धर्मकर्ममा कम्युनिष्ट नेताहरुको बढ्दो रुची

१२ साउन, काठमाडौं । धेरैले कम्युनिष्टहरु धर्म मान्दैनन् भन्छन् । अझ माओवादी नेताहरु त धर्मकर्मको विरोधी नै हुन् भन्ने छाप बसेको छ । तर, यो सत्य होइन भन्ने कुरा उनीहरुकै व्यवहारले पुष्टी गर्छ । ‘धेरै कम्युनिष्ट नेताहरु धर्मकर्ममा रुची राख्छन्’ ज्योतिषी डाक्टर वासुदेवकृष्ण शास्त्रीले भन्नुभयो-’न्यासध्यानमा विश्वास गर्ने नेताहरुको सूची लामो छ ।’  पार्टीले सरकारमा पठाउने पक्का भएपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले ज्योतिषीलाई चिना हेराउन पठाएको समाचार अनालाइनखबरले प्रकाशित गरिसकेको छ । ज्योतिषीले प्रकाशको चिनामा गृहमन्त्री नजुरेको र गृहमन्त्री भैहालेमा पनि धेरै दिन नफाप्ने बताएका थिए । नभन्दै अहिले शपथ नै हुने नहुने अनिश्चित छ ।  आफू धर्मकर्ममा विश्वास गर्छु भनेर कम्युनिष्ट नेताहरुलाई स्वीकार्न अप्ठेरो लाग्छ । तर, धार्मिक गतिबिधिमा उनीहरुको उपस्थितिबारेको खबर बेलाबेला सार्वजनिक भइरहन्छ । प्रधानमन्त्री भएको बेला प्रचण्डले सुनसरीको चतरामा ग्रहशान्ति गरेको प्रशंग निकै चर्चित भयो । स्रोतका अनुसार प्रधानमन्त्री बन्ने प्रतिष्पर्धाको क्रममा प्रचण्ड परिवारले शक्तिपीठहरुमा गुप्त रुपमा पूजा लगाएका थिए । बंगलामुखीमा पनि केही समयअघि प्रचण्डको ग्रहशान्ति गरिएको थियो ।  पण्डित दीनवन्धु पोखरेल लगायतको कथा वाचनमा हुने महापुराणमा कम्युनिष्ट नेताहरुको बाक्लै उपस्थिति हुने गरेको छ । माओवादीले जनमैत्री अस्पतालको सञ्चालन गर्न यसैगरी महापुराण लगायो । त्यसबेला नेताहरु उपस्थित भएर फूलामाला र टीका पहिरिँदै कथावाचन श्रवण गरेका थिए ।  अरु कम्युनिष्ट नेताहरुसँगै माओवादी नेताहरु पनि विस्तारै विस्तारै आध्यात्मिक बाटोमा आईरहेका दिग्दर्पण नामक मासिक पत्रिकामा उल्लेख छ ।  एमाले नेताहरु पनि उस्तै आध्यात्मिक  प्रधानमन्त्री झलनाथ खनाललाई धर्ममा अगाध विश्वास छ । प्रधानमन्त्री भएर बालुवाटार प्रवेश गर्ने बेला गृहप्रवेश पूजा सहित बोको काटिएको थियो । उहाँ ज्योतिष र वासुशास्त्रमा पनि बढी विश्वास गर्नुहुन्छ । पूर्व प्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधवकुमार नेपाल पनि धर्मकर्ममा बढी रुची राख्नुहुन्छ । प्रधानमन्त्री भएर बालुवाटार प्रवेश गर्दा र छोड्दा उहाँले साईत हेराउनुभएको थियो । पिताले हरेक बिहान गर्ने पूजामा उहाँ सरिक हुनुहुन्छ । एमालेका अर्का नेता केपी शर्मा ओलीमा पनि आध्यात्मिक सोच बढ्दै गएको छ । सार्वजनिक ठाउँमा निस्कनुअघि ओलीलले नीलमजडित औंठी लगाउने गरेको पारिवारिक स्रोतको भनाई छ । बामदेव गौतम, प्रदीप नेपाल, मोदनाथ प्रश्रति लगायतका कट्टर नेताहरु पनि उस्तै आध्यात्मिक छन् ।  राष्ट्रपति, उपराष्ट्रपति र सभामुख  पूर्व राजा र कांग्रेसका पुराना नेताहरुपछि राष्ट्रपति र उपराष्ट्रपतिलाई धार्मिक कार्यक्रममा बढी देख्न सकिन्छ । जानकारहरुका अनुसार राष्ट्रपति डाक्टर रामवरण यादव भगवान राम र कृष्णको नित्य पूजाआराधना गर्नुहुन्छ । राष्ट्रपति भएपछि उहाँले ग्रहशान्ति र सत्यनारायणको पूजा गराउनुभएकेा थियो । उपराष्ट्रपति परमानन्द झा खासगरी शिव र सत्यनारायणको पूजा बढी गर्नुहुन्छ । यस्तै सभामुख सुवासचन्द्र नेम्वाङ दाहिने हातमा पुष्पराज लगाउनुहुन्छ । यस्तै औपचारिक पोशाक लगाउने बेला बाहेक उहाँले बार अनुसारको लुगा लगाउने पारिवारिक स्रोतको भनाई छ ।  किन बढ्छ त आशक्ति ?  धर्मकर्ममा कम्युनिष्ट नेताहरुको समेत झुकाब बढ्नुको कारण के होला त ? नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष डाक्टर माधवप्रसाद भट्टराईले भन्नुभयो-’धर्म विकृति होईन भन्ने यथार्थ बुझ्नुको परिणाम हो ।’ उहाँका अनुसार धर्मले मान्छेलाई मनोबैज्ञानिक बल पनि दिन्छ । धर्मकर्ममा लागेको मान्छेले एक्लो महसुस नगर्ने उहाँको भनाई छ । युवा अवस्थामा धर्मकर्म गर्दिन भन्नेलाई पनि बुढ्यौलीले छुन थालेपछि उसलाई धर्मकर्मले छुन थाल्छ । ४० वर्ष उमेर नाघेपछि अधिकांश मानिस धर्मकर्ममा लाग्ने भट्टराईले बताउनुभयो । ‘कम्युनिष्ट कांग्रेस जो भएपनि बुढ्यौलीमा धर्मकर्ममा लाग्दिन भनेको मान्छे नै भेटिएको छैन’ उहाँले भन्नुभयो ।



source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login