दीपक दाहाल, काठमाडौं पुस १२ - नजिकैका कुनै व्यक्तिको श्वासप्रश्वास वा मुटुको चाल अचानक बन्द भए के गर्ने? तत्काल भ्यान्टिलेटर नपाइने ठाउँमा बाहिरबाट अक्सिजन दिने वा मुटु बन्द हुँदा तरिका मिलाएर छातीमा थिच्दा काम गर्न छाडेका महत्वपूर्ण अंग फेरि चल्न थाल्छन्। सामान्य मानिसले पनि यो सीप जाने कसैलाई अकाल मृत्युबाट जोगाउन सक्छ, तर, नेपालका प्राय चिकित्सकमै पनि कार्डियाक पल्मोनरी रिसाइटेसन (सिपिआर) भनिने छातीमा थिचेर गरिने प्राथमिक उपचारको यो सीप छैन।
मुटुको अनियमित अवस्थाका आधारमा ठीक ढंगले थिच्दा र फोक्सोले काम गर्न छाडे ठीक ढंगले ट्युब हालेर पुनर्जीवन दिन सकिन्छ।
३८ वर्षदेखि चिकित्साशास्त्र पढाउँदै आएको महाराजगन्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले सिपिआरको प्रयोगात्मक सीप सिकाउन थालेको छ। पाठ्यक्रममा यो विषय भए पनि प्रयोगात्मक रूपमा अधिकांश शैक्षिक संस्थामा यो सीप सिकाइँदैन।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अर्जुन कार्कीले चिकित्साशास्त्र अध्ययनका क्रममा सैद्धान्तिक ज्ञान दिइने भए पनि नेपालका प्राय चिकित्सकमा व्यावहारिक ज्ञान अभाव रहेको स्विकारे। 'पेसागत र विशेषज्ञ तालिम अवधिमा यो अत्यावश्यक सीप पनि सिकाउनुपर्छ,' डा. कार्कीले भने, 'एकपटक सिकेरमात्रै हुँदैन, दोहोर्याएर अभ्यास पनि गरिरहनुपर्छ।'
गम्भीर अवस्थाका बिरामी आउँदा विशेषज्ञ बोलाउनतिर लाग्नुभन्दा यो सीप जानेकाहरू आफैं बचाउनतिर लाग्नुपर्ने कार्की बताउँछन्।
राष्ट्रिय चिकित्साशास्त्र अध्ययन केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ नशा रोग विशेषज्ञ डा. जगदीशप्रसाद अग्रवालका अनुसार धेरै चिकित्सकहरू यो महŒवपूर्ण सीप जान्दैनन्, सर्वसाधारणको त के कुरा!
नेपालका ८० प्रतिशत चिकित्सकमा यो सीप नरहेको अग्रवाल बताउँछन्। उनका अनुसार वर्षौंदेखि अभ्यास गर्दै आएका चिकित्सकमा समेत यो सीप छैन।
प्रयोगात्मक यो सीप बिरामीमै सिकाउन भने सम्भव छैन। वरिष्ठले गरेको देखेका आधारमा त्यो अभ्यास गर्न आँट नआउने चिकित्सकहरू बताउँछन्। 'श्वासप्रश्वास क्रियाशील गर्न ट्युब कसरी जोड्ने, कुन ठाउँमा, कति थिच्दा मुटुले काम गर्नसक्छ भन्ने थाहा पाउन आफैंले अभ्यास गर्नुपर्छ,' अग्रवालले भने।
विद्युतनियन्त्रित र निर्देशित डमीको सहयोगमा विशेषज्ञ चिकित्सकले मात्रै यो सीप सिकाउन सक्छन्। मुटु र फोक्सोलाई पुनर्जीवन दिनेबाहेक जटिल अवस्थामा आवश्यक धेरै सीप चिकित्सकले डमीकै सहायताले सिक्नुपर्छ। विशेष खालका ती डमीले थोरैमात्रै तलमाथि भए साइरन बजाउँछन्।
त्रिवि शिक्षण अस्पतालले यो सीप सिकाउने पूर्वाधारसहितको ल्याब हालै विकास गरेको छ। नेपालमा १८ वटा मेडिकल कलेज छन् तर यस्ता ल्याब र सिकाउन सक्ने जनशक्ति छैनन्। चिकित्साशास्त्र अध्ययन संस्थानमा विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका क्रममा यसै वर्षदेखि सिपिआर तालिम सुरु गरिँदैछ।
विकसित देशका नर्सिङ स्टाफ र स्वास्थ्यकर्मीलाई पनि यस्तो तालिम दिइएको हुन्छ। अमेरिकामा स्कुले बच्चालाई समेत आधारभूत जीवन शिक्षा तालिममा यो सीप सिकाइन्छ।
कार्की यस्तो सीप सिक्न चिकित्सकमा व्यक्तिगत चाहना र जिम्मेवारीबोध हुनुपर्ने बताउँछन्। 'एकपटक सिकेपछि पटक-पटक पुनर्ताजगी गरिरहनुपर्छ,' कार्कीले भने, 'त्यसका लागि नीति र संरचना दुवै चाहिन्छ।'
अग्रवालको भनाइमा चिकित्सक पुग्न नसक्ने ग्रामीण तहमा काम गर्नेले यो सीप सिक्नु अझै जरुरी छ। रेडक्रसजस्ता संस्थाले स्वयंसेवकका लागि सिपिआरका केही आधारभूत विषयमात्र सिकाउने गरेको छ।
नेपालमा चिकित्साशास्त्र अध्ययनमा ज्ञानको परीक्षा भए पनि सीप परीक्षण प्रणाली नहुँदा मेडिकल कलेजको ध्यान यसतर्फ जान नसकेको विज्ञ बताउँछन्। 'सैद्धान्तिक रूपमा ज्ञान छ, तर व्यवहारमा चिकित्सकले त्यो गर्न सक्दैनन्,' अग्रवालले भने, 'सीपको परीक्षा पनि हुनुपर्छ।'
संस्थानले यहाँका विद्यार्थीबाट कार्यक्रम सुरु गरे पनि बिस्तारै अन्य मेडिकल कलेजसँग शैक्षिक सम्झौता गरेर सीप प्रदान गर्ने योजना बनाएको छ। चिकित्साक्षेत्रमा धेरैलाई यो सीप चाहिने भएकाले सबै माग संस्थानले धान्न नसक्ने हुँदा गुणस्तरीय ल्याब अन्य ठाउँमा पनि खोल्नुपर्ने अग्रवालले बताए।
आइओएमले स्थापना गरेको ल्याबलाई प्रमाणीकरण गरेर तालिमका लागि मान्यता दिइए अन्य चिकित्सकलाई निश्चित शुल्क लिएर तालिम दिन सकिने अग्रवालले बताए। 'ल्याबले मान्यता पाए पुनर्ताजगी कक्षासमेत सञ्चालन गर्न सकिन्छ,' उनले भने, 'स्वास्थ्यकर्मी र आमनागरिकलाई समेत यस्तो तालिम दिइनुपर्छ।'
source:-nagriknews



0 commentaires