हरिद्वार (भारत) , जेष्ठ २७ - विदेशमा रहेको कालोधन फिर्ता तथा भ्रष्टाचारविरुद्ध कडा कानुन माग गर्दै अनसनमा बसेका योग गुरु रामदेवको अवस्था खराव भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
योग गुरु रामदेवलाई अहिले देहरादुन अस्पतालको आईसीयूमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चिकित्सकहरुले शुक्रबार बिहानै रामदेवको स्वास्थ्य खराव भएको भन्दै अस्पताल भर्ना गर्न सुझाव दिएका थिए ।
आइसीयूमा भर्ना गर्न सुझाव
सात दिनदेखि आमरण अनसनमा रहेका प्रख्यात् भारतीय योग गुरु रामदेवलाई डाक्टरहरुले अस्पतालको आइसियुमा भर्ना गर्न सुझाएका छन् ।
उनको नियमित जाँच गरिरहेका चिकित्सकले उनको तौल घटेको तथा उनको किड्कीमा पनि समस्या देखिन थालेको भन्दै अस्पताल भर्ना गर्न सुझाएका हुन् ।
रामदेवले भ्रष्टाचारविरुद्ध कडा कानुन बनाउनु पर्ने, विदेशमा राखिएका कलोधनको फिर्ता गर्नु पर्नेलगायतका माग राखेर गत शनिबारदेखि आमरण अनसन बसेका हुन् ।
राजधानी नयाँ दिल्लीको रामलीला मैदानमा अनसन सुरु गरेका रामदेवलाई प्रहरीले हस्तक्षेप गरेर हरिद्वार पुर्याएपछि उनले त्यहीँ आफ्नो आश्रममा अनसनलाई निरन्तरता दिएका हुन् ।
अनसन तोड्ने सम्भावना
विदेशमा रहेको कालोधन फिर्ता तथा भ्रष्टाचारविरुद्ध कडा कानुन माग गर्दै अनसनमा बसेका योग गुरु रामदेवले शुक्रबार अनसन तोड्न सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आध्यात्मिक गुरु श्री श्री रविशंकर र मुरारी बापूको अपीलमा रामदेवले अनसन अन्त्य गर्ने संकेत गरेका हुन् । रामदेवले सत्याग्रहको नयाँ रणनीति घोषणा गर्दै अनसन अन्त्य गर्ने तयारी गरेको भारतीय सञ्चार माध्यमहरुको भनाई छ । शुक्रबार रामदेवको अनसनको सातौं दिन हो ।
चिकित्सकहरुको सल्लाहसमेत रामदेवले नमानेपछि आध्यात्मिक गुरु रविशंकर र मुरारी बापू बिहीबार अनसनस्थल हरिद्वार पुगेका थिए ।
रामदेवको अनसनस्थल व्यवस्थापनमा सहयोग गर्दै आएको विपक्षी भारतीय जनता पार्टी समर्थक राष्ट्रिय जनस्वयंसेवक संघका अध्यक्ष मोहन भागवतले पनि अनसन अन्त्य गर्ने विषयमा रामदेवसँग कुराकानी भइरहेको बताएका छन् ।
यसैबीच अनसनको सातौं दिन रामदेवले कागती पानी सेवन गरेका छन् । लगातारको अनसनले उनको तौल साढे पाँच केजी घटेको समाचारमा जनाइएको छ ।
ekantipur
0 commentaires