काठमाडौ, पुस ४ -
लामो अन्तरालपछि गायक रामकृष्ण ढकाल सुगम संगीतको एल्बम लिएर श्रोतासामु आएका छन् ।
आधुनिक हुँदै पप गीत गाएका गायक ढकालले पछिल्लो समय भजन गीतहरूको संग्रहसमेत निकालेका थिए। शनिबार भने उनले संगीतकार न्ह्यु बज्राचार्यको हातबाट आफ्नो पछिल्लो एल्बम 'शैली'को विमोचन गराएका छन् । एल्बम विमोचनअघि छोरी रानीले बाबुले नै गाएको लोकपि्रय गीत 'ओराली लागेको हरिणको चाल भो...' गाएर भेला भएका अतिथिको स्वागत गरेकी थिइन् ।
रानीले उक्त गीत गायक ढकालको पियानो वादनको ट्रयाकमा गाएकी थिइन् । गीत गाइसकेपछि क्रिम कलरको सुटमा रातो सर्ट र रातै टाईमा सजिएका ढकालले छोरीलाई गुलाफको फूल उपहार दिएका थिए भने लगत्तै न्ह्युले पनि 'शैली'को सार्वजनिकीकरण गरेर श्रोतालाई संगीतको उपहार दिएका थिए ।
'शैली'मा गायक ढकालले आलोकश्री, शिखर सन्तोष, राजु सिंह, किरण कँडेल, शम्भुजित बाँस्कोटा मात्रै नभई भीम विराग र नातिकाजीका संगीतमा समेत गाएका गीत राखेका छन् । कालीप्रसाद रिजालको शब्द रहेको 'नदी तरेर...' नातिकाजीले संगीत भरेको अन्तिम गीत हो ।
नौ गीतहरू राखिएका एल्बममा आनन्द अधिकारी, किरण केसी, उन्नति बोहरा, भीम विराग, नवराज लम्साल, डा. भोला रिजाल, बाबुराम दाहाल र कालीप्रसाद रिजालका शब्द छन् । 'शैली' एल्बम विमोचनपछि कार्यक्रममा गायकले केही गीतहरू गाएका थिए ।
भीम विरागको शब्द/संगीत रहेको गजल 'राति राति...' देखि उन्नति बोहराको पुरानो
गीतलाई नयाँ ट्रयाकमा रेकर्ड गरिएको गीत 'तिमीलाई
माया गर्ने भुल भयो मबाट...' गाएका थिए ।
विरागको यही 'राति राति' गीतलाई यसअघि गायक आभाषले पलेंटीलगायतका सांगीतिक उत्सवहरूमा गाउँदै आएका थिए ।
विभिन्न संगीतकर्मीको उपस्थितिमा विमोचित एल्बमबाट दुई गीत 'छुकछुके रेल...' र 'कति कुरा...' को म्युजिक भिडियो पनि देखाइएको थियो । पहिलो गीत केही समयदेखि नै संगीत बजारमा बज्न थालिसकेको थियो । गायिका मल्लिका कार्कीसँग गाइएको दोस्रो गीतको भिडियोमा गायक
ढकालका साथमा पत्नी नीलम र छोरी रानीले समेत अभिनय गरेका छन् ।
म्युजिक डटकमले वितरणको जिम्मा लिएको एल्बमका गीतहरू मुम्बईमा रेकर्ड गराइएका हुन् । आशीर्वाद, आगमन, आशा, आरोह, आशिषलगायतका एल्बम यसअघि नै बजारमा ल्याइसकेका गायक ढकालले पछिल्लो एल्बम 'शैली'बाट गीतको शैलीमा पनि केही परिवर्तन गर्न खोजेको बताएका छन् । उनले व्यावसायिक हुन पनि सबैखाले गीतहरू गाउनुपर्ने भन्दै नयाँ एल्बमका गीतहरू आफ्नो मौलिक गीतहरूमा भन्दा केही फरक हुने बताए ।
source:-kantipur










0 commentaires