२१ वर्षे प्रेमी क्लार्कलाई पठाएको पत्र ५३ वर्षपछि प्रेमी ७४ वर्ष भएपछि पुग्यो प्रेमिकाले पठाएको चिट्ठी पढ्न सबैलाई आतुर हुन्छ । तर, अमेरिकाका एक प्रेमजोडीको प्रेमपत्र ५३ वर्षपछि मात्र आइपुगेको छ । १९५८ मा लेखिएको सो प्रेमपत्र पेन्सिलभेनिया विश्वविद्यालयको पत्र विभागमा १० दिनअघि आइपुगेको हो । क्लार्क सी मोरको नाममा प्रेषित यो प्रेमपत्र उनकी प्रेमिका भोनीले लेखेकी हुन् । क्लार्क सी मोर र भोनी विश्वविद्यालयकालका प्रेमी-प्रेमिका थिए । पेन्सिलभेनिया विश्वविद्यालयमा पढ्दा क्लार्क र भोनीको जोडीले प्रेमभावना पत्रमार्फत आदान-प्रदान गर्थे । २१ वर्षे लक्का जवान प्रेमी क्लार्कलाई लेखिएको प्रेमपत्र अहिले ७४ वर्षे वृद्धा क्लार्कले पाउने भएका छन् । दुई पृष्ठ लामो प्रेमपत्रको खामबाहिर 'लभ यु फरहेभर' वा 'तिमीलाई सधैं प्रेम गर्छु' लेखेर प्रेमिका भोनीले हस्ताक्ष्ार गरेकी छिन् । क्लार्कले नाम परिवर्तन गरेर मोहम्मद सिद्दिक राखेकाले उनको हालको ठेगाना पत्ता लगाउन विश्वविद्यालयमा हम्मे परेको थियो । टेलिभिजन कार्यक्रममा क्लार्कको प्रेमपत्र सम्बन्ध कार्यक्रम हेरेपछि साथीले क्लार्कलाई प्रेमपत्रका बारेमा जानकारी दिए । सिद्दिक र भोनीको सम्बन्धविच्छेद भइसकेको छ । तर, त्यसवेलाको निश्चल, कोमल प्रेमको साक्षी प्रेमपत्र पढ्न आफू निकै हतारिएको रिटायर्ड शिक्षक सिद्दिकले बताए । क्लार्क र भोनीले प्रेमलाई बिहेमा परिणम गरे, ४ सन्तानका बाबुआमा पनि बने । तर, पछि उनीहरूको सम्बन्धविच्छेद भयो । अहिले एक्कासि सम्बन्धविच्छेद भइसकेपछि ५३ वर्षअघि प्रेम उत्कर्ष भएका वेला आएको प्रेमपत्रले सिद्दिकलाई भावुक बनाएको छ रे । 'त्यसवेलाको प्रेम फरक थियो, कम्प्युटर थिएन । प्रेमी-प्रेमिकाले भावना साटासाट गर्ने माध्यम चिट्ठी मात्र थियो,' उनी भन्छन् । अहिलेको इमेलभन्दा चिट्ठी आदान-प्रदान निकै रोमान्टिक हुने गरेको अनुभव उनी सुनाउँछन् । पेन्सिलभेनिया विश्वविद्यालयले सिद्दिकलाई प्रेमपत्रसहित विश्वविद्यालयको टिसर्ट पनि पठाएको छ ।
source:-नयाँ पत्रिका
0 commentaires