कसरा(चितवन), चैत्र १२ - चितवन निकुञ्जले फागुनमा मात्रै 'मोष्ट वाण्टेड' सुचीका ९ जना गैंडा मार्ने, खाग विक्री र त्यसबाट आर्थिक लाभ लिएका अभियुक्त पक्राउ गरेको छ । निकुञ्ज कर्मचारीले एकै महिना धेरै अभियुक्त पक्राउ पर्नुलाईर् सफलता बताएका छन् ।
कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी अभियुक्तको नाम, ठेगाना र अपराध सार्वजनिक गरेको हो । कार्यालयका अनुसार आर्थिक बर्ष २०६७/०६८ को चालु अवधिसम्म चोरी शिकारबाट २ वटा गैंडा मारिएको जनाएको छ । ती मध्ये एउटा भवानीपुर पोष्ट नजिक र अर्को माडी क्षेत्रको रतनीघाटमा मारिएका थिए ।
सहायक संरक्षण अधिकृत गणेश पन्तका अनुसार २ बर्ष देखि पछ्याइएका अभियुक्त काजिमान प्रजा फागुन दोश्राे साता केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा बागलुङमा पक्राउ परेका थिए । उनलाई विभिन्न समयमा पक्रिने प्रयास विफल हुदै आएको थियो । उनलाई राजधानीबाट पछयाउंदै कास्की हुदै वालिङमा समातिएको कार्यालयले जनाएको छ ।
उनी पुरानो मुद्धामा समेत अभियुक्त कायम भइसकेका व्यक्ति हुन । कोराक ९ का बासिन्दा उनी माथि निकुञ्ज भित्र ९ वटा गैंडा मारेको अभियोग छ । फागुनमा ७ वटा गैंडा मारेको अभियोगमा शक्तिखोर ८ का बुद्धि बहादुर प्रजा, ४ वटा मारेको अभियोगमा त्यहीकैं कान्छा भन्ने केदार प्रजा, बन्दुरक मर्मत र गोली बनाएको अभियोगमा कोराक ९ का शिबलाल बिक पक्राउ परेका छन ।
त्यसैगरी मतियार बिरेन्द्रनगर ८ का कल्पना प्रजा/तामाङ, खाग विक्री गरेर आर्थिक लाभ लिएको अभियोगमा कोराक ९ का दिलमाया प्रजा , मतियार अभियोगमा देवी प्रजा र सानुमाया बुलुन, २ वटा गैंडा मारेको अभियोगमा सिद्धि ३ का सन्त बहादुर प्रजा र एउटा मारेको अभियोगमा कोराक ९ देव बहादुर प्रजा फागुनमै पक्राउ परेका थिए । 'एउटै समुहका जस्ता देखिन्छन,' पन्तले भने,'संलग्नता खुलेको छ ।'
source:-ekantipur









0 commentaires