लिबियाबाट ६ सय नेपाली इजिप्टतर्फ


काठमाडौ, फाल्गुन १२ - लिबियाको आन्दोलनले जोखिममा परेका नेपालीमध्ये ६ सय जनालाई इजिप्टतर्फ हिँडाइएको छ ।कोरियाली कम्पनी वन कन्स्ट्रक्सनले नेपालीसहित विदेशी कामदारलाई ट्रकमा राखेर बुधबार इजिप्टको बोर्डरतर्फ ल्याएको हो । उनीहरूलाई नेपाली समयअनुसार साँझ ६ बजे प्रभावित क्षेत्रबाट हिँडाइएको थियो । राति ११ बजे कामदारहरूले कान्तिपुरसँगको फोन सम्पर्कमा आफूहरू इजिप्टको सीमामा पुग्न एक घन्टा नजिक पुगेका जानकारी दिए । 
'आठ वटा ट्रकमा नेपालीलाई राखिएको छ । एउटा ट्रकमा ८० जनाको हाराहारीमा छन्,' कामदार धनकुमार राईका अनुसार घर जान पाउने भएपछि सबैमा निकै खुसियाली छाएको छ ।
'यतिखेर हामीबीच खुसी साटासाट भइरहेको छ । सबैजना एकैपटक सँगै हिँडिएकाले निकै रमाइलो भइरहेको छ,' कामदारहरूको हाँसो सुनाउँदै दुवारचन्द्र राईले भने, 'हामी भोलि
(बिहीबार) इजिप्ट पुग्छौं ।'
इजिप्टको कायरोस्थित दूतावासका अधिकारीहरू कामदारलाई लिन दुई देशको सीमामा गएका छन् । प्रथम सचिव तीर्थ अर्याललाई कामदारलाई लिन पठाइएको राजदूत श्यामलाल तपदारले कान्तिपुरलाई फोनमा बताए । 'बीच बाटोमा अवरोध नभए बिहीबार बिहानसम्म कामदारको जिम्मा लिइसक्छौं,' उनले भने ।
उनले इजिप्ट आइपुग्नेलाई प्रवेश दिने व्यवस्था मिलाइएको बताए । तपदारका अनुसार ती कामदारलाई इजिप्टको अलेक्सजेन्डरियामा ल्याई नेपाल पठाइने छ । 'खान-बस्न इजिप्ट सरकारले बेहोर्ने बताएको छ,' उनले भने, 'स्वदेश पठाउन लाग्ने खर्च कम्पनीले नै दिनेछ ।'
ती कामदार लिबियामा भवन निर्माणमा संलग्न थिए । आफू बसेको क्याम्पमा आन्दोलनकारीले आगजनी गरिदिएपछि उनीहरूलाई एक वैवाहिक स्थलमा राखिएको थियो ।
लिबियामा चर्कंदो आन्दोलनले डेर्ना पनि निकै प्रभावित छ । आन्दोलनबाट सबैभन्दा बढी प्रभावित क्षेत्र बेंगाजी, त्रिपोली, सिर्डमा रहेका नेपाली कामदारको उद्धार गर्न ठोस योजना बनिसकेको छैन ।
श्रम मन्त्रालयका अनुसार त्रिपोलीमा दुई सय ९१, बेंगाजीमा एक सय ९७ र सिर्डमा २८ कामदार छन् । ती क्षेत्रका कामदारहरूले आफू जोखिममा परेकाले भन्दै तत्काल उद्धारको अपिल गरेका छन् । अल्जेरियानजिक रहेको घाटमा झन्डै ८ सय कामदार छन् । त्यहाँ आन्दोलनले उग्ररूप लिइसकेको छैन । जोखिममा परेका कामदारलाई इजिप्ट ल्याउन कायरो दूतावासको समन्वयमा उद्धार गर्न वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बटाजुको नेतृत्वमा चार सदस्यीय व्यवसायी टोली मंगलबार राति इजिप्ट गएको छ । 
वैदेशिक रोजगार विभागका अनुसार लिबियामा पिस इन्टरनेसनल म्यानपावरबाट गएका अलकाइदा, सिटफा, जेलटेन तेल कम्पनीमा १ सय ५६ कामदार कार्यरत छन् । त्यस्तै प्याराडाइजबाट रामको कम्पनीमा ३ सय २७, एसओएस म्यानपावरबाट वन कन्स्ट्रक्सनमा ५ सय ६० कामदार त्यहाँ पुगी काम गरिरहेका छन् । क्यापिटल इन्टरनेसनलबाट सुनमा ४०, जसमिन इन्टरनेसनलबाट अल जमर र सिन्हो हाइड्रोमा ९ सय ५४, अमिदावा बुद्धबाट अल ट्राजामा ५९, कन्टिनेन्टलबाट १५ र व्यक्तिगत रूपमा गएका २२ जना कामदारसमेत त्यहाँ छन् ।
ती सबै कामदार कम्पनीले उपलब्ध गराएका क्याम्पभित्रै बसिरहेका छन् । 'हाम्रानजिक तीव्र आन्दोलन भइरहेको छ । क्याम्प मुख्य सडकनजिकै छ । कम्पनीका आधिकारिक व्यक्तिहरू पनि सम्पर्कमा आएका छैनन् । खान निकै समस्या छ,' बेंगाजीमा रामको कम्पनीमा कार्यरत तनुहुँका पुष्प श्रेष्ठ फोनमा भने, 'आन्दोलनकारीहरूले अहिलेसम्म केही गरेका छैनन् ।'
राजदूत तपदारका अनुसार अहिलेसम्म डेर्नामा रहेका कामदारसँग मात्रै सम्पर्क भइरहेको छ । अरू क्षेत्रमा कार्यरत कामदारसँग सम्पर्कको प्रयास भइरहेको छ । त्रिपोली, सिर्ड र बेंगाजीमा रहेका नेपालीलाई इजिप्ट ल्याउन सकिने अवस्था छैन । त्यहाँ रहेका नेपालीलाई इजिप्ट ल्याउन सकिने अवस्था नरहेको उल्लेख गर्दै उनले उनीहरूलाई टुनिसियामा लैजन सजिलो पर्ने बताए ।
राजदूत तपदारले इजिप्टले पनि त्यस क्षेत्रबाट आफ्ना कामदारलाई ल्याउन नसकिरहेको जनाए । जोखिममा परेका कामदारबारे दूतावासले इजिप्टस्थित लिबिया दूतावासका अधिकारीहरूसँग छलफल गरेका थिए । दूतावासले नेपाली अधिकारीलाई सबै ठाउँमा सुरक्षा निकायको नियन्त्रण नरहेकाले आफूहरूले जिम्मेवारी लिन नसक्ने जनाएका थिए ।

source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login