शिव अधिकारी‘म सानैदेखि अति नै चन्चले रे !’ बुबाआमा यस्तै भन्नुहुन्छ । अलिअलि त म आफैलाई पनि सम्झना छ–बच्पनाका छुकछुके स्वभावहरु । स्कुल भर्ना हुनुअघि नै केही न केही गरी मानिसहरुलाई जिस्काईरहन्थी, हसाईरहन्थी म । वा एउटा बच्चाले जे गरेपनि ङिच्च परेर ठूला मानिसहरु हाँसिदिए जस्तै मेरा क्रियाकलापहरु हेरेर पनि मानिसहरु ङिच्च परेका मेरो मानसपटलमा ज्यूँका त्यूँ ताजै छ । बुबाआमाले मलाई स्कुल अलि ढिलो भर्ना गरिदिनु भएछ । अहिलेको परिस्थितिसँग दाँजेर हेर्दा त्यस्तै लाग्छ । ठ्याक्कै कहिले भने ०४६ सालको आन्दोलन सकिईसकेपछि २०४७ सालमा । सात वर्षको थिएँ–म । ०४६ सालको आन्दोलन त मेरो दिमागमा अझै झल्झली याद आउँछ । आमाले हात समाएर डो¥याउँदै सडकमा लगेर जुलुस देखाउनु हुन्थ्यो । हुलका हुल मानिसहरु आउँथे, चिच्याउँदै जान्थे–“जिन्दाबाद ! मूर्दाबाद !” अरु केही बुझ्दिन थिएँ–म । त्यही आन्दोलनताका हो–बेलुकी हामी छिट्टै खाना खान्थ्यौं । सात बजे अगावै । त्यसपछि “बत्ती निभा–बत्ती निभा ।” भन्दै मान्छेहरु ओइरिन्थे–घरघरमा ढुङ्गा बर्साउँथे । मेरो बुबा बाठो हुनुहुन्थ्यो । जिरोवाटको बल्ब बाल्नु हुन्थ्यो । सडकबाट कोठामा बत्ती बलेको देखिदै देखिदैन थियो । हामी दाजुभाइ धेरै डराउँथ्यौ–त्यो बेला । “कोठाबाट बाहिर निस्कियो भने मान्छेले पक्रेर लिए जान्छन् ।” भन्थे ठूलाबडाहरु । त्यहीबेला त हो नि वीर हस्पिटलमा एकजना नर्सको मृत्यु भएको । आन्दोलनकारीले हानेको ढुङ्गा हस्पिटलभित्र छिरेर नर्सलाई लाग्न पुगेछ ! ढुङ्गाले लाग्ने बितिक्कै नर्स ढलिछिन् अनि मरिछिन् । हामीले समाचारमा सुनेका । अँ ! सात वर्षको उमेरमा म स्कुल जान थालेको थिएँ–सरकारी स्कुल । सुकुलमा बसेर पढ्थ्यौं–हामी । कोठाबाट स्कुल १० मिनेटको दुरीमा थियो । एउटा केटी थिई–जो हामीलाई स्कुल लिएर जान्थी । हामी बसेकै घरभन्दा सँगै अर्को घरमा बस्ने । हाम्रो बुबा र त्यो केटीको बुबा साथी–साथी थिए । केटी चार कक्षामा पढ्थी–मेरो भाइ र म सँगै एक कक्षामा पढ्थ्यौं । स्कुल जान त रमाइलो लाग्थ्यो तर गै’सकेपछि भने कस्तो कस्तो हुन्थ्यो । सबै एकआपसमा बोलचाल गर्थे–आफू भने एक्लो । सधैं देखिराखेको आफ्नै भाइसँग के कुरो गरेर बस्नु ? त्यस्तै लाग्थ्यो–त्यो बेला पनि । बिस्तारै–बिस्तारै सबैको अनुहार हेर्ने बानी पर्दै गयो । नत्र त सुरुमा घोसेमुन्टो लगाएर बस्नुभन्दा केही गर्न आउँदैन थियो । एकदिन दुईजना केटी एकैपटक मसँग बोल्न आए । त्यतिखेरसम्म म छुकछुक गर्ने भै’सकेको थिएँ । ति केटीहरु देखेर त म छक्कै परें । सायद, त्यो भन्दा अगाडि मैले उनीहरुलाई देखेकै थिइन । हाम्रो कक्षाकोठा, बस्ने सुकुल एकदमै फोहोर थियो । त्यसमाथी हामी बच्चाहरु ‘चप्पलनाघी’ खेल खेल्थ्यौं । स्कुलमा ठूलो चौर थियो–त्यसमा