आज गाईजात्रा मनाइँदै


काठमाडौँ, साउन २९- दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्माको शान्तिका लागि आज गाईजात्रा पर्व मनाइँदैछ। गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने प्रचलन अनुरूप सो पर्व मनाउने परम्परा छ। यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मर्त्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतात्माले यमलोक प्रवेश पाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख छ। गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।  काठमाडौँ उपत्यकाका तीनै सहरमा मनाइने परम्परागत साँस्कृतिक उत्सव 'गाईजात्रा' आज भाद्र कृष्ण प्रतिपदादेखि आठदिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ।  आजका दिन दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ।  पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले "जनतालाई आ-आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू" भनी आज्ञा दिएकामा त्यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास छ।  यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अझै पनि जारी छ।  भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीत पनि गाइने चलन छ।   जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धानचामलको नमुना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय छन्। भक्तपुरमा गाईजात्राका दिन धार्मिक परम्परा अनुसार भैरवको परालबाट निर्मित गाई (रथ) नगर परिक्रमा गराउने प्रचलन रहिआएको छ।  गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशन गर्ने गरिन्छ।  गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशूलीबजार, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरामा पनि मनाइन्छ। रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login