बुटवल, जेष्ठ २-अब लोडसेडिङको समयमा पनि पश्चिमाञ्चलको प्रमुख सहर बुटवलको सडक उज्यालो हुने भएको छ ।
नेपालमै नमुनाका रूपमा सौर्य ऊर्जामार्फत सडक बत्ती बाल्ने योजना सुरु गरेपछि बुटवलका सडक सधैभरि उज्यालो हुन लागेका हुन् । लोडसेडिङको समयमा हुने चोरी, डकैती लगायतका घटना रोक्न तथा विद्युत् खपत गर्न भन्दै बुटवल नगरपालिकाले सौर्य ऊर्जा परियोजना सुरु गरेको हो । अत्याधुनिक तरिकाबाट जडान गरिएका ती सडकबत्तीहरू दिउँसोको घामको तापबाट शक्ति सञ्चय गर्ने र साँझ परेपछि क्रमशः बल्दै जानेछन् । यसले गर्दा रातभर बुटवलको सडक उज्यालो हुनेछ ।
बढ्दै गएको सहरीकरणलाई ध्यानमा राखी सहरी वातावरण सुधार परियोजना अन्तर्गत चरणबद्धरूपमा काम गर्न परियोजना सुरु गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले बताए । उनका अनुसार पहिलो चरणमा बुटवलको मुख्य बजार क्षेत्र ट्राफिकचोक, अमरपथ, राममन्दिर, वीपीचोक लगायतका क्षेत्रमा सौर्य ऊर्जामार्फत सडकबत्ती जडान गर्न लागिएको छ । त्यसबाट उक्त क्षेत्रका ३ सय ६२ घर तथा झन्डै १६ सय व्यापारिक प्रतिष्ठानहरू प्रत्यक्ष लाभान्वित हुनेछन् ।
३५ लाख २३ हजार २ सयको लगानीमा सुरु भएको परियोजनाले आगामी असार मसान्तसम्ममा बुटवल बजारका सबैजसो सडकलाई झलमल्ल पार्ने योजना छ । त्यसका लागि बुटवल नगरपालिका, सूर्योदय ऊर्जा प्रालि र नगरपालिकाबीच त्रिपक्षीय सम्झौता भएको नगरपालिकाले जनाएको छ । परियोजनामा नगरपालिकाले ६५, स्थानीय उपभोक्ताले २० र १५ प्रतिशत सौर्य ऊर्जा प्रालिले लगानी गर्नेछन् ।









0 commentaires