लडिबुढी गथ्यौं । हाम्रो कपडा सधैं बिरुपै हुन्थ्यो–मैलो । सबैको त्यस्तै हुन्थ्यो । तर, ति केटीहरु भिन्न थिए । तिनीहरुको कपडा यति सफा थियो कि भर्खर नयाँ सिलाएर लगाए जस्तो । अनि, मान्छे पनि सफा थिए–तिनीहरु । त्यो दिन तिनीहरुसँग बोलें–हामी साथी भयौं । भोलिदेखि सँगै बस्ने कुरो भयो । तिनीहरु दिदी–बहिनीहरु रहेछन् । पछि थाहा भयो–जूम्ल्याहा दिदी–बहिनी । भोलिपल्टदेखि हामी चार भयौं–दुईबाट । चल्न, जिस्किन मजा आउन थाल्यो । तिनीहरु अरु कोहीसँग बोल्दैन थिए । हामी दाजुभाइ पनि अरुसँग बोल्न जाँदैन थियौं । तिनीहरुलाई देखेर पूरै कक्षा ट्वाल्ल पर्थे । सबै हेरेको–हे¥यै हुन्थे । त्यति राम्रा थिएँ–तिनीहरु । हामी भने खुशी थियौं–हाम्रा त तिनीहरु साथी थिए । ति केटीहरु स्कुलमा बस्दा ‘फरक’ फोहोर हुन्छ भनेर घरबाट चकटी बोकेर लेराउँथे र सुकुलमाथी चकटी ओच्छ्याएर बस्थे । त्यसपछि मैले पनि बुबाआमालाई किचकिच गरेर चकटी किन्न लगाएको थिएँ । हाम्रो दोस्ती राम्रै जमेको थियो । एककक्षाको अन्तिम–अन्तिमतिर हो, एकदिन तिनीहरु स्कुल आए । तर, कुरो राम्ररी गरेनन् । अरुदिन जस्तो चलेनन्–जिस्कदा पनि जिस्केनन् । स्कुलको ‘हाफटाइम’मा दिदी चाँहीले भनि– “हामी भोलिदेखि स्कुल नआउने ।” “किन ?” मैले प्रश्न गरेको थिएँ । तर, कुन भावमा थियो ? अहिले याद छैन । “बाबाको सरुवा भयो रे ! हामी भोलि झापा जाने रे !” यत्ति भनेकी थिई–उसले । अथवा मलाई अहिले यत्ति मात्र भनेको सम्झना भयो । स्कुल छुट्टी भएपछि म भाइलाई हामीलाई स्कुल लाने र लेराउने केटीको जिम्मा लगाएर सुटुक्क भागेको थिएँ र ति दिदीबहिनीको पछिपछि लागेको थिएँ । तिनीहरुले पनि बोलाएका थिएँ । तिनीहरुलाई छोड्न तिनीहरुको घरैसम्म गएको थिएँ । तिनीहरु बस्ने घर स्कुलै पछाडि थियो । अनि, तिनीहरुका बाबासँग भेटेको थिएँ । त्यसपछि हामी छुट्टिएका थियौ । “तिमी पनि एक्लो हुन्छौं–म पनि एक्लै हुने भएँ–अब ।” छुट्टीने बेलामा दिदीचाँहीले यस्तै भनेकी थिई । अन्तिममा हामीले एकले अर्कोलाई ‘बाई’ गरेका थियौं । दिदी चाँहीले फर्किफर्कि हेरेकी थिई–मलाई । मैले पनि फर्किफर्कि हेरेकै थिएँ । त्यो केटी मलाई हेर्दै ‘बाई’ गर्दै थिई । मैले पनि मन नलागी–नलागी ‘बाई’ गरेको थिएँ । त्यो दिन म घर ढिलो पुगेको थिएँ–एक्लै । खोजतलास भएछ–धेरै । गाली खाएँ । तर, चिन्ता मलाई त्यही केटीको थियो–त्यो बेला पनि । त्यसपछि एकैचोटी मेरो जीवनमा केटीको प्रवेश आठकक्षामा आएर भयो । मैले आठकक्षामा आएर एउटा प्रेमिका भेटेको थिएँ । सात कक्षामा पढ्ने । मैले भेटेको पनि होइन । केटाहरुले जुराईदिएका । ‘पूजा’ नाम गरेकी केटी थिई । मैले त चिनेको पनि थिइन । केटाहरुले मेरो नाम जोडेर जिस्काउन थालेपछि चिनेको हुँ । प्रेम पनि त्यति हो–नाम जोडिएको मात्रै । तर, नाम जोडिएदेखि केटी मलाई देख्ने बितिक्कै लजाउन थालेकी थिई । मलाई पनि त्यो केटीलाई देख्यो कि अप्ठ्यारो महशुस हुन्थ्यो । नदेखे पनि हुन्थ्यो जस्तो लाग्थ्यो तर लुकिलुकी हेर्न भने मन लाग्थ्यो । केटीको चालचलन यस्तो कि म देखेर तर्सन्थे । जसलाई पायो त्यसलाई पाट्टपुट्ट पिट्ने । गाली मात्रै गर्ने । एकदमै रिसाउने । साथीहरुसँग अति चल्ने । चुल्बुले ! म कल्पना गर्थे–यस्ती केटीसँग मिलन भयो भने कस्तो होला ? तर त्यो कल्पनामा मात्रै सीमित भयो । नौ कक्षा पढ्दै गर्दा अर्को केटी भेटें । आफ्नै टोलमा । नयाँघर बनाएर बस्न आएका थिए–तिनीहरु । तिनीहरु टोलभरी चर्चित थिए । यसकारण कि त्यो समयमा नै तिनीहरु यति छोटो लुगा लगाउँथे कि कतिपय बुढाबुढीहरुले देख्यो कि जिब्रो टोक्थे । केटाहरु भने मख्खै ! त्यतिखेरको हिन्दी फिल्ममा हिरोइनहरुले लगाउने भन्दा पनि छोटो स्कर्टहरु लाउँथे–तिनीहरु । अनि, कपडा यति पारदर्शी हुन्थ्यो कि हाम्रो मुटु नै ढक्क फुल्थ्यो–तिनीहरुलाई हेरेर । तिनीहरु पनि दुइ नै थिए–दिदीबहिनी । सँगै स्कुल जान्थे र सँगै फर्कन्थे । नौ कक्षामा पुगेपछि मेरो स्कुलको पढाई बिहानी भएको थियो । ति केटीहरुको भने स्कुल दिउँसो पढाई हुने नै थियो । म र केही साथीहरु ति केटीहरुलाई हेर्नकै लागि तिनीहरु स्कुलबाट घर फर्किने बाटोमा फुटबल खेलेर बस्थ्यौं । हाम्रो त्यो फुटबल खेलाई तिनीहरु नआउन्जेल निरन्तर चल्थ्यो र तिनीहरु आएर गएपछि टुङ्गिन्थ्यो । त्यस्तैमा एकदिन बोलचाल भयो । त्यो भन्दा अगाडि त हामी हेथ्यौं मात्रै । कहिले–काँही बाटोमा हिड्दा हावाले तिनीहरुको स्कर्ट माथीतिर फर्काउँदा चङ्गा भएको हाम्रो मनको सम्झना मैले अझै भुल्न सकेको छैन । साथीहरु कति बाठा ? उनीहरुको त ति केटीहरुसँग बोलचाल भै’सकेको रहेछ । साथीहरुकै कारणले मेरो पनि बोलचाल सम्भव भयो । त्यसपछि त हाम्रो बसोबास नै ति केटीहरुको घर वरिपरि । फेरि, ति केटीहरुसँग बोलचाल भएदेखि नै हामी टोलका ठूला दाइहरुको आँखोका तारा भएका थियौं । जिस्काउँथे हामीलाई–ठूलाहरु । सबै भुतुक्कै हुन्थे–तिनीहरुलाई देखेर । हाम्रा भने ति केटीहरु सहपाठी भएका थिए । केटीहरु औधी राम्रा पनि थिए । त्यतिक्कै अरुले डाहा गरेका हुन् र ? केटीहरु दुईबाट तीन भए–एकजना आफन्त पर्ने थपिएर । सबैको उमेर उस्तै । हामी केटाहरु पनि तीन थियौं–उस्तै उमेरका । बिस्तारै हामी धेरै नजिक भयौं । केटीहरुको घरमा समेत आउजाउ गर्ने भयौं । केटीहरु मध्येकी जेठीसँग म अलिक नजिक भएँ । त्यस्तै साथीहरु पनि अरु दुईसँग नजिक भएछन् । हाम्रो अघोषित जोडी नै बनेको थियो–त्यो बेला । त्यसपछि हो–मैले पहिलो पटक छुट्टै रमाइलोको अनुभव गरेको । हामी एकदमै जिस्किने भयौं । कहिले काँही त हाम्रो जिस्काई अति नै हुन्थ्यो–समूहमा । म नौ कक्षा