९ कात्तिक, काठमाडौँ । हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज परम्पराअनुसार घरघरमा धनधान्यदेवी लक्ष्मीको पूजा गरिँदैछ । आज साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ । दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आर्थिक संकट नपर्ने जनविश्वास रहिआएको छ । लक्ष्मी पूजा सकेपछि घरघरमा हर्षोल्लासपूवर्क भैलो खेल्ने परम्परा छ । तर, पछिल्लो समय सद्भाव अभिवृद्धि गर्न खेलिने भैलोलाई विभिन्न संघसंस्था र राजनीतिक दलहरुले पैसा सङ्कलन गर्ने अवसरका रुपमा उपयोग गर्दै आएका छन् । यसअघि यम पञ्चकको दोस्रो दिन हिजो बिहान काग र अपराहृन कुकुरको पूजा गरी कागतिहार र कुकरतिहार मनाइएको थियो । कात्तिक कृष्णपक्ष त्रयोदशीदेखि शुक्लपक्ष द्वितीयासम्म पाँच दिनसम्म मनाइने भएकाले तिहारलाई यमपञ्चक पनि भन्ने गरिन्छ । यमपञ्चकको पहिलो दिन काग पूजा, दोस्रो दिन कुकुर, तेस्रो दिन लक्ष्मी र चौथौ दिन गोवर्द्धन पूजा गरिन्छ । पाँचौ दिन दिदीबहिनीहरुले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु तथा अटल सौभाग्यको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिएपछि तिहार सकिन्छ । यस वर्षको तिहारको टीकाको शुभसाईत बिहान ११ बजेर ५५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निणर्ायक समितिले जनाएको छ । यम पञ्चक भर यमलोकका राजा यमराज आफ्ना दैनिक कामकाज छोडी पाँच दिनसम्म बहिनी यमुनाका घरमा पाहुना लग्न आउने जनविश्वास रहिआएको छ ।
source:-onlinekhabar