प्रधानमन्त्रीका दुई उम्मेदवार तय

काठमाडौ, श्रावण ३२ - भावी सरकारको नेतृत्वका लागि माओवादी र कांग्रेसले दावी गरेको छ । नेतृत्वको दौडबाट एमालेले आफूलाई अलग राखेको छ । सहमतीय सरकारका लागि माओवादीले बाबुराम भट्टराई र कांग्रेसले शेरबहादुर देउवाको नाम अगाडि ल्याएको छ ।   माओवादीले उपाध्यक्ष भट्टराईको नेतृत्वमा सहमतीय सरकार बन्न नसके बहुमतीय प्रधानमन्त्रीको उम्मेदवार पनि उनैलाई बनाउने निर्णय गरेको छ । साथै राष्ट्रपतिले दिएको समयसीमाभित्र दलहरूसँग छलफल गरी पार्टीले सहमतिको पहल गर्ने भएको छ । सहमतिको सरकार बन्न नसके अर्को उम्मेदवार बनाउँदा जटिल हुने भन्दै बहुमतीयको उम्मेदवार पनि भट्टराईलाई नै बनाउने निर्णय माओवादीले लिएको हो । पार्टी सचिव सीपी गजुरेलले भट्टराईको नेतृत्वमा सहमतीय सरकार बनाउने अधिकतम प्रयास गर्ने र त्यसो नभए उनलाई नै बहुमतीय सरकारको उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए ।   'बाबुरामजीको नेतृत्वमा सहमतिको सरकार बनाउन सक्रियतापूर्वक पहल गर्ने निर्णय भएको छ,' पदाधिकारी बैठकपछि उनले भने, 'यदि सहमतिको सरकार हुन सकेन भने बहुमतीय सरकारको उम्मेदवार पनि उहाँ नै हुनुहुनेछ ।' उनले सहमतिको सरकार बनाउने पहल मंगलबारदेखि नै तीव्र पारिने बताए ।  पछिल्लो केन्द्रीय समिति बैठकले सहमतीय सरकारको उम्मेदवार भट्टराईलाई बनाउने निर्णय गरे पनि बहुमतीयको अर्को उम्मेदवार बनाउँदा जटिल हुने भन्दै भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । स्रोतअनुसार उपाध्यक्ष मोहन वैद्यले बहुमतीय प्रधानमन्त्रीको उम्मेदवार पनि भट्टराई हुनुपर्ने प्रस्ताव गरेका थिए । यसअघि भट्टराईले आफू बहुमतीय सरकारको उम्मेदवार नहुने बताएका थिए ।  अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय पदाधिकारी बैठकअघि मंगलबार बिहान प्रमुख दैनिकका संवाददाताहरूसँग कुरा गर्दै भट्टराईकै नेतृत्वमा सहमतीय सरकार बन्ने उल्लेख गर्दै आधारसमेत प्रस्तुत गरे । 'हाम्रो केन्द्रीय समितिले बाबुरामजीकै नेतृत्वमा सहमतिको सरकार बनाउनुपर्छ भन्ने निर्णय एकमतले गरेको छ । जहाँसम्म मैले मद्दत गर्दिन कि भन्ने आशंका छ, त्यो विल्कुल गलत छ ।'  मैले अढाई वर्षअघि प्रधानमन्त्रीबाट राजीनामा दिँदा पनि सरकारको नेतृत्व लिनुपर्छ, आफू तयार हुनुहोस् भनेकै हुँ । त्यो सबैलाई थाहा छ,' दाहालले भने, 'शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउनुपर्छ भन्नेमा पनि बाबुरामजी र मेरो धारणा निकट छ । मैले नै तपाईं जानुपर्छ भनेको अवस्थामा बाबुरामजीको नेतृत्वमा सहमतिको सरकार बनाउन चाहँदैन भन्नु पूरै गलत हो । हामीभित्र कुनै मतभेद छैन । पार्टीभित्र छलफल बहस गरेका सबै एक ठाउँमा आएकाले बाबुरामजीको नेतृत्वमा सरकार बन्छ ।'  उनले कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँग लडाकु समायोजनबारे करिब सहमति भइसकेको दाबी गरे । 'कांग्रेस सभापति सुशील कोइला र एमालेका अध्यक्ष झलनाथ खनालसँग संख्यामा आठ हजारको वरिपरि गर्ने, मोडालिटी महानिर्देशनालय र पुनःस्थापनमा गोल्डेन ह्यान्डसेकको रकममा सहमतिको नजिक छौं,' उनले भने, 'जनमुक्ति सेनाको पद मिलानको कुरामा पनि हामी सहमति नजिक छांै । केही कमान्डरहरू राजनीतिमा आउन सक्नुहुन्छ । पद मिलानमा ठूलो समस्या हुँदैन । समायोजन मापदण्ड (नम्स) को कुरामा सबैले शारीरिक मापदण्ड पूरा गर्ने र उमेर विवाह, शिक्षाजस्ता कुरामा समायोजन मापदण्ड बनाउने सहमति भइसक्या छ ।'  