काठमाडौ, माघ २५ - दक्षिणी काठमाडौंका बासिन्दाको पहलमा सेतीदेवीमा कृषि कलेज स्थापना हुने भएको छ । सेतीदेविस्थित कामधेनु माविमा दस जोड दुई तहमा कृषिको पढाइ सञ्चालन गर्ने तयारी भएको हो ।
कृषि कलेज सञ्चालनका लागि विद्यालय व्यवस्थापन समिति र गाविसले निर्णय गरी रकम जुटाउन पहल सुरु भइसकेको छ ।
विद्यालयका प्रधानाध्यापक आनन्द पुरीले कृषि कजेल स्थापनाका लागि व्यवस्थापन समितिले निर्णय गरेको र गाउँ परिषद्ले समेत स्वीकृत गरी पाँच लाख रुपैयाँ निकासा गरेको जानकारी दिए । राजधानीको ग्रामीण भेगमा कृषिसम्बन्धी अध्ययन/अध्यापन हुने शिक्षण संस्था नभएकाले सेतीदेवीमा कलेज खोल्न पहल भएको उनले बताए ।
'दक्षिणी क्षेत्रलाई पायक पर्ने गरी कलेज स्थापनाको सोंच बनेको हो,' उनले भने, 'कजेलबाट काठमाडौं र ललितपुरका दक्षिणी भेगका केही गाविस लाभान्वित हुने आसा गरेका छौं ।'
कजेल स्थापना भएपछि काठमाडौंको फर्पिङ, सेतीदेवी, शेषनारायण, दक्षिणकाली, छैमलेका किसानका सन्तानलाई अध्ययनमा प्राथमिकता दिने स्थानीयको भनाइ छ ।
दक्षिणी काठमाडौं राजधानीमा तरकारी आपूर्ति गर्ने प्रमुख क्षेत्रमध्ये एक हो । कृषकको बाहुल्य भएको क्षेत्रमा कृषि कलेजको आवश्यकता महसुस भएको स्थानीय अगुवाहरूको भनाइ छ ।
source:-kantipur









0 commentaires