इलामको चुलाचुली- १ मा माओवादी लडाकु र वाइसीएलको समूहले गाउँलेमाथि कुटपिट गर्नुका साथै पाँच जनालाई नियन्त्रण गरेर शिविरमा लगेका छन्। चुलाचुलीस्थित पहिलो डिभिजनबाट विकलको नेतृत्वमा आएका लडाकु र स्थानीय वाइसीएल कार्यकर्ताहरुले गएराति सात घरमा तोडफोड र कुटपिट गरेको नागरिकन्युजकर्मी रोशन साँवाले जनाएका छन्। उनीहरुले मानवहादुर फागो, मिन्सु फागो, चन्द्र नुगो, छविलाल लिम्बू, जितबहादुर लिम्बू, तारा फागो, गुवल तुम्वापोको घरमा तोडफोड गरेको स्थानीयले जनाएका छन्। कुटपिटबाट सख्त घाइते भएका जितबहादुर लिम्बूलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको छ। राति १० बजदेखि तोडफोड र कुटपिट सुरु भएको पीडितहरुले जनाएका छन्। 'मेरो घरमा चाहिं राति १२ बजे आइपुगेका थिए। माथिल्लो तलामा हामी बसेकाले कुटपिट गर्न सकेनन् तर मोटरसाइकल र घर तोडफोड गरेका छन्,' नेपाली कांग्रेसका जिल्ला सदस्यसमेत रहेका तारा फागोले भने। योगमाया तुम्वापोले सुनको सिक्रीलगायतका गहनासमेत लुटिएको बताइन्। लडाकू र वाइसीएलको टोलीले मानवहादुर फागो, मिन्सु फागो, चन्द्र नुगो, छविलाल लिम्बू र गुवल तुम्वापोलाई साथमै लिएर गएको स्थानीयले जानकारी दिए। 'उनीहरु क्याम्पमै छन् कि कता छन्, केही पत्तो छैन,' स्थानीय ओमनारायण खनालले भने। १२ बजेतिर जनपद प्रहरीको टोली आइपुगेपछि लडाकु र वाइसीएलको टोली फर्किएको स्थानीयले जनाए। प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले घटनाको विस्तृत विवरण आइनसकेको जानकारी दिए। 'छविलाल लिम्बूलाई क्याम्पभित्र नै पुर्याएको भन्ने सुनेका छौं। अरु थाहा भइसकेको छैन,' उनले भने। छविलाल स्थानीय कमल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हुन्। वैशाख २९ गते विना मुखियाको विवाह भइरहेको बेला स्थानीय युवा र लडाकुबीच भएको विवादलाई लिएर लडाकु र वाइसीएलले आक्रमण गरेको स्थानीयले बताए। विवाहमा आएका केही लडाकुले एक महिलामाथि हातपात गर्न खोजेपछि युवाहरुले प्रतिकार गरेका थिए। 'हामीले प्रतिवाद गरेपछि त्यही रात पनि १५-१८ जनाको लडाकुको टोली आएको थियो। अगाडि थाहा पाएकाले तयारी भएर बस्यौं र प्रतिकार गर्यौं,' एक स्थानीय युवाले भने। प्रतिकार गर्ने क्रममा न्युशन राई नामका माओवादी लडाकू घाइते भएका थिए। त्यस घटनालाई मिलाउन छलफल चलिरहेको बेला अचानक लडाकू र वाइसीएलले गएराति आक्रमण गरेको स्थानीले बताएका छन्।
समाचार
»
माओवादी लडाकूद्वारा गाउँलेमाथि कुटपिट र अपहरण
माओवादी लडाकूद्वारा गाउँलेमाथि कुटपिट र अपहरण
Tags:
समाचार









0 commentaires