कैलाली (अत्तरिया), चैत २०- पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पछिल्लो समयमा मुलुकमा भएका बम विस्फोटनका घटनाले सरकारलाई चुनौती थपेको उल्लेख गर्दै अब छिट्टै प्रधानमन्त्रीले गृहमन्त्रीको जिम्मेवारी अरूलाई दिएर दृढताकासाथ लाग्नुपर्ने सुझाव दिएका छन्।
प्रेस चौतारी कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेकपा (एमाले)का वरिष्ठ नेता नेपालले संविधानसभाको म्याद थप गर्नेभन्दा पनि समयमै संविधान जारी गर्न दलहरूले जिम्मेवारीसाथ अघि बढ्नुपर्नेमा जोड दिए।
मुलुकको मुख्य कार्यभार शान्तिप्रक्रिया र संविधान निर्माण सम्पन्न गर्न राष्ट्रिय सहमतिको सरकार गठन आवश्यक रहेको उनले बताए।तोकिएकै सीमाभित्र संविधान नबने संविधानसभाको म्याद थप्नु निरर्थक हुन्छ -उनले भने।
पूर्वप्रधानमन्त्री नेपालले माओवादीसँग हतियार र सेना रहेसम्म शान्तिप्रक्रिया टुङ्गोमा पुग्न नसक्ने भन्दै त्यसका लागि हतियार र सेनाको व्यवस्थापन हुनु जरुरी रहेकामा जोड दिए।
माओवादी अध्यक्ष संविधानसभा,संवैधानिक समिति अन्तर्गत विवाद समाधान उपसमितिबाट बाहिर जान खोज्नुले एमाओवादी संविधान निर्माणप्रति गम्भीर नभएको सङ्केत गरेको उनले जिकिर गरे। रासस









0 commentaires