होमराज आचार्य १७ वर्षको अमेरिका बसाइलाई विश्राम लगाएर देश फर्किएका छन् । अमेरिकाको राजधानी वासिंगटन डिसी सरकारको डिपार्टमेन्टल एजुकेसन (शिक्षा) नीतिगत सल्लाहकार भैसकेका उनले अमेरिकाको गि्रनकार्ड र सुविधा अमेरिकामै छाडिदिएका छन् भने अमेरिकी श्रीमती र त्यहीँ जन्मिएका बच्चा साथमा नेपाल लगेका छन् । नेपालमा उनी अहिले शिक्षा मन्त्रालय धाइरहेका छन्, आफ्ना योजनाहरु बोकेर । नेपालमा होमराजको थातथलो कपिलबस्तु जिल्ला हो । अब नेपाल नै बस्ने भएपछि उपत्यकाभित्रै घर किन्ने सुरमा छन् उनी ।
० नेपाल किन फर्किनुभयो ?
- म भन्छु, मान्छे बाहिर (विदेश) जाऊन् । बाहिर गएर धन, सीप, ज्ञान जे-जे बटुल्नु छ, बटुलून् । तर, अन्ततः हामीले आˆनै देशलाई जबसम्म बलियो बनाउन सक्दैनौं, तबसम्म एक्लैले जतिसुकै राम्रो गरे पनि विश्वसमुदायले हामीलाई हेर्ने आजको जुन दृष्टिकोण छ, त्यो भोलि पनि रहिरहन्छ ।० तपाईं अमेरिका जाँदाको सन्दर्भ र परिवेश के थियो ?
- छात्रवृत्ति पाएपछि युनिभर्सिटी अफ कोलोराडो, बुबोल्डरमा पढ्न गएँ । जानुअघि तारानाथ शर्माको पाताल भन्ने ठाउँ देख्ने भइयो भन्ने उमंग थियो । तर, त्यहाँ गरिब पनि रहेछन्, धनी पनि रहेछन् । बेरोजगारीका समस्या अमेरिकामा पनि रहेछ ।
० मान्छे किन पैसा खर्च गरेर अमेरिका पुग्छन् ?
- सुनेको छु कि, १५ लाखदेखि २० लाखसम्म खर्च गरेर नेपाली अमेरिका जान्छन् । अमेरिका गएर पनि त्यो पैसा कमाउन धेरै समय लाग्छ । कत्तिले त त्यति कमाउनै सक्दैनन् । पढ्ने विद्यार्थीले राम्रोसँग पढ्यो भने भोलि देशलाई केही गर्न सक्छन् । होइन, अमेरिका गएर उतै लुक्ने, बस्ने, कमाउने भन्ने हो भने कमाउन त कमाउलान्, तर त्यही पैसा यहीँ खर्च गरेर अवसर सिर्जना गर्ने हो भने नेपाल नै अमेरिका छ । मान्छेलाई नजाऊ पनि भन्न मिल्दैन । जानेहरू पनि सबै कुरा नबुझी लहडमा गइदिन्छन् ।
० शिक्षा लिने उद्देश्यले अमेरिका पुग्नेहरको स्थिति कस्तो छ ?
- पैसा बोकेरमात्र अमेरिकामा सबै कुरा सम्भव हुँदैन । फेरि यहाँबाट जानेहरूले कत्ति नै पैसा लान्छन् र ? विद्यार्थीसँग दुई-चार महिना यहीँबाट लगेको पैसा हुन्छ । घुम्छन्, रमाउँछन् र पैसा सिध्याउँछन् । पैसा सकिन थालेपछि काम गर्नुपर्छ । अमेरिकामा यहाँजस्तो क्लासमा गए पनि नगए पनि हुँदैन । क्लासमा नगएपछि नम्बर काटिन्छ । कतिपय विद्यार्थीले पढाइमा दिनुपर्ने ध्यान अन्यत्र दिन्छन् । मैले यस्तो धेरैमा देखेको छु । राम्रो युनिभर्सिर्टीमा वर्षको ३०-४० हजार डलर लाग्छ । व्याचलर गर्नका लागि जानेको १ लाख २० हजार डलर खर्च हुन्छ । नेपाली एक करोडजति हुन्छ । जसले मिहिनेत गरेर पढ्छ, त्यस्ता धेरैले भविष्य बनाएका छन् । तर, आˆनो मात्र भविष्य बनाएर भएन, आˆनो देशप्रति पनि केही गर्न सक्नुपर्छ ।
० अमेरिका तपाईंले के-कस्तो दुःख खेप्नुभयो ?