शान्ति प्रक्रियामा करिब सहमति भइसकेको उल्लेख गर्दै दाहालले माओवादीको नेतृत्व कांग्रेसले स्वीकार्ने बताए । 'मैले बुझेसम्म माओवादीको नेतृत्व अस्वीकार गर्ने भन्ने लाग्दैन । शान्ति प्रक्रिया के होला भन्ने उहाँहरूका आफ्नै खालका चिन्ता छन् । त्यति मात्रै हो,' उनले भने, 'माओवादीको नेतृत्वमा सहमतिको सरकार पहिलो हुन्छ । त्यसपछि कांग्रेसलगायत अन्य पार्टीले चक्रीय प्रणालीतिर जाँदा सहमति नहुने देखेको छैन ।' उनले संविधान निर्माणका विषयमा पनि दलहरू सहमति नजिक पुगेको तर्क प्रस्तुत गरे । 'शासकीय स्वरूप र निर्वाचन प्रणालीमा हामी सहमति नजिक छौं,' उनले भने, 'राज्य पुनसर्ंरचनाको विषय जटिल भए पनि गम्भीर ढंगले छलफल गर्दै जाँदा एउटा बिन्दुमा संघीयतालाई कायम राखेर जान सक्छौं । प्रदेशको विवादलाई एक ठाउँमा ल्याउन सम्भव छ ।' उनले तीन वर्ष कुर्सीको दौड भएकाले अब त्यस्तो नहुने जनाए ।  उनले राष्ट्रपतिले दिएको समयसीमाभित्र सहमतिको सरकार बन्ने विश्वास व्यक्त गरे । उनले भने, 'अहिले सहमति भएन भने यो शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाको सहमति नजिक पुगेको स्थानबाट दुर्घटनामा जाने खतरा हुन्छ । त्यसकारण पनि सहमतिको सरकार बन्छ ।' माओवादी शान्ति प्रक्रियामा आएदेखि निरन्तर लागेको नेताका हैसियतले उनले फेरि पनि आफूले शान्ति र संविधानका लागि त्याग गर्ने जनाए । '१२ बुँदे समझदारी बनाउन नेतृत्वको हैसियतले या विस्तृत शान्ति सम्झौता गर्दा गिरिजाप्रसाद कोइरालासँग हस्ताक्षर गर्ने जीवित व्यक्तिको हैसियत या पार्टी अध्यक्ष भएको नाताले मैले शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउनैपर्छ,' उनले भने ।  बहुमतीयमा पौडेल नै  कुलचन्द्र न्यौपाने  काठमाडौं- कांग्रेसले राष्ट्रिय सहमतीय सरकारको प्रधानमन्त्रीका लागि वरिष्ठ नेता शेरबहादुर देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सहमतीय सरकारमा देउवालाई अघि सारेपछि संसदीय दलका नेता रामचन्द्र पौडेललाई हटाउन मंगलबार दर्ता गर्ने योजनामा रहेको अविश्वासको प्रस्ताव फिर्ता भएको थियो ।  दलको नेता कायमै राखी देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने देउवा पक्षको मागमा सहमति जनाउन पौडेल तयार नदेखिएपछि सभापति सुशील कोइरालाले सहमतीय सरकारको नेतृत्वमा देउवालाई अघि बढाउने मध्यमार्गी उपाय निकालेका हुन् ।   कोइराला, देउवा, पौडेल, पार्टीका महामन्त्री र केही सदस्यहरूबीच बिहान भएको लामो छलफलमा देउवा र त्यसपछिको प्रक्रियामा पौडेललाई अघि बढाउने समझदारी बनेको हो । समझदारीलाई बुधबार बस्ने केन्द्रीय समिति बैठकले औपचारिकता दिने भएको छ ।  तर दुवै पक्ष्ाले समझदारीलाई लिएर अलग-अलग व्याख्या गर्न थालेका छन् । संस्थापन पक्षका नेताहरूले सहमतीय सरकारमा पनि राष्ट्रपतिले दिएको भदौ ४ गतेसम्मको अवधिका लागि मात्रै देउवा र बहुमतीयमा पौडेल उम्मेदवार बन्ने सहमति भएको दाबी गरेका छन् भने देउवा पक्षले बहुमतीयबारे कुनै निर्णय नै नभएको बताएको छ । 