वीरगन्ज, वैशाख ५ - दाइजो (दहेज) मा भैंसी र टीभी नल्याएको भन्दै परिवारमा किचलो खेप्दै आएकी एक महिलाको रहस्यमय मृत्यु भएको छ । घटनापछि परिवारका सदस्यहरू फरार छन् ।
विष सेवनको अवस्थामा शुक्रबार अस्पताल भर्ना गरिएकी पर्साको रामगढवा-४ की १९ वर्षीया सकुन्तला देवीको शनिबार मृत्यु भएको हो ।
'भैंसी र टीभी दाइजो लैजान नसकेपछि परिवारले हत्या गरेको' आरोप लगाउँदै माइती पक्षले जाहेरी दिएको छ । ज्वरोको औषधि भनी झुक्याएर विष खुवाएको मृतकका बुबा रवीन्द्र
पटेलले जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरीमा उल्लेख छ ।
घटनापछि मृतकका पति साजन, ससुरा खिरोधन राउत कुर्मी, सासू जसमती देवी कुर्मी फरार रहेको प्रहरी निरीक्षक भीमकिरण बोगटीले बताए । अस्पतालले दिएको मृत्यु प्रमाणपत्रमा
विष सेवन गरी ज्यान गएको उल्लेख छ । विष मृतक आफैंले सेवन गरेको हो वा अरूले खुवाएको भन्नेबारे अनुसन्धान भइरहेको बोगटीले बताए ।
साजन र सकुन्तलाबीच तीन वर्षअघि बिहे भएको थियो । 'दहेज मागे पनि आर्थिक हैसियत कमजोर भएकाले टार्दै आएको थिएँ,' रवीन्द्रले भने, 'विवाहमै १ लाख १५ हजार नगद र
अन्य गरी १ लाख ९० हजार खर्च भएको थियो ।'
छोरीले बान्ता गरी सिकिस्त भएपछि सीमावर्ती रक्सौलस्थित डन्कन अस्पतालमा भर्ना गरिएको गाउँकै श्याम पटेलबाट थाहा पाएर आफू अस्पताल पुग्दा छोरीलाई भर्ना गरी परिवारका
सदस्य फरार भइसकेको दाबी रवीन्द्रले गरेका छन् । मृतकको साढे तीन महिनाका एक छोरा छन् ।
source:-ekantipur


0 commentaires