काठमाडौं, वैशाख २५ आम चासोको विषयलाई लिएर शनिबार राजधानीमा भएको युवा भेलाले इन्टरनेटमा सामाजिक सन्जालको प्रभावकारिता साबित गरेको छ। जेठ १४ गतेभित्रै संविधान जारी गर्न दबाब दिने उद्देश्यले माइतीघर मण्डलामा जम्मा भएका फेसबुक र ट्विटर प्रयोगकर्ताको नारा थियो - ज्याला पुरा लियौ, अब संविधान देऊ।
आयोजक कोही नरहेको र कसैसँग निम्तो दिनेको विवरण थाहा नभएका सबै त्यहाँ आफ्नो इन्टरनेट भित्तोमा टाँसिएको सूचना पढेकै भरमा जम्मा भएका थिए। यसरी जम्मा हुने केही सय मात्र भए पनि उनीहरूको जमघट काठमाडौंका कुनै पनि भेलाभन्दा एकदमै भिन्न थियो। फेसबुक र ट्विटरमा सक्रिय मिस नेपालदेखि लिएर नयाँ पुस्तालाई लोभ्याइरहेका सिने अभिनेता अनि कुनै राजनीतिक दलमा आवद्ध नरहेका विद्यार्थी अगुवा। त्यहाँ जम्मा भएका सञ्चारकर्मी पनि फेसबुककै सूचनाका भरमा पुगेका थिए। नेताहरूले लामो समयसम्म संविधान दिन नसकेको र शान्ति प्रक्रिया पनि टुंगोमा पुर्याउन नसकेको सहभागीको आरोप थियो। कार्यक्रममा उपस्थित सबैले मण्डलासँगैको ट्राफिक आइल्यान्डलाई साङ्ग्लो बनाएर घेरेका थिए। उनीहरूको हातहातमा संविधान तयार पार्नुपर्ने नारा लेखिएको प्लेकार्ड थियो। सबैलाई पालैपालो आफ्नो मनमा लागेको कुरा बोल्ने मौका दिइँदा भाषण गर्ने कला जानेका केही युवाले मनमा दबिएर बसेको आक्रोश अभिव्यक्त गरेका थिए। केहीले भने कविताका माध्यमबाट त्यसलाई प्रकट गरे। एक म्याद वर्ष थपिसकेर पनि परिणाम नआएपछि फेरि थप्न खोज्नु जनादेशप्रतिको ठूलो अपमान भएको उनीहरूको आरोप छ। ‘छोटो समयमै पनि संविधान जारी गर्न सक्छौं भनेर धेरै पटक नेताहरूले भन्दै आएका छन्,' एक सहभागीले भने, ‘अब त्यसो गरिएन भने जनताको आकांक्षाप्रति ठूलो विश्वासघात हुनेछ।' फेसबुकमा यो जमातलाई प्रभावकारी बनाउन खोलिएको समूह ‘नेपाल युनाइट्स'का अनुसार यस किसिमको कार्यक्रमलाई निरन्तरता दिइनेछ। स्वस्फूर्त जमात गिरीश गिरी- इजिप्टमा होस्नी मुबारकको सत्ता गिराउन होस् वा सञ्चारमाध्यमहरूभन्दा पहिल्यै बिन लादेन मारिएको समाचार सार्वजनिक गरेर विचार साटासाट गरिभ्याउन, सामाजिक सञ्जाल र ब्लगका माध्यमबाट आफूलाई अभिव्यक्त गर्दै आएको नयाँ पुस्ता अबको सबैभन्दा आक्रामक जमात हो। पढे लेखेको र सम्झौता गर्नु नपर्ने यो समूहले समाचार मात्र नभएर त्यस छेउछाउका सूचना पनि स्वतन्त्र ढंगले राख्न थालेपछि विस्तारै दृश्य अर्कै बन्दै गएको छ। यो प्रवाहलाई हामीले अझै छामेका छैनौं। विदेशतिर कर्पोरेटहरूले आफ्ना न्यूज पोर्टलमा ‘सिटिजन जर्नालिज्म' र ‘ब्लग' को प्रवाह गराउन कन्जुसी गरेका छैनन्। तै पनि भेल अन्तैतिर बग्दै जान थालेको प्रष्टै छ।
शनिबार फेसबुक र ट्विटरको सूचनाका भरमा माइतीघर मण्डलामा उपस्थित हुनेहरूको संख्या केही सय मात्रै थियो। तर जस्ता अनुहार त्यहाँ देखिए, त्यसको विस्तार हुँदै गयो भने आगामी दिनमा सामाजिक सन्जालले पार्न सक्ने प्रभाव जसले पनि अनुमान लगाउन सक्छ। फेसबुककै अनुसार नेपालमा उसका प्रयोगकर्ता ९ लाख ६ हजार एक सय पुगिसकेका छन्। त्यसमा सबैभन्दा ठूलो संख्या अर्थात् ४५ प्रतिशत १८ देखि २४ वर्षभित्रका युवायुवतीको छ। पछाडि सानो झोला बोकेर दिनभर इन्तु नचिन्तु हुँदै सहरका सडक नाप्ने यी फेसबुके जताततै फैलँदै गएका छन्। एउटा नभए अर्को मुलुक कै भए पनि विद्यार्थी भिसा लिएर ‘मुक्ति' खोज्ने उनीहरूको संख्या पातलियो भने अर्कै कुरा। नत्र इमान्दार र सटिक कुरा गर्ने अभ्यास हुर्काउँदै गएको यो जमातै हाम्रा निम्ति सबैभन्दा ठूलो सम्भावना हो।











0 commentaires