दिलबहादुर छत्याल, धनगढी, साउन ११- धनगढीमा लागु पदार्थको सेवन गरेर मंगलबार एक युवकको मृत्यु भएको छ भने अर्का एक जना बेहोश अवस्थामा फेला परेका छन्। दुर्व्यसनी उच्च मावि तथा क्याम्पसका विद्यार्थी हुन्। मृतक धनगढी नगरपालिका-८ पवन विष्ट हुन्। १८ वर्षे पवन आईएस्सी दोश्रो वर्षमा अध्ययनरत थिए भने सँगै लागु पदार्थ सेवन गरेका धनगढी नगरपालिका-१ का २० वर्षे सुजित भण्डारीलाई बेहोश अवस्थामा फेला परेका छन्। उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। बिहानै घरबाट निस्केका दुवैजना धनगढी नगरपालिका कार्यालय पछाडि भुइँमा लडेका बेला फेला पारेको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी नायव निरीक्षक बजिरसिंह धामीले बताए। 'दुवै जना नसाले लठि्टएजस्तो गरी भुइँमा लडेका थिए,' उनले भने, 'हेर्न जाँदा बिष्टको मृत्यु भइसकेको थियो भने अर्को युवक नसाले लठि्टएर बेहोश थिए।' मृतक विष्टको साथमा नाइट्रोभ्याड फेला परेको छ। लागु पदार्थको बढी डोज सेवन गरेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकका पिता धनबहादुर बिष्टले छोरा पहिलेदेखि नै दुर्व्यसनीमा लागेको बताए। 'बिहानै घरबाट १० हजार रुपैयाँ चोरेर लगेको थियो,' उनले भने, 'दुर्व्यसनबाट छुटाउन प्रयत्न गरे पनि केही लागेन।' पवन शिक्षक पिताका एक्ला छोरा हुन्। उनका ४ छोरी छन्। कैलालीमा लागुपदार्थका दुर्व्यसनीको संख्या बढ्दो अवस्थामा रहेको छ। लागुपदार्थ क्षति न्युनीकरण कार्यक्रमका सुपरभाइजर ईश्वर जोशीले कैलालीमा ५ वर्षयता लागु पदार्थ सेवन गरेर १० जनाको मृत्यु भएको बताए। धनगढीमा लागु पदार्थको सेवनले २४ औं घन्टा लठि्टरहने युवाको संख्या ३ दर्जनभन्दा बढी रहेको प्रहरी नायव निरीक्षक धामीले बताए। दुर्व्यसनमा लागेका ३ युवती पनि फेला परेको उनले जानकारी दिए। प्रतिबन्धित लागुपदार्थ धनगढीका २, ३ पसलमा खुलेआम बिक्री हुने गरेको स्थानीयको गुनासो छ। कैलालीका प्रहरी उपरीक्षक वसन्त पन्तले कैलालीमा लागुपदार्थ दुर्व्यसनी बढ्दो अवस्थामा रहेको बताए। ३ दिनयता मात्र ७ जनाजति दुर्व्यसनीलाई प्रहरीले पक्राउ गरेको छ। 'केही दुर्व्यसनीले सीमापारि भारतबाट खाएर आउने, २, ४ ट्याब्लेट बोकेर ल्याएर आउने गरेको पाइएको छ,' प्रहरी उपरीक्षक पन्तले भने, 'धनगढीमा बिक्री गर्नेको पनि खोजी भइरहेको छ।' पुनर्स्थापना केन्द्रमा राख्ने लगायत नयाँ योजना तयार भइरहेको उनले बताए।
source:-nagriknews


0 commentaires