२ साउन, काठमाडौँ । आज ११ औं मुक्तकमैया दिवस । कमैया मुक्तिका क्षेत्रमा क्रियाशिल विभिन्न संस्थाहरुले दिवसका अवसरमा विविध कार्यक्रम गर्दैछ । तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०५७ साउन २ गते वर्षौदेखि जमिनदारका घरमा काम गर्दै आएका कमैयाहरुलाई मुक्त घोषणा गर्दै ऋणसमेत माफी दिएको थियो । दिवसका अवसरमा भूमिअधिकार संघर्ष समिति, मुक्तकमैया समाज, कमैया प्रथा उन्मुलन समाज र मुक्त कमैया महिला जागरण समाजलगायतका संघसंस्थाले राजधानीमा कमैयाहरुका समस्याका बारेमा छलफल गर्न अपरान्ह एक अर्न्तक्रिया कार्यक्रमको आयोजना गरेका छन् । अध्यक्ष पशुपति चौधरीले कानुनी रुपमा कमैयामुक्तिको घोषणा भएको ११ वर्ष पुग्दा पनि सरकारले कमैयाहरुको समाजमा उचित पुनःस्थापन नगरेको गुनासो गर्नुभयो । उहाँले सरकारले कमैयाहरुलाई प्रतिपरिवार दिने भनिएको जग्गा पनि उपलब्ध नगराएको भन्दै दुःख व्यक्त गर्नुभयो । नेपालका पश्चिम नेपालका थारु बाहुल्य दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा गरी हालसम्म ३२ हजार ५ सय ९ जनाले मुक्त कमैयाको परिचयपत्र लिइसकेका छन् । जसमध्ये २ हजार पाँच सय ७० जनाले मात्र पुर्नवासका लागि जग्गा पाएको समाजका अध्यक्ष चौधरीले जानकारी दिनुभयो । कमैयाबाट मुक्ति पाएको ११ वर्ष पूरा भए पनि कतियपको अवस्था अझै जस्ताको तस्तै रहेको भन्दै उहाँले मुक्ति दिवसलाई आन्दोलनै रुपमा मनाउने बताउनुभयो ।
source:-onlinekhabar
0 commentaires