राजधानी बाहिरका शक्तिपीठहरू


            

हिन्दूहरूको महान् चाड बडादसैंको सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्व छ । धार्मिक आस्थासँग जोडिएकाले नै घटस्थापनादेखि धार्मिक विधिहरू अपनाएर यो चाड मनाइन्छ । दसैंमा विभिन्न शक्तिपीठमा निश्चित विधि तथा परम्पराअनुसार शक्तिको पूजा गरिन्छ । नौ स्वरूपकी भगवतीमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी एवं सिद्धिदात्रीलाई मानिन्छ । तिनै नौ स्वरूपकी भगवतीलाई समग्रमा नवदुर्गा भनिन्छ । घटस्थापनादेखि मुलुकभरका शक्तिपीठहरूमा भक्तजनको ओइरो लाग्छ । यी पीठहरूमा पूजा गर्नुको पछाडि अनेकां धार्मिक विश्वास र किंवदन्ती जोडिएका छन् । पूजा गर्न शक्तिपीठहरूमा जाने चलन भए पनि सवै शक्तिपीठको परम्परा भने एउटै छैन ।

एकथरी मान्यताअनुसार सतीदेवीको अंग पतन भएको स्थान नै शक्तिपीठ हो । रुखको ओत भएको, मसानघाट नजिकै भएको, अष्टमातृकाको बसोबास भएको स्थानलाई शक्तिपीठ मानिनुपर्ने तर्क पनि अर्कातिर छ । त्यसैले शक्तिपीठहरूका बारेमा एउटै धारणा पाइँदैन । 

काठमाडौंमा यस्ता शक्तिपीठहरू धेरै भए पनि राजाको सवारी हुने नौ वटा मन्दिरलाई शक्तिपीठ मानिँदै आएको छ । उपत्यकाबाहिर पनि थुप्रै शक्तिपीठ छन् । यी शक्तिपीठहरूमा दसैंमा विशेष पूजा गरी बलि दिने चलन छ ।  

दन्तकालीः सुनसरी जिल्लाको धरानमा दन्तकालीको मन्दिर छ । यहाँ सतीदेवीको दाँत पतन भएको विश्वास गरिन्छ । दन्तकालीमा घटस्थापनादेखि नै विशेष पूजा-आराधना हुन्छ । यो अवसरमा स्थानीय भक्तजनहरूको ठूलो भीड लाग्छ । 

जालपादेवीः जालपादेवीको मन्दिर नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखि ८ किलोमिटर दक्षिणमा छ । त्रिशूली नदीको किनारमा रहेको जालपादेवीको मन्दिर रहेको स्थानमा सतीदेवीको तल्लो ओठ पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम कामधेनु गाईले पूजा गरेको मानिन्छ । पृथ्वीनारायण शाहको दाहसंस्कार यही मन्दिरको घाटमा गरिएकोले नेपालको इतिहासमा यसको विशेष महत्व छ । यहाँ घटस्थापनादेखि नै भक्तजनको ओइरो लाग्छ । 

छत्रेश्वरीः सल्यान जिल्लाको छायाक्षेत्रस्थित छत्रेश्वरी मन्दिरमा सतीदेवीका शेष रहेका सबै अंग पतन भएको विश्वास गरिन्छ । त्यसो त छत्रेश्वरी नेपालका सबै शक्तिपीठमध्ये बलि नचढाइने एकमात्र शक्तिपीठ हो । सबैभन्दा पहिले अष्टभैरवले पूजा गरेकाले यहाँ कुनै अवसरमा पनि बलि चढाइँदैन । पूजाकै लागि यहाँ छिमेकी जिल्लाहरूबाट पनि  भक्तजनको भीड लाग्छ ।

मनोकामनाः गोरखाको मनोकामना पनि महत्वपूर्ण देवीस्थान मानिन्छ । दसैंमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ । यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ । मनोकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । केबुलकारबाट ११ मिनेटमै मनोकामना पुग्न सकिन्छ । पैदल यात्रा गर्न रुचाउनेहरू आबुखैरेनीबाट ४ घन्टाको उकालो हिँडेर मनोकामना पुग्छन् । 

कमलाक्षीः सल्यान जिल्लाको लक्ष्मीपुरमा कमलाक्षीको मन्दिर छ । यहाँ सतीदेवीको बायाँ करङ पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम योगमार्गीहरूले पूजा-आराधना गरेका थिए । एउटा पहाडका रूपमा रहेको यो मन्दिरमा करङको आकृति देखिन्छ । 

