सरोजराज अधिकारी काठमाडौ, चैत्र १३ - चीनले नेपाली सेनाका निम्ति किन्न खोजिएका दुइटा विमान यथाशीघ्र उपलब्ध गराउन सघाउने भएको छ । नेपाल भ्रमणमा आएका चिनियाँ सेनाप्रमुख चेन विङ्देले नेपाली पक्षबाट ठोस प्रस्ताव आए यसका निम्ति सहजीकरण गर्ने प्रतिबद्धता जनाएका हुन् ।
सेनाप्रमुख चेनले नेपाल आएकै दिन गत बुधबार नेपाली समकक्षी छत्रमानसिंह गुरुङसँग भएको भेटमा यस्तो प्रतिबद्धता जनाएको स्रोतले जनायो । गुरुङले शाहीकालमा किन्ने निर्णय भएर बैना बुझाइसक्दा पनि रोकिएका दुइटा एमए-६० हवाई जहाज हस्तान्तरणमा सहयोगका लागि आग्रह गरेका थिए । चिनियाँ पक्षले ठोस प्रस्ताव आए त्यही वा छुट्टै जहाज दिन सकिने बताएको छ ।
'पाँच वर्षअघि सैनिक प्रयोजनका लागि खरिद गर्ने भनी चीनको क्याटिक कम्पनीलाई ३९ करोड रुपैयाँ बुझाइसकिएको छ । प्रधानसेनापतिले तिर्न बाँकी रकम सहयोग गरी ती जहाज पठाउने सम्बन्धमा पहल गरिदिन आग्रह गर्नुभएको थियो,' उच्च सैन्य स्रोतले भन्यो, 'चिनियाँ सेनाप्रमुखले तिनै जहाज पठाउन सहयोग गर्ने वा ठोस प्रस्ताव आए नयाँ पनि दिन सकिने बताउनुभयो ।'
सैनिक मुख्यालयले यस विषयमा राजनीतिक नेतृत्वले चिनियाँ सेनापतिसँग कुरा गरिदेओस् भन्ने चाहनासहित प्रधानमन्त्री झलनाथ खनाल र रक्षामन्त्री विष्णु पौडेललाई पनि अवगत गराएको थियो । चिनियाँ सेनापतिलाई बि्रफिङ गर्न जंगीअड्डाले प्रधानमन्त्री र रक्षामन्त्रीलाई दिएको करिब १० पृष्ठ लामो टिपोटमा हवाई जहाजको प्रसंग समेटेर पठाएको थियो तर राजनीतिक तहबाट त्यस विषयमा कुरा नभएको स्रोतले जनायो ।
नेपालले २०६२ भदौ ६ मा चाइना नेसनल एरो टेक्नोलोजी इम्पोर्ट एन्ड एक्सपोर्ट कोअपरेसन (क्याटिक) बाट प्रतिजहाज १ करोड ५९ लाख १३ हजार ६ सय अमेरिकी डलर (तत्कालीन विनिमय दरअनुसार करिब १ अर्ब १२ करोड ५० लाख रुपैयाँ) का दरले दुइटा एमए-६० जहाज किन्ने निर्णय गरेको थियो । तत्कालीन मन्त्रिपरिषद्को निर्णयअनुसार तत्कालीन अर्थसचिव र चिनियाँ राजदूतबीच २०६२ माघ ६ मा एक सम्झौतापत्रमा हस्ताक्षर भई सरकारले २० प्रतिशत बैनाबापत ५५ लाख १० हजार ६ सय ८८ अमेरिकी डलर (करिब ३९ करोड रुपैयाँ) दिएको थियो ।
सम्झौतापत्रमा बाँकी ८० प्रतिशत रकम हरेक वर्ष १६ प्रतिशतका दरले पाँच वर्षमा भुक्तानी दिने व्यवस्था गरिएको थियो । तर लोकतन्त्र स्थापनासँगै २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभामा तत्कालीन सरकारबाट सेनाका लागि हवाई जहाज, हेलिकप्टर खरिद नगर्ने भन्ने श्वेतपत्र जारी भएकाले प्रक्रिया अगाडि नबढेको रक्षास्रोतले
बतायो । फेरि २०६३ साउन २९ को मन्त्रिपरिषद् बैठकले नेपाली सेनाको प्रयोजनका लागि प्रस्ताव भए पनि ती जहाज नागरिक उड्डयन मन्त्रालयको प्रयोजनमा प्रयोग गर्ने गरी किन्ने निर्णय गरेको थियो । त्यसयता मन्त्रिपरिषद्ले पटक-पटक आफ्नै निर्णय परिवर्तन गर्दै आएको छ । मन्त्रिपरिषद्ले २०६४ असोज २१ मा एउटामात्र जहाज किन्ने र त्यो नागरिक उड्डयनमा प्रयोग गर्ने निर्णय गर्यो । फेरि २०६५ पुस १६ मा बैनाबापत बुझाइसकिएको रकम सदुपयोग गर्ने गरी नागरिक उड्डयन प्रयोजनकै लागि दुइटै जहाज किन्ने निर्णय भयो । त्यसका साथै रक्षा मन्त्रालयका सहसचिवको संयोजकत्वमा उपयुक्त सुझाव सिफारिसका लागि एक समितिसमेत गठन गरियो ।
तत्कालीन रक्षामन्त्री विद्या भण्डारीले गतवर्ष चीन जाँदा त्यहाँको राजनीतिक नेतृत्वसमक्ष उक्त विमानका विषयमा कुरा गर्दा चिनियाँ पक्षले क्याटिक कम्पनीसँग छलफल गरी छिट्टै टोली पठाउने जनाएको रक्षास्रोतले बतायो । 'लगत्तै तत्कालीन प्रधानमन्त्रीले राजीनामा गरेका कारण सरकार कामचलाउ भएपछि उनीहरूको भ्रमण रोकियो,' स्रोतले भन्यो ।
चिनियाँ टोलीसँग वार्ताका लागि सरकारले पनि नेपाली सेनाका प्रबन्ध रथीको संयोजकत्वमा रक्षा र अर्थका एक-एक सहसचिव रहेको समिति बनाएको छ । 'हामी चिनियाँ वार्ता टोलीको प्रतीक्षामा छौं । उनीहरू आउनासाथ जहाज खरिद प्रक्रिया अगाडि बढाइने छ,' रक्षास्रोतले भन्यो ।
source:-ekantipur









0 commentaires