१४ सहरमा 'हाइ अलर्ट'- काठमाडौँ, असार २९ - भारतको आर्थिक नगरी मुम्बईका विभिन्न ठाउँमा आज साँझ केही मिनेटको अन्तरालमा तीन बम विस्फोट भएको छ। विस्फोटबाट १७ जनाको मृत्यु भएको र सय जना घाइते भएको मुख्यमन्त्रीले पुष्टि गरेको टेलिभिजन च्यानलहरुले जनाएका छन्। भारतीय सरकारले यो आतंकवादी आक्रमण भएको पुष्टि गरेको छ। प्रहरीले भने विस्फोटको स्तर र प्रकृतिबारे स्पष्ट बताइसकेको छैन। पहिलो विस्फोट दक्षिणी मुम्बईको जाभेरी बजारमा भएको थियो। यहाँ गहनाका पसलहरु छन्। दोस्रो विस्फोट मध्य मुम्बईको दादर क्षेत्रमा रहेको ट्याक्सीमा भएको बताइएको छ। तेस्रो विस्फोट भने दक्षिणी मुम्बईको चार्नी रोडस्थित अपेरा हाउसमा साँझ सात बजेपछि भएको हो। विस्फोट भएका तीनै स्थान व्यस्त व्यवसायिक र मानिसहरु बस्ने क्षेत्र हुन्। विस्फोट साँझको व्यस्त समयमा भएको छ। अधिकांश हताहती जाभेरी बजारमा भएको विस्फोटबाट भएको छ। जाभेरी बजार सहरको प्रहरी मुख्यालय नजिकै रहेको छ र यसअघि सन् १९९३ र २००२ मा पनि आतंकवादीहरुले बम विस्फोट गराइसकेका छन्। घटना लगत्तै भारत सरकारले देशका १४ सहरमा हाइ अलर्ट घोषणा गरी सुरक्षा व्यवस्था कडा पारेको छ। (एजेन्सीहरु)
source:- नागरिक