सप्तरी,४ जेठ सुनसरीबाट हराएका झन्डै आधा दर्जन बालकलाई सप्तरी प्रहरीले राजबिराज नगरपालिकाबाट उद्धार गरेको छ । गत आइतबारदेखि नै हराएका ती बालकलाई सोधखोजका क्रममा सप्तरी प्रहरीले सोमबार राति राजबिराज नगरपालिका क्षेत्रमा भेट्टाएको हो ।
हराएका बालकलाई अधिकारकर्मीको रोहबरमा मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा परिवारजनको जिम्मा लगाइँदै ।
यसरी उद्धार हुने बालकमा सुनसरी बेल्हा गाविस-१ र २ का १४ वषर्ीय आशिषकुमार चौधरी, विष्णुकुमार चौधरी, मिथिलेसकुमार चौधरी, १२ वषर्ीय अजयकुमार ऋषिदेव, १० वषर्ीय मनोजकुमार पण्डित र राजकुमार ऋषिदेव छन् । गत आइतबार घरमा खबर नगरीकन हिँडेका यी बालक त्यहाँबाट टेम्पु चढेर सप्तरी सदरमुकाम राजबिराज आएका थिए । सोमबार बिहानसम्म पनि छोरा घर नफर्केपछि स्थानीय महिला समूहका पदाधिकारीलाई घटनाबारे पीडित परिवारले खबर गरेका थिए । सोहीअनुसार सुनसरीसहित छिमेकी जिल्ला सप्तरी, सिराहा, उदयपुरका प्रहरी कार्यालयमा खबर गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक भुवनेश्वर साहले सुनसरीबाट आएको जानकारीका आधारमा आफूहरूले जिल्लाभरि नै सोधखोज गर्दा सोमबार राति नगरभित्र ६ जनाको समूहमा रहेका बालकलाई देखेपछि जिल्ला प्रहरी कार्यालय ल्याएको र सोधपुछका क्रममा सुनसरीबाट नै हराएका बालक रहेकाले तत्कालै सुनसरी खबर पठाएको बताए । यसैबीच उद्धार गरिएका सबै बालकलाई मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा सुनसरीबाटै आएका अधिकारकर्मीको रोहबरमा परिवारजनको जिम्मा लगाइएको छ । मोरंग सिविनकी विनिता नेपाल र ओरेक सुनसरीका महेन्द्र महतोको रोहबरमा परिवारजनको जिम्मा लगाइएको प्रहरी निरीक्षक साहले बताए । घरमा बुबाआमाले पकेट खर्च नदिएकै कारण बालकहरू घरमा खबर नगरी अन्यत्र हिँडेको अनुसन्धानले देखाएको प्रहरी निरीक्षक साहको भनाइ छ ।
0 commentaires