२४ माघ, दाङ । दाङको गोबरडीहा गाविस-८ स्थित सिद्धबाबा जङ्गलकुटीमा सोमबारदेखि प्राकृतिक महोत्सव सुरुभएको छ । ऐतिहासिक महत्व बोकेको सो जङ्गलकुटीमा पहिलो पटक महोत्सव सुरुभएको हो । प्रर्यटन वर्ष सन् २०११ को अवसरमा ओझेलमा परेको धार्मिक तथा पर्यटकीयस्थल जङ्गलकुटीलाई प्रचारप्रसार गरी बाहृय तथा आन्तरिक पर्यटकलाई अवलोकन गराउने उद्देश्यका साथ आयोजना गरिएको महोत्सव पाँचदिनसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा व्यापारिक तथा कृषि उत्पादनका १०० स्टल राखिएको महोत्सव आयोजक मूल आयोजक समितिका संयोजक आशाराम चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार महोत्सवमा आउने पाउनाका लागि ५० कोठे पाहुना घर, शौचालय निर्माण, भन्डाराका लागि ५० वटा चुला, खानेपानी र सञ्चारकर्मीका लागि निःशुल्क फोन सेवालगायतको व्यवस्थासमेत गरिएको छ ।
महोत्सवको आकर्षणका रुपमा पाँच वर्षमा गरिने विशेष बड्काभण्डार पूजा, थारु प्रदर्शनी, विभिन्न कला संस्कृति झल्कने झाँकी, कुटीआसपासको करिब ९ बिघा क्षेत्रफलमा भएका रुख रङरोगन र सरसफाइ रहेका छन् ।
करिव २०० वर्ष अगाडि सिद्धबाबा भुवनेश्वर नामक बाबा गोबरडिहा-८ जङ्गलकुटीमा कुटीस्थापना गरी पूजापाठ गर्दैआएको इतिहासमा उल्लेख छ ।
अहिले पनि उक्त कार्य जारी नै छ आजभन्दा ६८ वर्षअगाडि सुरुवात भएको धुनी अर्थात् मुडामा आगो बाल्ने कार्य अहिले पनि जारी छ । अहिले पनि यहाँ आगो निभेको छैन ।
त्यसैगरी बाबाले २०० वर्ष अगाडि प्रयोग गरेका वाणहान्ने तिर, सुल्फा, विगुल, भोकर, सुत्ने पलङ, खराउ, चिम्टा ज्ञान शरोदा पुस्तक, बाबाको समाधिलगायतका पुरातात्विक सामग्री अहिले पनि यहाँ देख्न सकिन्छ ।
महोत्सवमा एक लाख ५० हजार बाहृय तथा आन्तरिक पर्यटकले अवलोकन गर्न अपेक्षा आयोजकले गरेका छन् । रासस









0 commentaires