प्रकाश लम्साल बारा, २२ माघ : एक दशकअघि बारा निजगढ-४ कछडियामा निर्माण गरिएको उपचार तथा स्वास्थ्य तालिम केन्द्र भवन प्रयोगविहीन हुँदा गोठमा परिणत हुँदै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा १३ कोठे पक्की भवन निर्माण भए पनि प्रयोगमा नआएपछि स्थानीयवासीले गोठका रूपमा प्रयोग गर्दै आएका हुन् ।
करिब ३२ लाखको लागतमा निर्मित भवन जीर्ण हँुदै गएको थानीय राम थापाले बताए । स्वास्थ्य तालिम केन्द्र रहे पनि तालिम नहुने र औषधि तथा स्वास्थ्यकर्मी नआउँदा सुविधासम्पन्न सो भवन गाउँलेको गोठमा परिणत भएको उनको भनाइ छ ।
स्वास्थ्यकेन्द्रमा एक मात्र कार्यरत सिनियर अनमी कान्ता खरेलले पनि भवन गोठको रूपमा परिणत हुँदै गएको बताइन् । 'यहाँ न तालिम हुन्छ, न उपचार । गाईगोठजस्तो भएको छ,' उनले भने ।
प्रयोगविहीन भएका कारण भवनका झ्यालका सिसा फुटेका छन् भने भवनको संरचना चकिर्ंदै गएको छ । पक्की भवनमा स्वास्थ्य तालिम केन्द्रको साइन बोर्ड झुन्ड्याइए पनि केन्द्रको मुख्यद्वारमै गाई-गोरु बाँध्ने, पराल चुट्ने र थुपार्ने खलियानका रूपमा प्रयोग भइरहेको छ । सम्बन्धित निकायले बेवास्ता गर्दा भवन जीर्ण हँुदै गएको पूर्वअध्यक्ष एकबहादुर श्रेष्ठले बताए ।
source:-nayapatrika










0 commentaires