९ जेठ, काठमाडौँ । नेपाल वायु सेवा निगमका पाँचवटै ट्वीनअटर विमान आजदेखि सञ्चालनमा आउने भएका छन् ।
निगम व्यवस्थापनले अनुशासनहीन काम गरेको आरोपमा कारबाही गरेका दसजना विमान चालकमाथिको कारबाही आइतबार फुकुवा भएपछि आजदेखि सबै ट्वीनअटर विमान सञ्चालनमा आउन लागेका हुन् ।
चालकहरूले अनुसासनहीन काम गरेको आरोपमा निगम व्यवस्थापनले गत बुधबार चालकको सूचीबाट दसजना को-पाइलटको नाम कटाएपछि पाइलट अभावमा पाँचदिनदेखि नेवानीका दुईवटा मात्र विमान सञ्चालनमा थिए ।
निगमभित्रको आन्तरिक समस्याको समाधान कार्यालयभित्रै बसेर खोजिने प्रतिबद्धता व्यक्त गर्दर्ै पाइलटहरूले माफी मागेपछि उनीहरूमाथिको कारबाही फिर्ता लिइएको निगम व्यवस्थापनले जनाएको छ ।
पाइलटहरुले निगम व्यवस्थापनले अयोग्य व्यक्तिलाई करार सेवामा पाइलट नियुक्त गरेको आरोप लगाउँदै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन गर्न लगाएको भन्दै व्यवस्थापनले कारवाही गरेको बताइएको छ ।
दुवैपक्षबीच आइतबार भएको वार्तामा व्यवस्थापनले समस्याको उचित समाधान खोजिने विश्वास दिलाएको थियो । कारबाहीमा परेका पाइलटहरूले पनि भविष्यमा यस्तो कदम नउठाउने प्रतिबद्धता जनाएको निगमका सल्लाहकार पुरु रिसालले जानकारी दिनुभयो ।
via onlinekhabar