गलेश्वरीः म्याग्दी जिल्लाको राहुघाटमा कालीगण्डकीको किनारमा छ-गलेश्वरी मन्दिर । यहाँ सतीदेवीको गला पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम पृथ्वीले पूजा-आराधना गरेको मानिन्छ । 

ज्वालपादेवीः यो मन्दिर दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकादेखि ५ किलोमिटर पश्चिम र छामगाम खोलाको किनारमा छ । यहाँ सतीदेवीको निधार पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम हनुमानले पूजा गरेको विश्वास गरिन्छ । 

बागेश्वरीः बाँके जिल्लाको नेपालगञ्जस्थित यो मन्दिर रहेको ठाउँमा सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम किन्नरहरूले पूजा-आराधना गरेका थिए । एउटा ठूलो तलाउको किनारमा रहेको यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कन्चनपुर नेपालमा गाभिएपछि मात्र पत्ता लागेको हो

देवलहाट मन्दिरः बैतडीको सदरमुकामबाट ५ सय मिटर दूरीमा रहेको देवलहाटको मन्दिर पाण्डवहरूले वनवासको अन्त्यतिर बनाउन लगाएको जनश्रुति छ । युद्धका बेला पाण्डवहरूले असत्यमाथि विजय गर्न पाऊँ भन्ने कामना गर्दै यो मन्दिर बनाएका थिए । विभिन्न समयमा चढाइएका तामाका भाँडा एवं पूराना मूर्ति यो मन्दिरका विशेषता हुन् । 

गजरा मन्दिरः दसैंमा ठूलो भीड लाग्ने गजरा मन्दिर अछाम जिल्लाको गजरामा छ । जुम्लाका तत्कालीन राजाले अछाम जित्न यही मन्दिरमा पूजाआजा गरेको कुरा इतिहासमा उल्लेख छ । कुनै महत्वपूर्ण काम गर्नुपर्‍यो भने अछामवासीहरू यो मन्दिरमा पूजा गर्छन् । 

मालिकादेवीः बाजुरा जिल्लाको १४ हजार ४ सय फिट उचाइमा मालिकादेवीको मन्दिर छ । यहाँनिकै पहिलेदेखि नै शक्तिकेन्द्रका रूपमा  पूजा गरिँदै आएको छ । 

कालिकादेवीः लमजुङको बेसीसहरबाट 

२ घन्टा उकालो चढेपछि पुगिने 

 





कालिकोदेवीको मन्दिरमा महानवमीका दिन विशेष पूजाआजा हुन्छ । यसलाई लमजुङ कालिका पनि भनिन्छ ।

सुर्मासरोवरः बझाङ जिल्लाको सदरमुकाम चैनपुरबाट तीन दिनको दूरीमा रहेको सुर्मा एउटा सानो ताल हो । यो तालमा स्नान गरे सबै पापबाट मुक्ति पाइन्छ भन्ने भनाइ छ । बझाङवासीहरू साउनको एकादशीदेखि त्रयोदशीसम्म त्यही ओडारमा बसेर स्नान गर्छन् । त्यहाँ जलदेवीको वासस्थान छ भन्ने भनाइ  छ । 

बडी मालिकास्थानः कालिकोट जिल्लास्थित बडी मालिका मन्दिर मार्तडीबाट तीन दिनको पैदलयात्रापछि पुगिन्छ । १२ हजार २ सय १९ फिट उचाइमा अवस्थित यो मन्दिरमा दसंै र चैतेदसैंमा ठूलो मेला लाग्छ । यहाँ अष्टमीमा बलि दिएर टीका भेट्न घर पुग्ने चलन छ ।

चन्दननाथः जुम्लाको खलङ्गास्थित चन्दननाथको मन्दिर जुम्लाकै प्रसिद्ध मन्दिर हो । दत्तात्रय भनिने यो मन्दिरमा पूजाआजा नगरे देशमा अनिष्ट हुन्छ भन्ने भनाइ छ । घटस्थापनाको दिन मन्दिरको लिङ्गो फेर्ने चलन छ । दसंैमा सामान्य घुइँचो लाग्ने यो मन्दिरमा तीज, शिवरात्रि तथा एकादशीमा मेला लाग्छ । 

