सम्बन्ध रहेको जनाएको छ ।   ७. स्टिभन क्लार्क राकफेलर  ४१ औं पूर्वअमेरिकी उपराष्ट्रपति नेल्सन राकफेलरका नाति हुन् स्टिभन । स्नातकोत्तरसम्म अध्ययन गरेका उनी अमेरिकास्थित पार्क एभेन्यु बैंकका निर्देशक हुन् । माइक्रोक्रेडिट बैंकिङका ज्ञाता उनलाई गरिबी उन्मूलन गर्न विशेष योगदान गरेबापत राष्ट्रसंघद्वारा फुल ब्राइट अवार्डले पुरस्कृत गरिएको थियो । सामाजिक संस्था ग्रामीण फाउन्डेसनका समेत उनी निर्देशक छन् ।   ८. डा. राम्जी सन्बार  राम्जी सन्बार लन्डनस्थित सन्बार विकास निगम 'एसडीसी ग्रुप' का संस्थापक अध्यक्ष हुन् । ऊर्जा, निर्माण, सूचना प्रविधिलगायत क्षेत्रमा कार्यरत उक्त कम्पनी अमेरिका, युरोप तथा मध्य र सुदूरपूर्वमा समेत अग्रणी मानिन्छ । बेरुतको अमेरिकन विश्वविद्यालयबाट स्नातक उनलाई पेरिस विश्वविद्यालयले पर्यावरणसम्बन्धी मुद्दामा काम गरेबापत विद्यावरिधिको उपाधि दिएको हो ।  ९. कोलिन हेसल्टिन  अस्टे्रलियाका वरिष्ठ कूटनीतिज्ञका श्रेणीमा पर्छन् हेसल्टिन । हाल नाटिलस इन्स्िटच्युटमा वरिष्ठ सहायक पदमा कार्यरत उनी सन् १९८२ देखि १९८५ र १९८८ देखि १९९२ सम्म बेइजिङस्थित अस्ट्रेलियाली दूतावासका मिसन उपप्रमुख थिए । सन् २००६ मा उनलाई सरकारले एसिया प्रशान्त आर्थिक सहयोग -एपेक) को कार्यकारी प्रमुखका रूपमा सिंगापुर नियुक्त गरेको थियो । सन् २००१ देखि २००५ मा उनी कोरियाका राजदूत   थिए । चिली र स्पेनमा समेत उनको कूटनीतिक नियुक्ति भएको थियो । तीस वर्षभन्दा अधिक समय यिनले विदेश मामला विभागअन्तर्गत एसिया प्रशान्त क्षेत्रमा रहेर काम गरेका छन् । यस क्षेत्रका निजी र सार्वजनिक संगठनका व्यापारिक तथा राजनीतिक रणनीति बनाउने मामलामा उनी विज्ञ मानिन्छन् ।   १०. कोर्न डबरान्सी  थाइल्यान्डका पूर्वउपप्रधानमन्त्री डबरान्सी अक्टोबर २००२ देखि नोभेम्बर २००३ सम्म उक्त पदमा थिए । सन् १९७४ मा राजनीति सुरु गरेका उनी १९८६ मा पहिलोपटक उद्योग मन्त्रालयका उपमन्त्री बनेका हुन् । त्यसपछि विभिन्न समयमा पर्यटन,   ऊर्जा, खेलकुद, स्वास्थ्य मन्त्री हुँदै उनी उपप्रधानमन्त्रीसम्म बने । हाल थाइल्यान्ड चीन मैत्री संघमा उनी अध्यक्ष छन् । कुशल राजनीतिज्ञ र सामाजिक कार्यकर्ताको छवि बनाएका उनले दक्षिणपूर्वी एसियामा शान्ति र स्थायित्वका लागि लामो समय सक्रिय रहेर महत्त्वपूर्ण योगदान पुर्‍याएको बताइन्छ । 


source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login