सगरमाथा आधारशिवरमा हेलिकोप्टर बस्न नपाउने

सुशील भट्टराई, काठमाडौं, जेठ ४- सरकारले सर्वोच्च शिखर सगरमाथा दृष्यावलोकनमा लगिने हेलिकोप्टरलाई आधारशिविरमा अवतरण गर्न नदिने निर्णय गरेको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघका प्रतिनिधिबीच भएको बैठकले उक्त निर्णय गरेको हो।  

 सगरमाथा आरोहणमा गएको निजामती कर्मचारीरूको टोलीले करिब दुई साताअघि सगरमाथाबाट तत्कालीन पर्यटन सचिव किशोर थापा र मुख्य सचिव माधवप्रसाद घिमिरेलाई सगरमाथा वरिपरि उद्धारबाहेक अन्य उद्देश्यका लागि हेलिकोप्टर उड्न नदिन उजुरी गरेपछि उक्त निर्णय भएको हो। ‘पर्यटक लिएर सगरमाथाको दृष्यावलोकनमा जाने हेलिकोप्टरलाई अबदेखि आधारशिविरमा अवतरण गर्न नदिने निर्णय भएको छ,' संघका महासचिव तथा हेलिकोप्टर कम्पनी फिसटेल एयरका प्रमुख कार्यकारी अधिकृत सुमन पाण्डेले मंगलबार नागरिकसँग भने, ‘अब आधारशिविरभन्दा केही तल कालापत्थरमा मात्र अवतरण गर्न पाइन्छ। आधारशिविरमाथि उड्न भने पाइन्छ।'  सगरमाथा आधारशिविर समुद्र सतहबाट ५ हजार ३ सय ५० मिटर (१७ हजार ५ सय ४८ फिट) र कालापत्थर ५ हजार २ सय ४२ मिटर (१७ हजार १ सय ९२ फिट) उचाइमा छ। यसअघि दृष्यावलोकनमा जाने हेलिकोप्टर निर्वाध आधारशिविरमा अवतरण गर्न पाउँथे।  बैठकमा सहभागी पाण्डेका अनुसार अबदेखि आधारशिविरभन्दा माथि पर्वतारोहीको उद्धारमा जानुपरे आधारशिविरमा रहेका टोलीसँग समन्वय गर्नुपर्नेछ। ‘आधारशिविरमा रहेका जुनसुकै टोलीसँग समन्वय गरे हुन्छ,' उनले भने, ‘तोकिएको व्यक्ति वा टोली त्यहाँ नहुन पनि सक्ने भएकाले आधारशिविरमा समन्वय गर्नुपर्ने निर्णय भएको हो।'  उनका अनुसार भविष्यमा सगरमाथा आधारशिविरमा हेलिकोप्टर अवतरण स्थल (हेलिप्याड) तोक्ने र त्यस वरिपरि कुनै पनि आरोही वा आरोहण दलले पाल टाङ्न नपाउने निर्णय पनि भएको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तत्कालीन सचिव तथा वर्तमान गृह सचिव लीलामणि पौडेलले सगरमाथामा हेलिकोप्टर उडान गर्दा हिमपहिरो गएको र आरोहीहरूलाई ‘डिस्टर्ब' भएको भन्दै मुख्य सचिव र पर्यटन सचिवलाई उजुरी गरेका थिए।  ‘गएको वैशाख १९ मा दुईवटा हेलिकोप्टर सगरमाथा छेउकै नुप्त्से हिमालमा ‘टुँडिखेलमा खेल देखाएजस्तो' गरी धेरैबेर उडेको केही समयमै हिमपहिरो गयो,' सचिव पौडेलले मंगलबार नागरिकसँग भने, ‘हामीले ती हेलिकोप्टर एक अमेरिकी आरोहीको शव लिन आएको भन्ठान्यौं, तर तिनीहरू चलचित्र छायाङ्कनमा आएका पो रहेछन्।'  उनका अनुसार नुप्त्से, ल्होत्से र सगरमाथाको साँघुरो खोंचबाट हेलिकोप्टर उड्ने गरेका छन्। जलवायु परिवर्तन, प्रदूषण र भूकम्पले हिमपहिरो जाने गर्छ। त्यसै गरी हेलिकोप्टरको आवाज र पंखाबाट निस्कने कम्पनबाट पनि हिमपहिरो जान सक्छ।  नुप्त्सेमा हिमपहिरो जाँदा दर्जनौं आरोही त्यहाँबाट हिँडिरहेको उनले बताए। ‘शायद अघिल्लो दिन त्यस ठाउँमा हेलिकोप्टर नगएको भए हिमपहिरो जान्थेन भन्ने हाम्रो अनुमान छ,' पौडेलले भने, ‘त्यसकारण अनावश्यक रूपमा सगरमाथा क्षेत्रमा हेलिकोप्टर जान दिनु हुन्न।'  सरकारले गत शनिबार पौडेलललाई गृह सचिवमा सरुवा गरेको थियो। त्यसलगत्तै उनी सगरमाथा आरोहण परित्याग गरी कार्यभार सम्हाल्न आइतबार काठमाडौं फर्किएका थिए। उनको नेतृत्वमा निजामती कर्मचारीको १५ सदस्यीय टोली डेढ महिनाअघि सगरमाथा आरोहणमा गएको थियो।  ‘आधारशिविरबाट पर्यटन सचिवलाई फोनबाट उजुरी गरेँ, तै पनि हेलिकोप्टर उडान नरोकिएपछि मुख्य सचिवसँग गुनासो गरेँ,' पौडेलले भने, ‘त्यसपछि बल्ल रोकियो।' उजुरीपछि सगरमाथामा उद्धारबाहेक अन्य कामका लागि हेलिकोप्टर उडान रोकिएको उनले बताए। त्यसपछि आधारशिविरमा रहेका हेलिकोप्टर कम्पनीसम्बद्ध केहीले ‘आफ्ना साथीले सगरमाथा चढेको हेलिकोप्टरमा उडेर हेर्ने हो कि' भन्दै आफूलाई जिस्क्याएको उनले बताए।  वायुसेवा सञ्चालक संघका महासचिव पाण्डेले हेलिकोप्टर उडेर हिमपहिरो जाने कुरा सही नभएको बताए। ‘तर, आरोहणमा गएकालाई त्यस्तो लाग्नु स्वाभाविक हो,' उनले भने, ‘हिमालमा आरोहीको ज्यान जोगाउन उद्धारका लागि हेलिकोप्टर नभई सम्भव हुँदैन।'  यसअघि सन् २००५ मे १४ मा फ्रान्सको हेलिकोप्टर उत्पादक कम्पनी युरोकप्टरको एउटा हेलिकोप्टरले सगरमाथा शिखरमै अवतरण गरेको विषय विवादास्पद बनेको थियो।  पर्यटन मन्त्रालयले युरोकप्टरलाई सगरमाथामाथि उडान गर्ने अनुमति दिए पनि त्यसविपरीत उसले चुचुरोमै केही सेकेन्ड अवतरण गरेको दाबी गरेको थियो। युरोकप्टरले यो विषयलाई यहाँ सार्वजनिक नगरी फ्रान्सको पेरिसमा पत्रकार सम्मेलन गरी सगरमाथा शिखरमै अवतरण गरेको भिडियो पनि सार्वजनिक गरेको थियो।  अनुमतिविपरीत चुचुरोमा हेलिकोप्टर अवतरण गराउने युरोकप्टरलाई सरकारले हालसम्म पनि कुनै कारबाही गर्न सकेको छैन।

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login