प्रकाश लम्साल बारा,१३ पुस बाराको डुमरवाना गाविस- ७ टाँगियाबस्तीका बासिन्दा पिउने पानीको संकटमा परेका छन् । यहाँका करिब सय परिवारले एउटै धारामा भर पर्नु परेको छ । उपभोक्ता धेरै भएकाले पानी थाप्ने पालो नपाएर समस्यामा परेका हुन् ।
करेसाबारीमा सिँचाइ र पाल्तु जनावरका लागि समेत त्यही धाराको पानीमा भर पर्नु परेकाले झनै समस्या भएको गाउँले बताउँछन् । 'एक गाग्री पानी भर्न घन्टाँै कुनुपर्छ,' स्थानीयवासी श्याम थापाले भने, 'घन्टाँै कुरेर नबसे पालो पाइँदैन ।'
सो धाराको पानी बस्तीका सय परिवारका ६ सयभन्दा बढी उपभोक्ताले प्रयोग गर्दै आएका छन् । पानी भर्न ट्युबेलमा बिहान ४ बजेदखि राति ८ बजेसम्म भीड लाग्ने गरेको अर्का स्थानीय बासिन्दा शंकर श्रेष्ठले बताए । 'पानी थाप्न बस्दाबस्दै अधिकांश गाउँलेको समय बित्छ, खानेपानीको असुविधाले किसानको खेतबारी र अन्य कामसमेत प्रभावित भएको छ,' उनले भने ।
बस्तीमा रहेको अर्को एउटा ट्युबेलबाट पानी आउन छाडेपछि स्थानीयवासी एउटै धारामा निर्भर भएका हुन् ।
नेपाल रेडक्रसले निर्माण गरेको सो ट्युबेलबाट दुई वर्षअघिदेखि पानी आउन छाडेको छ । बस्ती उत्तरतर्फको वन फँडानी भएपछि पानीको मूल सुकेर धारामा पानी आउन छाडेको हो । वन फँडानीले पानीको सतह गहिरिएर पानी आउन छाडेको अर्का स्थानीय बासिन्दा शंकर सुन्दासले बताए । वन कार्यालयले रूख चोरी कटानी नियन्त्रण गर्न असफल बनेपछि टाँगियाबस्ती नजिकको जंगलमा केही वर्षयता वन फँडानी बढेको उनको भनाइ छ ।
करेसाबारीमा सिँचाइ र पाल्तु जनावरका लागि समेत धाराको पानीमा भर पर्नु परेको छ । बस्तीनजिक पानीको अर्को स्रोत नभएकाले किसानले धाराको पानी प्रयोग गरेर खेतबारीमा सुर्ती र करेसाबारीमा तरकारी खेती गर्दै आएका छन् ।
'अर्को विकल्प छैन, गाग्रीमा ओसारेर सिँचाइ र बस्तुभाउलाई खुवाउनुपर्छ,' स्थानीय गृहिणी देवकी लामिछानेले भनिन् । खोला निकै टाढा भएकाले चापाकलको पानी ओसारेर नहाले बाली नफल्ने उनले बताइन् ।
source:-nayapatrika



0 commentaires