सकाएर दश पढ्ने भै’सकेको थिएँ । हाम्रो सम्बन्ध उस्तै थियो । त्यो केटी कहिले मेरो काँधमा टाउको राखेर रुन्थी । दुःखका कुरा गर्थी । कहिले जिन्दगीलाई ‘बिन्दास’ बनाउनु पर्छ भन्थी । मैले पहिलो पटक प्रेमको अनुभूति गरेको थिएँ–त्यो समयमा । घर छिरेपछि पटक–पटक ऐना हेर्थे । कपाल मिलाउँथे । सफा–सुग्घर देखिन खोज्थें । हुन त त्यो मोरो आकर्षण मात्रै थियो कि ! तर एकैदिन त्यो केटीलाई नदेख्दा मनमा हुने छट्पटी पनि अझै मैले भुलेको छैन । केटी पनि त्यस्तै नै हुन्छ–भन्थी । केटी बिस्तारै चुरोट तान्ने भई । अरु दुईजना साथीहरु उसलाई साथ दिन्थे । साथमा हप्तामा दुई–चार पटक केटी ‘डिस्को’ जाने भई । ‘डिस्को’को ‘क्रेज’ भर्खर बढेको थियो–त्यतिबेला काठमाडौंमा । सबैजना ‘डिस्को’ जान्थे–म बाहेक । मेरोलागि पनि ‘डिस्को’को टिकट आइपुग्थ्यो–सित्तैमा । “जाउँ” भन्थी केटीले तर मलाई जाने ‘मुड’ नै भएन । मैले त्यस्ता कुरालाई अंगाल्ने सकिन । समूहमा म एक्लो ‘जोक्कर फाल्टु’ भएको थिएँ । केटी र मेरो सम्बन्ध भने सक्किसकिएको थिएन । म हाम्रो त्यो समूहमा खुलेर घुलमिल हुन सकिन । फेरि, त्यो केटी कताकताको को–को केटाहरुसँग पनि हिड्न थाली । मैले त्यसरी निस्फिक्री हिड्ने जमर्को गर्नै सकिन । बिस्तारै केटी अर्कै दूनियाँमा रमाउन थाली । मैले त्यो दूनियाँको मार्ग पकड्नै सकिन । अघोषित रुपमै हामी बिस्तारै टाढियौं–एकअर्काबाट । म बालक्लबमा छिरेको थिएँ–आठकक्षा पढ्दाताका नै । निरन्तर त्यतातिर पनि लागि परेको थिएँ । बालकार्यक्रमको सिलसिलामा कताकता पुग्थें । त्यस्तैमा एकदिन अर्को एक केटी भेट भयो । केटी त पूरै म जस्ती । अथवा केटीको बानी–ब्योहोरा पूरै मेरो जस्तो । बिस्तारै बालकार्यक्रमहरुमा भेटघाट हुन थाल्यो । दबै उस्तै थियौं । ठ्याक्कै मिलेको बानी, ब्योहोरा, आचरण, रुची । हामी बीच प्रेम आदान–प्रदान भयो । दुबैले एकले अर्कोलाई चाह्यौं । त्यो भन्दा पनि ठूलो कुरो हामीलाई आफ्नो इज्जतको डर थियो । वा भनौ–आफूसँग जोडिएको संस्थाको डर थियो । आफ्ना कुराहरु बाहिर आउँदा संस्थाको नाक काटिन्छ जस्तो लाग्थ्यो । हुन पनि हो–हामी त ‘बालसामाजिक कार्यकर्ता’ थियौं । हामीले आफूलाई बालअधिकारको आन्दोलनमा होमेका थियौं । हामी अरुलाई सिकाएर हिड्थ्यौं । त्यसैले आफू बिग्रिन मिल्ने त कुरै थिएन । फेरि, संस्थाको डर त छँदै नै थियो । त्यसैले कामलाई ध्यान दिंदादिंदै चाहेर पनि हाम्रो प्रेम त्यो भन्दा अघि बढ्न सकेन । तर, त्यो केटीको छाप मेरो मनमा अद्यावधी गडेकै छ । म कलेज पढ्न थालेको थिएँ । कलेज गएको पहिलो दिन नै मेरा आँखा एउटा केटीमा गड्यो । केटी हेर्दा साह्रै सोझी, शुसिल र निस्कपट थिई । त्यो केटीसँग बोलुँबोलुँ लाग्यो । तर, कलेजको पहिलो दिन भएर आँटै आएन । कलेजका दिनहरु बित्दै