इलाम, चैत्र ६ - इलाम नगरपालिका ४ का चित्राखर खतिवडालाई टुनामुना लगाएर छरछिमेकीलाई बिरामी बनाएको आरोप लगाउँदै स्थानीयले निर्मम कुटपिट गरेका छन् ।
सोही वडाका वडासचिवको समेत काम गरिरहेका इलाम नगरपालिका कार्यालयका कर्मचारी पदमसिंह थापासहितको समूहले कुटपिट गरेको भन्दै खतिवडाले जिल्ला प्रशासनमा न्यायका लागि उजुरी दर्ता गरेका छन् ।
'बोक्सो' आरोपमा पिटिएका खतिवडाको खुट्टा र कानलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । थापा र स्थानीय टेकनाथ डाँगीका छोरीहरू बिरामी भएको उनीहरूलाई झारफुक गरेर बिरामी बनाएको भन्दै कुटपिट गरेको चित्राखरले बताए । पुरेत्याइँको काम गर्दै आएका खतिवडालाई खुट्टामा ढोग्न लगाउँदै जबर्जस्ती माफ मगाएर कुटपिट भएको परिवारले बताएका छन् । टुप्पी पनि तानेर चुँडाइदिएको खतिवडाले बताए ।
आफूले प्रयोग गर्दै आएको गायत्री पुस्तकसमेत लगेको उनले बताए । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले उजुरीको छानबिन गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा पत्र पठाएको बताए । घटना निन्दनीय भएको बताउँदै उनले दोषीउपर कारबाही गरिने बताए ।
पीडक भनिएका थापाले खतिवडालाई आफूले कुटपिट नगरेको दाबी गरेका छन् । खतिवडाको घरमा फुकफाक गर्न पुर्याएपछि छोरीहरू झन् बिरामी भएकाले घरमै ल्याएको उनले बताए ।
source:-kantipur


0 commentaires