त्रिपुरा सुन्दरीः डोल्पा जिल्लाको जुफाल एयरपोर्टबाट करिब दुई घन्टा पैदल हिँडेपछि भेरी नदी आउँछ । त्यही भेरी नदीको किनारमा प्रसिद्ध त्रिपुरासुन्दरीको मन्दिर छ । चैतेदसैं र बडादसैंमा ठूलो मेला लाग्ने यो मन्दिर डोल्पावासीको शक्तिकेन्द्र हो । यो मन्दिरमा पञ्चबलि दिने चलन छ । 

शिरस्थानः दैलेख बजारदेखि ५ किलोमिटर पश्चिममा पर्ने नाभी र छामखोलाको दोभानमा ज्वालादेवीको मन्दिर छ । स्थानीय बासिन्दाहरूले यसलाई शिरस्थानदेवी भन्छन् । नाभी र छामखोलाको दोभानमा सतीदेवीको शिर पतन भएको विश्वास गरिन्छ । यो मन्दिर २ सय वर्षअघि निर्माण भएको विश्वास गरिन्छ । सतीदेवीको अंग पतन भएकाले यहाँ दसंैमा मेला लाग्छ । 

खैरावाङः सल्यानको सदरमुकामबाट २० किलोमिटर टाढा रहेको खैरावाङ मन्दिर त्यस क्षेत्रको ठूलो शक्तिपीठ हो । ३ घन्टाको ठाडो उकालो हिँडेर पुगिने यो मन्दिरमा भुवनेश्वरी देवीको मूर्ति छ । त्यहाँ घटस्थापनादेखि पूणिर्मासम्म ठूलो मेला लाग्छ । 

देवीस्थानः बाग्लुङ बजारबाट २ किलोमिटर दक्षिणस्थित देवीस्थान मन्दिर राजा प्रतापनारायण मल्लकी रानीले पाल्पाबाट मूर्ति ल्याएर स्थापना गरेकी हुन् । यो मन्दिर शक्तिको प्रतीक भए पनि दसंैमा भन्दा चैते अष्टमीका दिन यहाँ बढी भक्तजन आउँछन् ।

माईपोखरीः इलामको उत्तरी क्षेत्रमा छ-माईपोखरी । यसको नवरात्रसँग नजिकको सम्बन्ध छ । नवरात्रमा नौकुने पोखरीका नौवटै कुनामा दुर्गाको नौस्वरूपका रूपमा पूजा गरिन्छ । जसअन्तर्गत यहाँ दुर्गा भवानीको पूजा गरिन्छ । हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म माईपोखरीका नौवटै कुनामा मण्डप बनाई ब्राह्मणहरूद्वारा सप्तशती पाठ गरिन्छ । 

अर्घाकोटः अर्घाखाँचीको नरपानीबाट १६ किलोमिटर उत्तरमा भगवतीको एउटा मन्दिर छ । यो मन्दिर त्यस क्षेत्रको प्रसिद्ध मन्दिर हो । यो मन्दिरमा रामनवमी, कृष्णाष्टमी, तिहार, भाद्रकृष्णाष्टमी तथा शिवरात्रिमा मेला लाग्छ । दसंैमा यहाँ पशु बलि दिने चलन छ । 

त्रिवेणीः त्रिवेणी मन्दिर नवलपरासीको पञ्च, तमासा तथा नारायणी नदीको संगममा छ । माघे संक्रान्तिमा यहाँ विशेष मेला लाग्छ । बडादसैंको अष्टमीमा यहाँ नुहाइएन भने अर्को जन्ममा बोको भएर जन्म लिनुपर्छ भन्ने परम्परागत मान्यता रहेका कारण दसंैमा यहाँ नुहाउन आउनेहरूको भीड लाग्छ । 

कन्काई माईः झापाको प्रसिद्ध मन्दिर हो-कन्काई माई । यो मन्दिर सदरमुकाम चन्द्रगढीदेखि २८ किलोमिटर उत्तर-पश्चिम दिशामा छ । पूर्वाञ्चलका भक्तजनहरूले यो मन्दिरमा माघे संक्रान्ति तथा बडादसंैका दिन माई नदीमा नुहाएर दर्शन गर्छन् ।

