चाँदनी हमाल, चितवन, चैत ८- टाइगर टप्स होटलमा पूर्व युवराज पारस शाहले आफ्नो कञ्चटमा गोली ताक्दै हत्या प्रयास गरेको दाबी गर्ने सुजाता कोइरालाका एक मात्र ज्वाइँ रुबेल चौधरीले प्रशासन समक्ष बयान फेरेका छन्। बंगलादेशी नागरिक चौधरीले मंगलबार चितवन जिल्ला प्रशासन समक्ष भने- 'पारसको हातमा पेस्तोल थियो तर कसले गोली चलायो थाहा भएन।'
गोलीकाण्ड भएको सही भए पनि यसलाई आफूले कानुनी रुप दिन नचाहेको चौधरीले स्पष्ट पारेका छन्। 'घटना भएको साँचो हो पारसका हातमा पेस्तोल भएको पनि साँचो हो तर यसलाई मैले कानुनी रुप दिन चाहिनँ', बयानमा उनले भने। चौधरीको बयानसँगै गोलीकाण्डको मुद्दा लम्बिएको छ। मुद्दाका पात्रहरु चौधरी र पूर्व शाह दुवैसँग मंगलबार बयान लिएपछि चितवन प्रशासनले अर्को सुनुवाइका लागि वैशासख १४ गतेको मिति तोकेको छ।
बयान सकेर फर्कने बेलामा चौधरीले काठमाडौं पुगेर पत्रकार सम्मेलन गर्ने प्रतिक्रिया दिए। बयानका क्रममा रुबेललाई घटनाबारे आफैँले किन उजुरी किन उजुरी नगरेको ? भन्ने प्रश्नमा उनले भने- 'यो विषयलाई कानुनी रुपमा अगाडि बढाउन चाहेको थिइनँ।'
तपाँईले काठमाडौंमा दिनुभएको बयानमा पारस शाहसँग झगडा भएको लेख्नु भएको रहेछ तर आफैले उजुर र जाहेरी दिनु भएन भनेर पारस पक्षका कानुन व्यवसायी शिवबहादुर पाण्डेले सोधेको प्रश्नमा रुबेलले भने- 'पारस शाहसँग मेरो कुनै रिसइवी छैन्। साथीहरुबाट चिनेको हुँ राजनीतिक कुराकानी र झगडाको घटना पनि भएका हुन् तर पारसलाई कानुनी घेरामा ल्याएर कारबाही गर्नुपर्छ भन्ने लागेन।'
प्रशासनले प्रहरी लगाएर उपस्थित हुन निर्देशन दिएपछि चितवन आएका गोलीकाण्डका मुख्य साक्षी चौधरीसँग जिल्ला प्रशासनको ११ नम्बर कोठामा बयान लिएको थियो। चौधरी प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतम पुग्नु अघि दश बजेर एक मिनेट जाँदा जिल्ला प्रशासन कार्यालय पुगेका थिए।
गोलीकाण्डका अभियुक्त पूर्व युवराज शाहले भने मंगलबार अर्को पेशी बुझेका छन्। रुबेलको बयान आफ्ना कानुनी सहयोगीहरुको मुखबाट सुनेपछि भने- 'ठिकैछ जसो कानुन अनुसार हुन्छ त्यसै गरौं।'
चौधरीले पूर्व युवराजको हातमा बन्दुक रहेको बयान दिएपछि दुबैलाई हातमिलाएर सहमति गराउन खोज्ने सहयोगीहरुको प्रयास असफल भएको छ। रुबेल साढे बाह्रबजे बाहिरिएपछि मात्र शाह एक बजे प्रशासन पुगेका थिए।
चौधरीले कानुनी प्रक्रिया अघि बढाउन नचाहेपछि साक्षीका रुपमा रहेका टाइगर टप्स होटलका म्यानेजर यादव वान्तवा, आदर्श बिक्रम राणा र राजिव शाहको नाम प्रत्यक्षदर्शीका रुपमा रहे पनि उनीहरुसँग फेरि बयान नलिने स्रोतले बतायो। निकुन्जभित्र बन्दूक लिएर जान पाइँदैन। हतियार लैजान नपाउने कानुन भए पनि चौधरीले उजुरी नदिएका कारण मुद्दा फितलो बनेको छ। सरकारका तर्फबाट पनि यस विषयमा कुनै प्रक्रिया अघि नबढाइएको प्रशासनले स्रोतले बतायो।
पारसलाई एस्कर्टिङ/चौधरीलाई भीआइपी सुरक्षा
दलबलसहित मोटरसाइकल र्याली गर्दै आएका पारसलाई प्रहरीले एस्कटिर्ङ दिएको थियो। पारसको समर्थनमा जिल्ला प्रशासन कार्यालय परिसरमै पारसका समर्थकले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए।
रुबेलबाहेकका अन्य ८ आठ जनाले यसअघिको इजलाशमा गोली चलेको नदेखेको/नसुनेको मात्र भन्दै बयान फेरेकाले चौधरीलाई बयानका लागि जिल्ला प्रशासनले झिकाएको हो। चौधरीले आफ्नो कञ्चटमा गोली ताकेको भने पनि उजुरी उनले गरेका छैनन्। मेघौलीका सहायक प्रहरी निरीक्षक गंगा क्षेत्रीका नाममा मुद्दा दर्ता भएको छ।
प्रहरी लाएर झिकाउनु भन्ने प्रशासनको आदेशपछि चौधरी सोमबार साँझ नै चितवन आइपुगेका थिए। उनी भरतपुरको होटल ग्लोबलमा बसेका छन्। पूर्वमन्त्री तथा कांग्रेस नेतृ सुजाता कोइरालाका एक मात्र ज्वाइँ चौधरीले होटलका सातवटा कोठा बुकिङ गरेका छन्। कुनै पनि सार्वजनिक पदमा नरहे पनि उनलाई जिल्ला प्रशासनले भिआईपीको दर्जामा होटलमै सुरक्षा दिएको छ।
source:-nagriknews
0 commentaires