अमन कोइराला सर्लाही, पुस १८ - उखुको मूल्यवृद्धिको माग राख्दै आन्दोलनमा उत्रेका किसान र प्रहरीबीच भएको झडपका कारण आइतबार हरिऔन तनावग्रस्त भएको छ । किसानहरुले पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्ग खुलाउन प्रयास गर्दा दुई पक्षबीच झडप भएको छ । प्रहरीले ६ राउण्ड बढी अश्रृ ग्याँस प्रहार गरेको छ । सडकमा हजारौंको संख्यामा रहेका किसानहरुले ढुंगा हानेका छन् । झडपमा किसान तर्फ ६ जना र प्रहरी तर्फ डिएसपी सहित केही घाइते भएका छन् ।
राजमार्ग बन्द गराउन उखुका लाक्रा लिएर ठूलो संख्यामा किसानहरु सडकमा ओर्लिएका छन् । किसानले सडकमा गाडा,ट्याक्टर तेस्र्यार तथा प्रदर्शन गरेर राजमार्ग अवरुद्ध गरेका छन् । पूर्व निर्धारित कार्यक्रम अनुसार बिहान ११ देखि २ बजेसम्मका लागि राजमार्ग अवरुद्धको कार्यक्रम रहेको छ । चरणवद्ध रुपमा आन्दोलन गर्दै आएका किसानहरुले निरन्तर आन्दोलनलाई चर्काउँदै लगेका छन् । बन्द खुलाउन प्रहरीले बल प्रयोग गरेपनि ठूलो संख्यामा किसानको उपस्थितिका कारण सफल हुन सकेको छैन । बन्दका कारण राजमार्गमा सयौं सवारी साधन रोकिएको छ । डिएसपी युवनारायण वैद्यको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।
उखु उत्पादक किसानहरुले प्रति क्विन्टल उखुको मूल्य ४ सय २१ रुपैयाँ हुनुपर्ने माग राख्दै आएको छ । हरिऔनमा इन्दु शंकर चिनी उद्योग रहेको छ । मसिंर पहिलो सातामा संचालनमा आउनुपर्ने उद्योग मूल्य विवादका कारण अहिलेसम्म संचालनमा आउन सकेको छैन ।
source:-ekantipur


0 commentaires