'सहमतीय सरकार बन्दा देउवा हुने, बहुमतीय र त्यसपछिका अन्य प्रक्रियामा पौडेल उम्मेदवार रहने समझदारी भएको हो,' कांग्रेस महामन्त्री प्रकाशमान सिंहले भने, 'कांग्रेसले सरकारको दुवै प्रक्रियामा दाबा गरे पनि सहमतीय सरकार नै बन्नुपर्छ भन्नेमा जोड दिएको छ ।'  देउवा पक्षका नेता विमलेन्द्र निधिले मंगलबार बिहान नेताहरूबीच भएको समझदारीलाई बुधबार बस्ने केन्द्रीय समिति बैठकले औपचारिकता दिने बताउँदै सहमतीय सरकारको नेतृत्वका लागि देउवा उम्मेदवार हुने जनाए । 'कांग्रेसले सहमतिको सरकार बनाउन पहल गर्नेछ, त्यसका लागि देउवा प्रधानमन्त्रीका उम्मेदवार हुने पार्टीमा सहमति भएको छ,' निधिले भने, 'त्यही सहमतिको आधारमा अविश्वास प्रस्ताव रोकिएको हो ।' निधिले बहुमतीय सरकारको नेतृत्व कसले लिने भन्नेमा भने केही बोल्न चाहेनन् । 'सहमतिको कुरा मात्रै भएको छ,' उनले भने ।  निधिले सहमतीय सरकारका लागि उम्मेदवार तय भइसकेकाले अब अन्य दलसँग वार्ता सुरु हुने बताए ।  वार्तामा सहभागी महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीले सहमतीय सरकारका लागि मात्रै जोड दिएको उल्लेख गर्दै देउवा उम्मेदवार रहेको बताए । 'विगतका तीन बहुमतीय सरकार हामीले भोगिसक्यौं, तीन वर्ष तीन महिना व्यर्थ बित्यो, त्यसैले कांग्रेसले सहमतिको सरकारको दाबी गर्ने र देउवालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय लिएको हो,' केसीले भने । उनले बहुमतीय सरकारबारे केन्द्रीय समितिबाट स्पष्ट हुने बताए ।  अघिल्लो दिनको विभिन्न चरणका वार्तामा समेत सहमति नजुटेपछि देउवाले मंगलबार अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका थिए । त्यसका लागि उनले आफू पक्षीय सभासदहरूलाई दस बजे संसदीय दलमा उपस्थित हुन निर्देशन दिएका थिए । देउवा स्वयं अविश्वासको प्रस्ताव दर्ता गर्ने साइत जुराएर निस्कन लागेका बेला कोइरालाले फोन गरेर वार्ताका लागि निवास बोलाएका थिए ।  त्यसअघि महामन्त्री सिंह, सिटौला, केन्द्रीय सदस्य केसी, खुमबहादुर खड्का, रामशरण महतलगायत नेताले अविश्वास प्रस्ताव रोक्न सहमतिको उपाय खोज्न आग्रह गरेका थिए । वार्ता चलिरहेका बेला संसदीय दलमा सभासद जीवनप्रेम श्रेष्ठ भने सदस्य सचिव खोज्दै प्रस्ताव दर्ताको तयारी गरिरहेका थिए ।  झन्डै दुई घन्टा लामो छलफलमा समेत देउवा र पौडेलको आ-आफ्नो अडान कायम रहेपछि सभापतिले बीचको बाटो अपनाएर सहमति जुटाएका थिए । सभापति कोइरालालाई युवा नेता गगन थापा, एनपी सावद, शंकर भण्डारी, जगदीश्वरनरसिंह केसी, धनराज गुरुङ, मीन विश्वकर्माले सहमतीय सरकारका लागि देउवा र बहुमतीय निम्ति पौडेललाई अघि सार्ने मध्यमार्गी बाटो सुझाएका थिए ।  अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीका साथ उपस्थितमध्येका केही सभासदले सहमतिप्रति असन्तुष्टि जनाएका थिए । सहमतिपछि महाराजगन्जस्थित कोइराला निवासबाट सीधै संसदीय दल पुगेका नेता देउवासँग सहमतिप्रति असन्तुष्टि राख्दै उनीहरूले अविश्वास प्रस्ताव दर्ता गर्नुपर्नेमा जोड दिएका थिए । नेताहरूबीचको सहमति जानकारी गराउन महामन्त्री सिटौला र केन्द्रीय सदस्य केसी पनि दलमा पुगेका थिए । देउवाले संवाददाताहरूसँग सहमतिबारे केही बताउन चाहेनन् । 



source;-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login