जेपी गुप्ताको अध्यक्षतामा फोरम गणतान्त्रिक दर्ता
९ जेठ, काठमाडौँ । पार्टी सरकारमा सहभागी भएको विषयमा विवादमा फसेको मधेसी जनअधिकार फोरम पुनः विभाजित भएको छ ।
सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ताको अध्यक्षतामा मधेसी जनअधिकार फोरम गणतान्त्रिक नामक नयाँ पार्टी संविधानसभामा दर्ता भएको छ । २२ सभासद रहेको फोरमका १३ सभासदको हस्ताक्षरसहित गुप्ताले नयाँ पार्टीको मान्यता दिनका लागि सभामुख सुवासचन्द्र नेम्वाङ समक्ष पत्र बुझाएका छन् ।
अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा पार्टी सरकारमा सहभागी भएकोप्रति सहअध्यक्ष गुप्ता यसअघि देखि नै रुष्ट हुँदै आएका थिए ।
झलनाथ खनाल नेतृत्वको सरकार पूर्ण रुपमा असफल भइसकेको आरोप लगाउँदै गुप्ताले पार्टी सरकारमा सहभागी हुनुको कुनै औचित्य नभएको बताउँदै आएका थिए ।
संविधानसभामा ५२ स्थानसहित संसदको थौथो शक्तिका रुपमा स्थापित फोरम यसअघि माधव नेपाल नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा विवाद हुँदा पहिलो पटक विभाजित भएको थियो ।
सरकारमा जानुपर्ने अडानमा रहेका विजयकुमार गच्छदारले २९ सभासदको साथ लिएर पार्टी फुटाएका थिए ।
नयाँ पार्टीमा गुप्तासहित सभासद्हरु राजमान यादव, नन्दनकुमार दत्त, चन्दि्रका प्रसाद यादव, धन्ध्या देवी, राजकिशोर यादव र सरितादेवी यादव छन् ।
यस्तै नयाँ पार्टीमा लाग्ने अन्यमा विश्वनाथ यादव, सुनिताकुमारी यादव, अकवाल अहमद, प्रकाश यादव, आत्मरामप्रसाद साह, र सल्मा खातुन मिकरानी छन् । यसैबीच नयाँ पार्टीमा लागेका कृषि राज्यमन्त्री नन्दनकुमार दत्तले पदबाट राजीनामा दिएका छन् ।
फोरममा आएको विभाजनसँगै राष्ट्रिय राजनीतिक शक्ति सन्तुलनमा फेरवदल आउने संकेत देखिएको छ ।
कांग्रेसलयायतका प्रतिपक्षी दलले माओवादी सेनाको हतियार राज्यलाई बुझाउनुपर्ने तथा जेठ १४ अगाडि नै प्रधानमन्त्री झलनाथ खनालले पदबाट राजीनामा नदिए संविधानसभाको म्याद थप गर्न नसकिने अडान राख्दै आएका बेला फोरमबाट फुटेको जेपी गुप्ता समूह पनि सोही पक्षमा जानसक्ने देखिएको छ ।
सो समूहले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने भएकाले सरकारले संविधान संशोधनका लागि संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन विधेयक पारित हुनका लागि दुई तिहाई नपुग्ने सम्भावना बढेको छ ।
via onlinekhabar