प्रेम बास्तोला सुनसरी, जेठ २७ छोराको मात्रै व्रतबन्ध गर्ने सामाजिक प्रचलनलाई तोड्दै इटहरी-४ का भजन पौडेलले विधिपूर्वक तीन छोरीको सामूहिक व्रतबन्ध गरिदिएका छन् । छोरी पनि छोरासरह हुन् भन्ने मान्यता स्थापित गराउन पौडेलले बिहीबार इटहरीमा भव्य कार्यक्रम गरेर तीन छोरीको सामूहिक व्रतबन्ध गरिदिएका हुन् । उनले अमेरिका बसेर नर्स पढ्दै गरेकी जेठी छोरी रेखा, काठमाडौं बसेर पढ्ने माइली छोरी गीता र इटहरी नै बसेर पढ्दै आएकी कान्छी छोरी अनुको आफ्नै घरमा विधिपूर्वक व्रतबन्ध गराए । रेखा ०४४, गीता ०४९ र अनु ०५३ मा जन्मिएका हुन् । गेरुवस्त्र लगाएर व्रतबन्धका लागि मण्डपमा बसिरहेका तीन दिदीबहिनीेमध्ये जेठी रेखाले बुबाआमाको कर्म छोराले मात्र नभई छोरीले पनि गर्न पाउनुपर्छ भन्ने सन्देश दिनका लागि आफूहरूको व्रतबन्ध भएको बताइन् । 'बुबाआमाको कर्म छोरीले गर्नु हुँदैन भन्ने कुराको उल्लेख पनि छैन,' उनले भनिन्, 'छोरी पनि छोरासरह हुन् भन्ने सन्देश दिन बुबाआमाले हाम्रो प्रतबन्ध गरिदिनुभएको हो ।' आमा राधा पौडेलले छोरीहरूको सामूहिक व्रतबन्ध गराउन पाउँदा खुसी लागेको बताइन् । 'छोराछोरीबीच समाजिक विभेद छ, त्यसको अन्त्यका लागि केही हदसम्ममा यस कार्यले सहयोग पुग्ने विश्वास छ,' उनले भनिन्, 'हाम्रा आमाबुबा अशिक्षित भएकाले हामी आमाबुबाको कर्म छोरासरह गर्नबाट वञ्चित हुनुपर्यो ।' अब हाम्रा छोरीले पनि त्यो अवस्था भोग्न नपरोस् भन्नका लागि व्रतबन्ध गरिदिएको उनको भनाइ छ । तीन दिदीबहिनीलाई मण्डपमा गायत्रीमन्त्र पढाइरहेकी गंगा उप्रेतीले छोरीको व्रतबन्ध गर्ने चलन निकै पहिले रहेको तर पछि बाठा बाहुनको फट्याइँका कारण छोरीहरू व्रतबन्ध गर्नबाट वञ्चित हुँदै आएको बताइन् । मूल पण्डितका रूपमा व्रतबन्ध स्थलमा रहेका राजकुमार उप्रेतीले यजुर्वेदमा गायत्री मन्त्र मनुष्यले सुन्नु सुनाउनु भनेर स्पष्टसँग लेखिएको बताउँदै स्त्री पनि मनुष्यभित्र पर्ने भएकाले छोरीको पनि व्रतबन्ध गर्न मिल्ने बताए । जनैको ६ डोरामध्ये ३ डोरा पुरुषको र ३ डोरा स्त्री जातिको भनेर वेदमा उल्लेख भएको उप्रेतीको दाबी छ । 'मानिसले गर्ने १६ संस्कारमध्ये एक व्रतबन्ध हो । छोरीको व्रतबन्ध पहिले हुने गरेको थियो,' उनले भने, 'पछि आएर गायत्री मन्त्र पढ्दा छोरीहरू बौलाउँछन्, पोइल जान्छन् जस्ता अनावश्यक कुरा फैलाएर उनीहरूलाई अवसरबाट वञ्चित गराइएको हो ।' उनले अहिलेसम्ममा वैदिक विधिबाट १ सय ५० छोरीको व्रतबन्ध गराइसकेका छन् । व्रतबन्धमा भिक्षा दिन आएकी नितु कार्कीले पौडेलको उदाहरणीय कामबाट देशभरिकाले पाठ सिक्नुपर्ने बताइन् । अर्का छिमेकी पुण्यप्रसाद पौडेलले यसबाट छोरा भनेर मरिहत्ते गर्ने अन्धो समाजको केही हदसम्ममा आँखा खुल्ने काम भएको बताए ।
नयाँ पत्रिका
0 commentaires