गए । त्यो केटीसँग पनि बोलचाल भयो । केटी साँच्चिकै सरल र शुसिल थिई । केटी त मलाई पहिलो दिन नै देखी मन पर्न थालेको थियो । त्यसैले मैले त्यो केटीलाई मनमा राखेर कल्पनाको उडान भर्न थालेको थिएँ । तर, आफ्नो इच्छा भने केटी सामु जाहेर गर्न सकेको थिइन । त्यो समय म साह्रै लट्ठ भएको थिएँ । मलाई कुनै कुराको मतलबै हुन छोडेको थियो–त्यो केटी सिवाय । केटीसँग नजिक हुन अनेकथरीका तरिका अपनाउँथे–म । साँच्चै ! त्यो केटीले मलाई अर्धबेहोस बनाईदिएकी थिई–त्यो बेला । तर, त्यो कुरा त त्यस केटीलाई पत्तै थिएन । मेरो मन एक्लै बरालिएको थियो । जिन्दगीमा आजसम्म कुनै केटीप्रति यतिधेरै बहकिएको म त्यही केटीप्रति हो । त्यस केटीलाई देखाउनकैलागि मैले धेरै राम्रो मान्छे बन्ने कोशिस गरें । केही सफलता पनि हात पारें–त्यतिखेर । पूरै कलेजभरी म यति धेरै चर्चित थिएँ कि ! अरुहरु मलाई देखेर ईश्र्या गर्थे । तर म चर्चित हुनुमा कसैको हात थियो भने त्यो त्यही केटीप्रतिको मेरो झुकाब थियो । केटीको अगाडि राम्रो मान्छे बन्ने कोशिस गर्दागर्दै म चर्चित बन्न पुगेको थिएँ–पूरै कलेजभरी । केटीलाई त्यो कुराको पत्तो भने मैले कहिल्यै दिइन । त्यो केटी पनि मेरो सफलतामा खुशी हुन्थी । यसकारण कि हामी एकदम नजिकका साथी भै’सकेका थियौं । हामीले धेरै ठाउँ घुम्यौं–रमाइलो ग¥यौं तर त्यो सबै साथीकै नाताले मात्रै । हाम्रो कलेज सकिने दिन आइसकेको थियो । मैले आफूभित्र झाङ्गिएको प्रेम त्यतिखेरसम्म पनि केटीसामु राखेको थिइन । पहिला त म सफल मान्छे बन्न खोज्दाखोज्दै अड्किएको थिएँ–आफ्नो कुरा राख्न । जब सफल भएँ–त्यसपछि भने मलाई मेरो अहम्ताले छोप्यो । कतै मेरो प्रेम प्रस्ताब अस्वीकार भयो भने पूरा कलेजभरी मेरो बेज्जत हुनेछ । मेरो चर्चाको श्रेणी निमेषभरमै धुमिल हुनेछ । यही कारणले मैले कहिल्यै त्यो केटीसामु आफ्नो प्रेम खुलाइन । तर, त्यो पछि त्यो जत्तिको लक्षणले भरिपूर्ण केटी आजसम्म भेट्टाइन । त्यसपछि पनि मेरो जीवनमा धेरै केटीहरु आए–गए । कसैले मनमा महिना दिन बास गरे । कसैले ६ महिना, एकवर्ष बास गरे । तर, त्यो केटी जत्तिको प्रभाव अरु कसैले छोड्न सकेनन् । सायद मैले पनि अरु केटीहरुलाई चाहिने जति माया गर्न सकिन । मेरो मनमा सञ्चित मायाको ‘प्याकेज’ पूरै त्यही केटीप्रति सुम्पिदिएको थिएँ–कतै । त्यसैले पनि मैले अरु केटीहरुलाई मनले चाहन सकिन । शारीरिक आकर्षण त कतिदिन टिक्छ र ? केटीहरुसँग त धेरैसँग संगत गरें । धेरै किसिमको बास्ना पनि पाएँ । तर, त्यो छुनै नसकिएको बास्नाको मधुरता आजसम्मै मनमा गढिरहेको छ । बरु छोइएको बास्ना कताकता गन्धमा परिणत भै’सकेको छ । adhikarishiva05@gmail.com
साहित्य
»
मेरी प्रेमिका(आख्यान)
मेरी प्रेमिका(आख्यान)
Tags:
साहित्य


0 commentaires