एक लाख नेपाली लाभान्वित हुने - विज्ञान अधिकारी, काठमाडौं, असार १० - मलेसिया सरकारले अवैध विदेशी कामदारलाई वैध हुन पाउने योजना सार्वजनिक गरेको छ। मलेसियाले विदेशी कामदारको लागि 'घर फर्क वा वैध होऊ' योजना ल्याएको हो। मलेसियाका उपप्रधानमन्त्री मुहायद्दिन यासिनले बुधबार योजनाको घोषणा गरे। मलेसियामा रहेका १९ लाख अवैध विदेशी कामदारका लागि यो योजना ल्याएको उनले बताए। यो योजनाबाट नेपाली श्रमिक समेत लाभान्वित हुनेछन्। मलेसियाले सन् १९९६पछि अवैध कामदारका लागि ल्याएको सबैभन्दा राम्रो अवसर हो। 'मलेसिया सरकारले अवैध कामदारका लागि ल्याएको यो सबैभन्दा राम्रो योजना हो,' नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कुमुद खनालले बिहीबार नागरिकसँग भने, 'मलेसियामा रहेका एक लाख नेपाली लाभान्वित हुनेछन्।' यो योजना अन्तर्गत जुलाई ११ देखि रजिष्ट्रेसन प्रक्रिया सुरु हुनेछ। उनका अनुसार यो अवसरमा सहभागी भएमा नेपाली कामदारले सहजै घर फर्किन पाउने र फेरी मलेसियामा कामको अवसर प्राप्त गर्नेछन्। यो योजनाभन्दा अघि अवैध रहेका कामदारले जेल बस्नैपर्ने र घर फर्किन ठूलो रकम खर्चिनुपर्ने आवश्यक थियो। 'योजना नआउँदा ठूलो रकम खुवाएर घर फर्किनुपर्ने बाध्यता थियो। रकम खुवाएर समेत केही साता जेलवस्नुपर्ने बाध्यता थियो,' खनालले भने, 'योजनामा सामेल हुनेले टिकटको रकम खर्चिएर नेपाल फर्कन पाउँछन्।' उनले योजनामा सामेल नभई अवैध रुपमा बसेमा मलेसियाले कडा कारबाही गर्ने जानकारी दिए। 'मलेसियामा रहेका एजेन्टहरुले यो अवसरमा सबैलाई सहभागी गराउन हामीलाई भनिरहेका छन्,' उनले भने, 'यस्तो अवसरमा समेत सहभागी नभएमा कारबाहीको भागिदार भएर रकम र ज्यान दुबै जोखिममा पार्नु मात्र हो।' यस्तो प्रकृया सहभागी हुनेले बिना कानुनी कारवाही स्वदेश फर्किन वा कानुनी हैसियत प्राप्त गरि पुनः मलेसियामै काम गर्न पाउनेछन्। बिदेशी कामदारको रजिष्ट्रेसनका लागि यसक्षेत्रमा अनुभव प्राप्त कम्पनीहरुलाई रजिष्ट्रेसन एजेन्टका रुपमा नियुक्त गरिएको छ। रजिष्ट्रेसन सकिएपछि उनीहरुको इच्छाअनुसार स्वदेश फर्किने वा आबश्यक शुल्क तिरेर मलेसियामै बसि काम गर्ने दुई अबसर प्राप्त हुनेछन्। मलेसियामा इन्डोनेसिया, बंगलादेश, नेपाल, भियतनाम लगायत बिभिन्न मुलुकका कामदारहरु अबैधरुपमा बसोवास गरिरहेका छन्। एकपटक रजिष्ट्रेसन प्रकृया सकिएपछि सरकारले कडाईपूर्व अबैध बिदेशी कामदारविरुद्ध अभियान चाल्ने मलेसिया सरकारले जनाएको छ। नयाँ कामदार दर्ता रोकियो मलेसिया सरकारले अवैध कामदारलाई ल्याएको योजना सफल बनाउन नयाँ कामदार लिने प्रक्रिया भने रोकेको छ। उसले जुलाई अन्तिम समयसम्मका लागि नयाँ कामदारको (एप्रुभल) रोकेको हो। 'मलेसियाले नयाँ कामदारको दर्ता लिन रोकेको छ,' खनालले भने, 'मलेसियाले अवैध कामदारलाई व्यवस्थापन गर्न रोक लगाएको हो।' उनका अनुसार दर्ता भइसकेका कामदार भने मलेसिया जान नरोकिएको जानकारी दिए। खनालले अवैध कामदारको व्यवस्थापनपछि मलेसियाले थप धेरै कामदार लिने अवस्था रहेको बताए। 'मलेसियामा कामदारको माग अझै धेरै छ। अवैध कामदार बढी फर्किएमा नयाँ कामदारको माग बढ्छ,' उनले भने। उनका अनुसार बंगलादेशका कामदार अवैध रुपमा बसिरहेकोले तत्काल खुल्ने सम्भावना नरहेकोले नेपाली कामदारको माग बढ्ने देखिन्छ। खनालका अनुसार पछिल्लो समयमा पर्यटक भिषामा गएका ९० हजार बंगलादेशी अवैध रुपमा मलेसियामा बसिरहेका छन्। 'बंगलादेश कामदार खोल्ने/ नखोल्ने बारेमा अझै अन्यौल रहेको छ,' उनले भने, 'बंगलादेशी कामदार नखोलेमा मलेसियाको विकल्प नेपालीनै हुन्।' मलेसियाले सन् २००८देखि बंगलादेशी कामदारलाई ल्याउन रोक लगाएको छ। बंगलादेशका नागरिकले मलेसियामा गएर त्यहीका नागरिक सँग विवाह गरेर बस्ने प्रवृति बढेकोले मलेसियाले बंगलादेशी कामदारलाई लिन रोक लगाएको हो। मलेसियाले लेबी हटाएपछि नेपाली कामदारका लागि आर्कषक गन्तब्यको रुपमा रहँदै आएको छ। मलेसियामा अहिले करिब पाँच लाख भन्दा बढी नेपाली कामदार कार्यरत छन्।
नागरिक
नागरिक


0 commentaires