रुद्र खड्का, नेपालगन्ज, माघ ४- बर्दिया, सानोश्रीका देवीलाल सुनार प्रहरी कार्यालयदेखि माइती नेपालसम्म धाइरहेका छन्। १० वर्षअघि कुवेत पसेकी उनकी पत्नी शान्तिको अत्तोपत्तो छैन।राम्रो काम र पैसाको आशाले भारत हुँदै कुवेत पुगेकी शान्तिसँग सम्पर्क नभएको दुई वर्षपछि खोजीका लागि विभिन्न निकायलाई गुहारिसकेका छन्।
तर, अझै पत्नीको अवस्थाबारे कुनै जानकारी पाउन सकेका छैनन्।
पछिल्ला दिनमा पुरानो ठाउँमा फोन गर्दा हिन्दी भाषामा घरमा नभएको खबर मात्र पाएको देवीलालले बताए ।
'प्रहरी कार्यालयमा पत्नी हराएको उजुरी पटक पटक दिएँ,' उनले भने, 'प्रहरीबाट सहयोग पाउन नसकेपछि २०६३ चैत १७ गते नेपालगन्जस्थित माइती नेपाल पुगेँ।'
गाउँकै शारदा बेगमले शान्तिलाई भारत हुँदै कुवेत पठाएको देवीलालले बताए। 'कुवेतमा गएको मात्र थाहा छ,' उनले भने, 'कुवेतको कुन ठाउँमा हो भन्ने जानकारी छैन।' विदेश पठाउने शारदा भने भारतमा छन्। दुई वर्षअघि राम्रो काम र पैसा पाइने आशामा साउदी अरब गएकी बर्दिया, सानोश्रीकै धनीसरा सुनार पनि ६ महिनादेखि सम्पर्कविहीन छन्। आफन्त खोजीका विभिन्न निकायमा भौंतारिइरहेका छन्।
'साउदी गएको बेलादेखि काम राम्रो नभएको खबर आएको थियो,' भान्जी पवित्रा सुनारले भनिन्,'विदेश पठाउने मोहम्मद अलीलाई उद्धारका लागि आग्रह गर्दागर्दै सम्पर्क हुनै छाड्यो।'
यस्तै, बर्दिया सोरहवा-२ की लक्ष्मी दमाई पनि फर्केकी छैनन्। कुवेत गएकी पत्नीको उद्धारका लागि चिनेजानेका व्यक्ति र संस्था धाउँदा धाउँदा थाकिसकेको लक्ष्मीका पति पति तेजबहादुर दमाईले बताए।
गत वर्ष भदौ १६ गते भारतीय बाटो हुँदै कुवेत पुगेकी ३२ वर्षीया लक्ष्मीले काम गर्ने ठाउँमा पुगेकै भोलिपल्टदेखि काम राम्रो नभएको भन्दै पतिलाई उद्धार गर्न आग्रह गरेकी थिइन्।
'एक पटक फोन गरेर लक्ष्मीले कुवेतमा पुगेको र दुःख पाएको खबर गरेकी थिइन्,' तेजबहादुरले भने, 'कुवेतको कुन ठाउँमा छन् भन्ने बारेमा पनि थाहा हुन सकेको छैन।'
कामको खोजीमा खाडी मुलुकमा जाने महिलाको संख्या वृद्धिसँगै त्यहाँ पुगेका नेपाली महिला हराउने क्रम पछिल्ला दिनमा बढिरहेको छ। माइती नेपालका अनुसार गत वर्षको तुलनामा यस वर्ष दोब्बर बढी महिलाको खोजतलास गरिदिन निवेदन परेको छ।
माइती नेपालमा सन् २००९ मा १ सय ५९ जना हराइरहेका महिलाका आफन्तले खोजतलासका गर्न निवेदन परेको थियो भने सन् २०१० मा २ सय ४२ जनाले त्यस्ता खालको निवेदन दिएका छन्।'ललाइफकाई खाडी पुर्याइएका महिला हराउने क्रम बढेको छ,' माइती नेपालका संयोजक केशव कोइरालाले भने,'हराउने तुलनामा भेटिने क्रम निकै कम छ।'
सन् २०१० मा २ सय ४२ महिला हराइरहेको निवेदन संकलन गरेको माइती नेपालले सोही वर्ष २१ जना मात्र भेटाउन सकेको संयोजक कोइरालाले बताए।
ती महिलाहरू कहाँ गए भन्ने बारेमा सहजै पत्ता लगाउन सकिने संयन्त्र नभएका कारण समस्या भएको कोइरालाले बताए। भारत हुँदै खाडी जाने भएका कारण खोजतलासमा झनै समस्या हुने गरेको छ। माइती नेपालका अनुसार खाडी पुगेर हराउनेमा धेरैजसो बर्दिया, सुर्खेत, बाँके र दाङका छन्। बाँकेमा सबैभन्दा बढी ३७ महिला सम्पर्कविहीन छन्।
खुला सीमाको फाइदा उठाउँदै भारत हुँदै खाडी मुलुकमा नेपाली महिला जाने क्रम बढेको चेलीबेटी बेचबिखनका विरुद्ध लागेकाहरूको भनाइ छ। तर, कति महिलाहरू यसरी बाहिर छन् भन्ने यकिन छैन। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को तथ्यांक अनुसार हरेक वर्ष १०-१२ हजार नेपाली महिला र बालबालिका कामका लागि बिदेसिन्छन्।
Source:- nagariknews


0 commentaires