काठमाडौं, कात्तिक १४ - सुटिङको पूर्वसन्ध्यामा फिल्म 'फेसबुक'का निर्माता र निर्देशक भारतको वैष्णोदेवी मन्दिर पुगेका छन्। फिल्मका निर्माता सुनीलकुमार थापा र निर्देशक सुरज सुब्बा नाल्बोका साथ अभिनेता दिलिप रायमाझी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन्। 'फिल्म हिट होस् भनेर प्रार्थना गर्न जानुभएको हो?' नागरिकको जिज्ञासामा अभिनेत्री थापाले भनिन्, 'भगवानमा आस्था त छ। तर, पूजा गरेरै फिल्म हिट हुन्छ भन्ने विश्वास पनि बोकेका छैनौं। राम्रो फिल्म बनाउन सकियो भने पक्कै हिट हुन्छ।' गत वर्ष झरना र उनका पति सुनील वैष्णोदेवीको मन्दिर गएका थिए। फिल्म सुटिङअघि निर्माता र निर्देशकको धार्मिक यात्रालाई उनले संयोगको रूपमा मात्र चर्चा गरिन्। 'फेसबुक'कर्मीको साथमा दिलिपको सहभागितासँग भने पुरानो प्रसंग गाँसिएको छ। 'वैष्णोदेवीको चर्चा गर्दै जानका लागि हामीलाई उक्साउने मान्छे दिलिपजी नै हो। उहाँकै कारण पोहोर हामी जान तयार भएका थियौं। पछि उहाँलाई मिलेन, हामी मात्र गयौं। यसपटक दिलिपजीलाई पनि फुर्सद मिलेकोले यो यात्राको योजना बनेको हो,' व्यस्तताका कारण आफू नगएको बताउँदै झरनाले यात्राको रहस्य खुलाइन्। मंसिर २ बाट सुटिङ गरिने बताइएको यो फिल्ममा निर्मात्री झरनाका साथ राजेश हमाल र संयम पुरीको अभिनय रहने छ। नेपाली समाजमा फेसबुक संस्कृतिले निम्त्याएको विभिन्न पाटोलाई फिल्मले छुने निर्देशक सुब्बाले जनाएका छन्। झरनाको होम प्रोडक्सनले दयाराम दाहालको निर्देशनमा बनाउने तयारी गरेको फिल्म 'साथी बिना'को काम भने स्थगित गरेको छ। 'यो अलिक चर्चामा रहेको विषय हो। त्यसैले पहिला यसैको निर्माण थालेका हौं,' झरनाले 'फेसबुक' बारे भनिन्।
source:-नागरिक









0 commentaires