स्वर्गद्वारीः प्यूठानको खलङ्गाबाट २६ किलोमिटर पश्चिममा छ-स्वर्गद्वारी मन्दिर । नेपालका प्राचीन मन्दिरहरूमध्ये एक मानिन्छ-यो मन्दिरलाई । यहाँ परापूर्व कालमा ऋषिहरू बसेर तपस्या गर्थे । 

पैक मन्दिरः जाजरकोटको खलङ्गाबाट ४८ किलोमिटर उत्तरमा रहेको बिजुलीडाँडामा एउटा मन्दिर छ । मस्टो मन्दिर भनेर चिनिने उक्त मन्दिर वरपर प्रशस्त त्रिशूल एवं घण्टहरू छन् । मन्दिरमा धामी बस्ने चलन पनि छ । 

छाब्दी बाराहीः तनहुँको दमौलीबाट ५ किलोमिटर टाढा छाब्दी बाराहीको मन्दिर छ । यो मन्दिरमा हाँस, परेवा एवं राँगाको बलि दिइन्छ ।

तौथलीमाईः सिन्धुपाल्चोकस्थित तौथलीमाईमा भाद्रपूणिर्मा र दसैंको टीकाका दिन भव्य मेला लाग्छ । यो मन्दिर चौताराबाट २२ किलोमिटर पूर्वमा पर्छ । 

विन्दवासिनी भगवतीः यो मन्दिर पर्साको वीरगन्जबाट १० किलोमिटरको उत्तर-पश्चिममा छ । यो मन्दिरलाई रणबहादुर शाहले स्थापना गरेका हुन् । यहाँ काटमार बढी हुन्छ । 

पलाञ्चोक भगवतीः पलाञ्चोक भगवतीको मन्दिर काभ्रे जिल्लामा छ । काभ्रेको पाँचखालबाट ७ किलोमिटर पूर्वस्थित यो मन्दिर राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन् । 

मैदीः यो मन्दिर धादिङ जिल्लामा छ । धादिङको बुङचुङबाट २ घन्टाको पैदल यात्राबाट पुगिने यो मन्दिर प्राचीनकालदेखि नै प्रसिद्ध छ । पृथ्वीनारायण शाहको व्रतबन्ध यही मन्दिरमा भएको थियो । 

त्रिवेणीः यो मन्दिर उदयपुरको कटारी बजारबाट ६ किलोमिटर पश्चिममा ककरु, तावा तथा कमला नदीको संगममा छ । यहाँ माघे संक्रान्तिका दिन मेला लाग्छ । त्रिवेणीमा दसंैको अष्टमीमा नुहाउने चलन छ । 

कोडकडेनीः ओखलढुंगा जिल्लाको सदरमुकाम ओखलढुंगादेखि ८ किलोमिटर पूर्वमा छ-कोडकडेनी मन्दिर । यो मन्दिर पृथ्वीनारायण शाहका फौजी रामकृष्ण कुँवरले निर्माण गर्न लगाइएको मानिन्छ । आफ्नो पूर्व विजय अभियानअन्तर्गत यही मन्दिरमा देवीको उपासना गरी उनी विजययात्रामा निस्किएका थिए । 

छिन्ताङः धनकुटा जिल्लाकै प्रसिद्ध देवस्थल हो-छिन्ताङ । यो मन्दिर धनकुटा बजारबाट १६ किलोमिटर पश्चिममा छ । यो मन्दिरलाई जालपादेवीको मन्दिर पनि भनिन्छ । यहाँ दसंैमा भव्य मेला लाग्छ ।

कालिकास्थानः विराटनगरस्थित कालिकास्थानमा दसैंमा विशेष चहलपहल देखिन्छ । यो दसैंमा पूजा हुने महत्वपूर्ण मन्दिर हो । यहाँ नवरात्रभरि भीड लाग्छ । 

पाथीभराः ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यहाँ सुकेटार एयरपोर्टबाट २ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि मेला लाग्छ । 

छिन्नमस्ता भगवतीः सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्रमा पर्ने छिन्नमस्ता भगवतीको मन्दिरमा वर्षैभरि बलि दिइन्छ । यहाँ दसैंमा विशेष भीड लाग्छ । छिन्नमस्ता भगवतीप्रति नेपाल-भारतका जनताको ठूलो आस्था छ ।

 िशव मुखिया
Source : नारी 
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login