- छात्रवृत्ति पाएर गएकाले अरू सामान्य नेपाली विद्यार्थीले जस्तो मैले धेरै दुःख खेप्नुपरेन । युनिभर्सिटीमा चाहिँ अमेरिकी विद्यार्थीभन्दा धेरै मिहिनेत गर्नुपर्यो । पहिलो सेमिस्टरको पहिलो परीक्षा भयो । अंग्रेजी गद्यको परीक्षा थियो, त्यो । मैले ७९ नम्बर ल्याएँ । मलाई खुसी लाग्यो, नेपालको हिसाबले त त्यो नम्बर ल्याउनै हम्मे पर्छ । यहाँ त झन्डै डिस्टिङसनकै नम्बर भयो । तर, मलाई प्रोफेसरले भनिन्, ‘यो त राम्रो नम्बर होइन, सी डिभिजन, अर्थात् थर्ड पोजिसन भयो ।’ यसपछि मैले प्रोफेसरहरूसँग सल्लाह गरेँ । हाम्रो यहाँको जुन अनुशासन हो, टुप्पी बाँधेर पढ्नुपर्छ भन्ने, त्यस्तै हालत भयो । टुप्पी नै त बाँधिन, तर चार घन्टा सुतेर रात-दिन पढ्न मात्र थालेँ । दोस्रो सेमेस्टरमा त्यही विषयमा ९८ नम्बर ल्याएँ ।
० विद्यार्थीकालमा तपाइले चाहिँ काम गर्नुभएन ?
- पढ्ने बेला काम गरेको भए, त्यो नम्बर मैले कहाँबाट ल्याउनु ? कलेजमा लाइब्रेरीको सर्कुलेसन डिपार्टमेन्टमा २० घन्टा काम गर्न दिन्छ । त्यो चाहिँ गरेँ ।
० वासिंगटन डिसी सरकारको विभागीय शिक्षाको नीतिगत सल्लाहकार कसरी हुनुभयो ?
- त्यहाँका मेयरले भने, डिसीमा आर्थिक उन्नति त भयो, तर त्यसबाट त्यहाँका स्थानीय जनताले फाइदा लिन सकेनन् । यसको कारण हो, त्यहाँका जनता साक्षर भएनन् । स्थानीय जनतालाई सवल बनाउन के गर्ने ? यसका लागि मैले अप्लाई गरेँ । अनि, लिडरका रूपमा पनि छानिएँ । कुन-कुन ठाउँ, कुन-क्षेत्रमा कस्तो शिक्षा दिँदा स्थानीय जनता साक्षर हुन्छन् भन्नेतिर लागेँ । एक वर्षमा गर्नुपर्ने भनेको काम मैले ६ महिनामै भ्याएँ । उनीहरूले मलाई अप्ठ्यारो ठाउँमा पठाएका थिए । त्यहाँ मैले उदाहरणीय काम गरेँ । त्यसपछि उनीहरूले नै भने, ‘तपाईंको नीतिगत क्षेत्रमा राम्रो दखल रहेछ, सरकारी सेवामा आउनुभयो भने राम्रो हुन्छ ।’ केही समयपछि भ्याकेन्सी निस्कियो । म छनोटमा परेँ । तीनचोटि बढुवा भएँ । एउटा ग्रेडमा १० वटा तह हुन्छ ।
० अमेरिकामा पनि साक्षरताको समस्या ?
- हाम्रोमा ‘क, ख, ग’ जान्नेलाई साक्षरता भनिएजस्तो अमेरिकाको साक्षरता होइन, साक्षरताको परिभाषा अमेरिकामा फरक छ । त्यस्तो साक्षरता त त्यहाँ ९९ प्रतिशत छ । उनीहरूको साक्षरताको मतलव सक्षम हुनुपर्यो, जागिरमा जान सक्नुपर्यो, पढ्ने र विश्लेषण गर्ने हुनुपर्यो । वासिंगटन डिसीमा हामीले काम गर्दा मात्रै ३७ प्रतिशत जनता साक्षर थिएनन् । स्कुल गयो, प्रमाणपत्र ल्यायो, तर गर्न केही पनि सकेको छैन । त्यसलाई त्यहाँ साक्षर मानिन्न । अमेरिकाको रमाइलो पक्ष के हो भने, उनीहरू जहिले पनि भविष्यलाई सोच्ने गर्छन् । २० वर्षपछि हामीले अरू देशसँग कस्तो प्रतिस्पर्धा गर्नुपर्छ भन्ने कुराका आधारमा शिक्षा-नीति तय हुन्छ ।
(पत्रकार विश्वमणि सुवेदीको सहयोगमा)
Source :onlinekhabar


0 commentaires