१५ साउन, बाजुरा । बाजुराको जुकोट गाविसमा फलेका स्याउ बोटमै कुहिन थालेका छन् । लगातारको अविरल झरीका कारण घाम नपाएर स्याउ बोटमै कुहिन थालेको स्थानीय स्याउ कृषक कपुर शाहीले बताउनु भएको छ । स्याउ यस वर्ष नपाक्दै बोटमै कुहिन थालेपछि स्याउ कृषकहरू चिन्तित बनेका छन् । जिल्लाका जुकोट, कोल्टी, पाण्डुसैन लगायतका क्षेत्रमा अत्यधिक स्याउ फल्ने गरे पनि किसानहरूले मेहनत गरे जति आयआर्जन गर्न पाएका छैनन् । कहिले असिना, कहिले वर्षाका कारण उनीहरूले बर्सेनि लाखौंको क्षति बेहोर्नु परेको छ । यातायातको असुविधा र उचित बजारको अभावका कारण स्याउ बर्सेनि कुहिएर खेर जाने गरेको स्याउ कृषक रामबहादुर शाहीले बताएका छन् । यो वर्ष अघिल्लो वर्षको भन्दा कम मात्रामा स्याउ फलेको जनाइएको छ । साउन सुरु भएदेखिको अविरल वर्षाका कारण घाम नपाएर स्याउ बोटमै कुहिएर लाखौँको क्षति भएको पीडितहरूले बताएका छन् । स्याउ बेचेरै जीवन गुजारा गर्ने किसानहरूलाई झरीका कारण बोटमै दिन प्रतिदिन स्याउ कुहिन थालेपछि सहि नसक्नु पीडा भएको छ । स्याउ खेतीबाटै लाखौँको आम्दानी गरेर घरपरिवार पाल्दै आएका कृषकहरूलाई छोराछोरी कसरी पाल्ने भन्ने चिन्ता कृषकहरूलाई बढेको छ । जिल्ला कृषि विकास कार्यालय र अन्य सरोकारवाला निकायको बेवास्ताका कारण आफूहरूको व्यवसाय फस्टाउन नसकेको किसानहरूको आरोप लगाउने गरेका छन् । स्याउ उत्पादनका लागि पर्याप्त सम्भावना भए पनि व्यावसायिक रूपमा विकासका लागि पहल नगरेको उनीहरूको आरोप छ । यता जिल्ला कृषि विकास कार्यालय बाजुराले भने स्याउ कुहिएको जानकारी आइसकेकोले तत्काल औषधिसहितको टोली पठाउने जनाएको छ ।
source:-onlinekhabar